ऋषिङ विकास र समृद्धिको आधार : सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य

नारायण खड्का/भञ्ज्याङ

नेपाल राज्यको केन्द्र भागमा अवस्थित तनहुँ जिल्लाको आफ्नै ऐतिहासिक महत्व रहेको छ । नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागु गर्ने निर्णय अनुसार यस तनहुँ जिल्लाको साविकका गा.वि.स.हरु काँहुशिवपुर, भिरकाटे, बैदी, राम्जाकाटे, कोटदरबार र ऋषिङ रानीपोखरी गाविसलाई समायोजन गरी ऋषिङ गाउँपालिका गठन गरिएको हो ।

मनोरम पर्यटकीय नगरी पोखरादेखि भिमाद बजार हुँदै र दमौलीबाट काहुँशिवपुरबाट पनि ऋषिङ पुग्न सकिन्छ । स्थानीय कथन अनुसार सत्य युगमा यस क्षेत्रमा श्रृङ्ग ऋषिले तपस्या गरेको हुनाले यस क्षेत्रलाई ऋषिङ्ग क्षेत्रको रुपमा प्रख्यात रहेकाले यस गाउँपालिकाको नामाकरण गिरिएको हो । २०७८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या १७,९१८ (जसमा पुरूष – ८२०८ र महिला – ९७१९) छ । २१५ वर्ग कि.मि. क्षेत्रफलमा फलिएको गाउँपालिकाकोमा सिमाना पूर्वमा व्यास नगरपालिका र देवघाट गाउँपालिका, पश्चिममा भिमाद नगरपालिका र घिरिङ गाउँपालिका, उत्तरमा म्याग्दे गाउँपालिका र व्यास नगरपालिका र दक्षिणमा नवलपरासी जिल्ला रहेको छ । नेवार र मगर समुदायको बाहुल्यता रहेको यस गाउँपालिकामा मगर र नेवार समुदायको संस्कृति देख्न पाइन्छ । यस्तै मगर समुदायको कौरा गीत यहीबाट उत्पति भएको बताइन्छ ।

राजेन्द्र कृष्ण श्रेष्ठ : अध्यक्ष

मुलुक संघीय संरचनामा गएसंगै अहिले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार सञ्चालनमा छन् । जनताको घरदैलोको सरकारका रुपमा स्थानीय सरकारलाई लिइन्छ। जनताबाट निर्वाचित भई ऋषिङ गाउँपालिकाको सरकार प्रमुखको नेतृत्व गरिरहेका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले गाउँपालिकालाई विकास र समृद्धि तर्फडोर्‍याउनका लागि मुख्य त सडक, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेका छन् ।

तनहुँ जिल्लाको केन्द्र बिन्दुबाट करिब ६० किलोमिटर पश्चिम भागमा रहेको ऋषिङ गाउँपालिकामा २०७४ साल वैशाख ३१ गते भएको स्थानीय तहको चुनाव र २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पुनः अध्यक्ष पदमा निर्वाचित भएका श्रेष्ठले ऋषिङलाई समृद्धितर्फउन्मुख गर्ने सर्न्दर्भमा सडकसंग जोडेर बजारबाट नजिक गर्नुपर्छ भन्ने उद्देश्यका साथ पहिलो प्राथमिकता सडक विस्तालाई प्राथमिकता दिएका छन् ।

अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सडकलाई महत्वको रुपमा अगाडी बढाउँदै गर्दा श्रृंगपथ मोटरमार्ग भिरकोटसम्म कालोपत्र पुर्‍याइसकेका छौ । ऋषिङबाट भागिरहको मनलाई ऋषिङमै बसौबसौ बनाउने गरी काम अगाडि बढाएका छौं । विपन्न, अशक्त र दलित विपन्न परिवारहरुको अवस्था हेरेर खरको छाना भएका घरहरुलाई जस्तापाता उपलब्ध गराएर खरमुक्त अभियान सञ्चालन गरिएको छ । अब केही घर मात्र बाँकी रहेका छन् र ती घरमा पनि छिट्टै जस्तापाता लगाउने तयारीमा छौं ।’

