अपाङ्गता भएकी ६० वर्षीया महिलालाई घरमै नागरिकता
भञ्ज्याङ न्यूज

तनहुँको आँबुखैरेनी गाउँपालिका-२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया गुरुङलाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता वितरण गरेको छ । हिँडडुल गर्न नसक्ने ती महिलालाई कार्यालयसम्म आवतजावतका लागि समस्या हुने भएपछि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन्।
“नागरिकलाई सकभर छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, उहाँ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौ”, उनले भने, “अप्ठ्यारोमा परेका व्यक्तिलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गर्ने अभियान चलाएको छ ।”
उनले भने, “यो हाम्रो कर्तव्य पनि हो, उहाँहरुको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा पनि विकास होस् भनी अपाङ्गता भएका महिलाको बारेमा थाहा पाएपछि कार्यालयमा नबोलाउनुस्, घरमै पुगेर नागरिकता दिन्छौ भनेका थियौ ।”
चार वर्ष अगाडि घरमै बसिरहेका बेला एक्कासी ढलेपछि उहाँलाई उपचारका लागि लैजाँदा टाउकोमा पानी जमेको छ भनी शल्यक्रिया गर्नुपर्छ भनेर चिकित्सकले सुनाएको निजका श्रीमान् देवराज जीवन गुरुङले जानकारी दिए । उनले भने, “टाउकोमा पानी जमेको छ, शल्यक्रिया नगरे जे पनि हुन्छ भनेर चिकित्सकले भनेपछि शल्यक्रिया गरेपछि त हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुगिन् ।”
गुरुङका अनुसार अपाङ्गता महिला आफैं हिडडुल गर्न सक्नुहुन्न । बोलचाल पनि गर्न सक्नुहुन्न । अरुले बोलेको सुने पनि उत्तर फर्काउन उहाँलाई गाह्रो हुन्छ । कतै हिँडडुल गर्न पर्दा परिवारको साथ चाहिन्छ । “नागरिकता बनाउन प्रशासन कार्यालयसम्म जान डेढ घण्टाभन्दा बढी लाग्ने, उनलाई लिएर लैजान पनि गाह्रो भइरहेको अवस्थामा प्रशासन कार्यालयबाट घरमै आएर नागरिकता दिनुभयो”, उनले भने, “एकदमै खुसी लाग्यो, सरकार घरमै आए जस्तो अनुभूति भयो ।”
प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षो आठ महिनामा छ हजार ९६३ नयाँ नागरिकता वितरण गरेको छ । त्यस्तै पाँच हजार नौ सय ७६ नागरिकताको प्रतिलिपि वितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।