‘ऋषिङ गाउँपालिका सहरबाट अलिक टाढा भएकाले विद्युतमा पहुँच पुर्‍याउन सकिएको थिएन । पहिलो कार्यकालमा विद्युतलाई महत्वको रुपमा लिएर धेरै लगानी गर्‍यौ, गाउँपालिकाका केही छुटफुट घर बाहेक धेरै क्षेत्रमा विद्युत पुर्‍याउन सफल भएका छौ । यहाँका आम बासिन्दालाई सहज रुपमा बसोबास गर्ने महत्वपूर्ण कडिको रुपमा लिँदा विद्युतले सहज भएको अनुभूति गरेका छौ’, अध्यक्ष श्रेष्ठले भने, ‘हामीले शिक्षालाई पनि महत्वका साथ प्राथमिकतामा राखेका छौं । विद्यार्थी संख्यालाई ध्यानमा राख्दै केही विद्यालयलाई मर्ज गरिएको छ । केही स्थानमा नि.मा.वि तह भएकोमा सोही विद्यालयमा मा.वि. तह चलाउँदा त्यहाँका विद्यार्थीलाई पठनपाठनमा सहज भएको छ । गाउँपालिकाले ३/४ वटा मा.वि. तहका विद्यालय सञ्चालनको प्रक्रिया अगाडी बढाएका छ। अहिले गाउँपालिका भित्र प्राविधिक शिक्षालय पनि स्थापना गरी सीप र रोजगार मुलक शिक्षा प्रदान गरिएको छ ।’

सडक सञ्जालसंग जोड्ने पक्कि पुल, झलुङ्गे पुल निर्माण कार्य अगाडी बढाइएको र रोजगार सिर्जनाका लागि प्रदेश सरकार र संघीय सरकारबाट स्थानीय स्तरमै उद्योगग्राम सञ्चालनको काम अगाडि बढाइएको छ । उद्योगग्राम सञ्चालनका लागि पिपलटारमा करिब १०५ रोपनी क्षेत्रफलको जग्गा कम्पाउण्ड गर्ने काम भएको छ । प्रदेश सरकार र संघीय सरकारसंग समन्वय गरी उद्योगग्रामको काम पुरा गरिदिन अनुरोध गरिरहेका छौं । यदि यो ग्राम सञ्चालनमा आएमा गाउँमै रोजगारी सृजना हुनेमा अध्यक्ष श्रेष्ठ विश्वस्त छन् ।

सडक राम्रो भयो भने यातायातको सुविधा हुने र भोलिका दिनमा हाम्रा ग्रामीण क्षेत्रमा उद्योग विस्तार, शिक्षाको पहुँच र रोजगारीको वातावरण बन्ने हुँदा चालु वर्षा पनि सडकलाई नै महत्वको रुपमा लिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘ऋषिङ्ग समृद्धिको आधार : कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ अगाडि बढेको गाउँपालिकाले कृषि पेशालाई व्यवसायिक बनाउन बाख्रा पालन, बंगुर पालन, भैसी पालन, कुखुरा पालन अथवा तरकारी खेतीमा उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकाले आकर्ष र जनतामैत्री कार्यक्रम अगाडि ल्याएपनि बर्साईसर्राई तथा नागरिकहरु आयतमुखी बन्दै जाँदा जुन रुपमा काम अगाडी बढ्नुपर्ने हो त्यो हुन नसक्दा उपलब्ध हाँसिल गर्न समस्या भएकोमा अध्यक्ष श्रेष्ठ चिन्ता व्यक्त गर्छन ।

अध्यक्ष श्रेष्ठ भन्छन्, ‘उत्पादनको आधारमा कोदो, मकै खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था गर्ने नीति लिइएपनि खेती गर्ने प्रवृत्ति कम हुँदै गएको छ । खेतियोग्य जमिन बाँझिदै गएका छन् । विस्तृत रुपमा कोदो, मकै उत्पादनको महत्व बुझाउन सकिएको छैन । हाम्रा पाखा खेतबारीमा उब्जिएका मकै, कोदो, साग, पिडाले, भट्टमास, अदुवालाई कसरी व्यवसायिक रुपमा उत्पादन गर्न सकिन्छ भन्ने विषयमा हामी योजना बनाइरहेका छौं तर, कृषकनै यस तर्फजागरुक नहुँदा कार्यक्रम प्रभावकारी बन्न सकेको छैन ।’

यस्तै, साँस्कृतिक धरोहर, ऐतिहासिक गणिकोट संरक्षणका लागि भ्युटावर निर्माण गरी ग्रामीण पर्यटन प्रवर्द्धनका काम पनि अगाडि बढाइएको छ । अजम्बरीमा मन्दिर निर्माण गरी मन्दिरबाट गणिकोटसम्म सिडी निर्माण गरिएको भएपनि पहिरोका कारण मन्दिर नै जिर्ण बन्न पुगेकाले त्यसलाई महत्वको रुपमा लिएर पुनः निर्माण गर्ने तयारी गरिएको छ । अध्यक्ष श्रेष्ठले भने, ‘विशेष गरी संस्कृतिलाई प्रस्फुटन गराएर मगर समुदायको बस्तिमा ग्रामीण पर्यटन प्रवर्द्धन गर्न होमस्टे सञ्चालन गर्ने तयारी गरिएको छ । होमस्टे सञ्चालन गर्ने क्रममा पर्यटकहरुलाई कसरी ऋषिङमा भित्र्याउने भन्ने अभियानमा हामी जुटेका छौं । होमस्टे सञ्चालन गर्न मिल्ने गाउँका बासिन्दालाई अन्य जिल्लामा सञ्चालित होमस्टेको स्थलगत अध्ययन भ्रमण समेत गराएका छौं ।’

यस्तै, गाउँपालिकाले प्रवाह गर्ने सेवालाई सहज रुपमा नागरिकले उपभोग गर्न पाउन भन्ने उद्देश्यले सहायता कक्षा सञ्चालन गरिएको छ । वडाबाट नभएको कामहरु गाउँपालिकाबाट सहजीकरण गर्ने वातावरण सिर्जना गरिएको छ । यो छ वर्षको अवधिमा असहजलाई पनि सहज रुपमै लिएर अगाडी बढेको अध्यक्ष श्रेष्ठ बताउँछन् । उनले भने, ‘अघिल्लो पटक संघ र प्रदेशमा फरक पार्टीको सरकार हुँदा केही विकासका कामहरु आफुले चाहेअनुसार भएन तर यस पटक आफुले अपेक्षा गरे अनुसार विकास निर्माण कार्य अगाडी बढ्ने अपेक्षा गरेको छु । ६ वर्षो कार्यकालमा ऋषिङ गाउँपालिकामा प्रशासनिकतर्फप्रशासकीय अधिकृत ज्यूहरु अत्यन्तै अनुभवि, पारदर्शी, सहकार्य, समन्वयबाट सहज रुपमा कार्यालय चलाएका छौ ।’

गिनुमाया थापा : उपाध्यक्ष

ऋषिङ गाउँपालिका सम्भाव नै सम्भावनाले भरिएको छ । कृषि, पशुपालन, पर्यटन, संस्कार, संस्कृति, ऐतिहासिक स्थल, धार्मिक स्थलले भरिपूर्ण छ । सम्भावनालाई जुन हिसावले परिस्कृति गर्नुपथ्र्यो त्यो भने भइसकेको छैन, हामी लागि परेका छौं । गाउँपालिका ग्रामीण पर्यटनका लागि पनि अकार्षक गन्तव्यका रुपमा विकास हुन सक्छ । यहाँको कला संस्कृति, उच्च पहाडी चुचुरा, धार्मिक स्थल तथा स्थानीय उत्पादित उपजले पर्यटकलाई लोभ्याउन सक्ने अवस्था छ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हामीले होमस्टे विकासका कार्यक्रमलाई पनि प्रथामिकतामा राखेका छौं ।

यस्तै, उपाध्यक्षका पदम रहि संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने काममा पनि आफु लागि परेको उपाध्यक्ष गिनुमाया थापा बताउँछिन् । न्यायक समितिको संयोजक भएकोले अन्यायमा परेका नागरिकलाई न्यायको पहुँचमा पुर्‍याउनु आफ्नो मुख्य भूमिका हुने गरेको उपाध्यक्ष थापा बताउँछिन्। उपाध्यक्षको भूमिका लगायत राजस्व समितिको पनि संयोजक, अनुगमन समितिको संयोजक र अपांगता समितिको संयोजकको भूमिका निर्वाह गर्नुपर्ने हुँदा प्राप्त अधिकार र जिम्मेवारीलाई सम्पादन गर्दै आएको छु ।

‘पहिलो कार्यकालमा धेरै मुद्दाहरु परेको थिए । अहिले दोश्रो कार्यकालको अहिलेसम्म खासै न्यायीक समितिमा मुद्दा आएका छैन’, उपाध्यक्ष थापाले भनिन्, ‘महिलाहरुको लागि महिला नेतृत्व विकासका तालिमहरु सिर्जना गरिरहेका छौ । त्यस्तै लघु उद्यमबाट प्रत्येक वडामा सिलाईबुनाई तालिम सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनको लागि वडा नं. ३ का दिदीबहिनीहरुलाई लमजुङको घलेगाउँ र भुजुङ गाउँ अध्ययन अवलोकन भ्रमण गराएका छौं । लैंगिक हिंसामा गाउँपालिकामा महिलाले पुरुषलाई हिंसा गरेको मुद्दा आउन थालेका छन् । श्रीमान वैदेशिक रोजगारीमा जाने र विदेशबाट श्रीमानले पठाएको पैसाको दुरुपयोग गरेको, श्रीमती परपुरुषसंग लागेको जस्ता समस्या पनि आउन थालेका छन् । गाउँपालिकामा ६/७ वटा यस्ता मुद्दा दर्ता भएका छन् ।’

ग्रामीण क्षेत्रका महिलाहरु वैदेशिक रोजगारी र बढ्दो प्रविधिको सहज पहुँच, सामाजिक सञ्जालको दुरुपयोगबाट विभिन्न खाले समस्या झेल्दै आएको उपाध्यक्ष थापा बताउँछिन् । उनले भनिन्, ‘यस्ता समस्या बढ्दै गएकाले गाउँपालिकाले सचेतनामुलक कार्यक्रमहरु पनि ल्याएका छ । महिला स्वास्थ्यसंग सम्बन्धित रहेर माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई महिनावारी हुँदा सेनेटरी प्याडको व्यवस्था, स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन, प्रत्येक विद्यालयहरुमा सरसफाईका सामाग्रिहरु वितरण गरिएको छ भने, महिला दिदीबहिनीलाई आर्थिक रुपमा सवल बनाउनका लागि विभिन्न सीपमुलक तालिम जस्तैः मुढा बनाउने, पोते बनाउने, चप्पल, व्याग बनाउने तालिमहरु सञ्चालन गरिएको छ ।

टिका बहादुर गोदार : प्रमुख प्रशासकीय अधिकृत

‘ऋषिङ समृद्धीको आधार : कृषि, संस्कृति, पर्यटनको पूर्वाधार’ भन्ने नारालाई आधार बनाएर गाउँपालिकाले आफ्ना नीति, कार्यक्रम निर्माण तथा बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत टिका बहादुर गोदारले बताए । गाउँपालिकाले आफ्ना सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्दै आएको छ । यस आर्थिक वर्षा धेरै जसो वडाका योजनाहरुका काम सम्पन्न भइ भुक्तानी पनि लिइसकेको र कतिपय काम सञ्चालनमै रहेको उनले बताए ।

गाउँपालिकाको वडा नंं. १ मा लगभग ७५ प्रतिशत योजनाहरु सम्पन्न भइसकेको र अन्य वडामा लगभग ५० प्रतिशतको हाराहारीमा योजनाहरु सम्पन्न भएर भुक्तानी लिने क्रममा रहेका छन् । प्रमुख प्रशासकीय अधिकृत गोदारले भने, ‘कृषितर्फ पशुपालन, आलु पकेट क्षेत्र, सिँचाई पकेट क्षेत्र कार्यक्रमहरु अगाडी बढेका छन् । पशुमा बोका खरिद, औषधी खरिद गरी सम्पूर्ण वडामा पठाउने काम भइरहेको छ । कोइदिम र कुम्लेमा आलु पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउनका लागि अनुदानमा तरकारी विउहरु वितरण गरिएको छ ।’

‘गाउँपालिकाले मंसिर मसान्तसम्म सबै वडामा योजना सम्झौता सम्पन्न गर्नुपर्ने नीति लिएपनि फागुन मसान्तमा केही सम्झौता सम्पन्न भइसकेका छन्’, उनले भने, ‘हाम्रा मुख्य आन्तरिक श्रोतमा ढुंगा, गिटी, बालुवा हो । कालिगण्डकीबा गिट्टीबालुवा उत्खनन गर्न सर्वोच्च अदालतले रोकेको कारण कामहरु अगाडी बढ्न सकेको छैन । सेती नदीमा गत आर्थिक वर्ष ६० लाख र अहिलेको वर्ष १२ लाख गरी ७२ लाख रुपैयाँमा कति परिमाणमा गिटी, बालुवा लिने र त्यही परिमाणमा भुक्तानी दिने गरी तनहुँ हाइड्रोसंग सम्झौता गरिएको छ। बाँकी ४ वटा घाटको टेण्डर निकालेर सम्झौता भइ कामहरु भइरहेका छन ।’

गाउँपालिकाको आन्तरिक आय तर्फसिफारिस, मालपोत, रजिष्ट्रेसनबाट केही रकम संकलन हुन्छ । नदी घाट अर्न्तर्गतको ४० प्रतिशत प्रदेशलाई बुझाउनुपर्ने व्यवस्था छ । वन जन्य काठबाट पनि केही आम्दानी हुने प्रमुख प्रशासकीय अधिकृत गोदारले बताए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker