पृथ्वीराजमार्गको घाँसीकुवा-विमलनगर खण्ड दैनिक ४ घण्टा बन्द गरिने
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवादेखि विमलनगर सडक खण्ड दैनिक ४ घण्टा बन्द गरिने भएको छ । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्ड अन्तर्गत घाँसीकुवादेखि विमलनगर खण्डमा काम गर्नका लागि रातीको समयमा ४ घण्टा राजमार्ग बन्द गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको बैठकले फागुन १८ देखि २७ गतेसम्म राती १२ देखि बिहान ४ बजेसम्म उक्त खण्ड बन्द गरी सडकको भित्तो काट्ने काम गर्ने निर्णय गरिएको छ । प्रजिअ रिजालले भने, ‘राजमार्ग बन्द नहुँदा सवारी साधन सञ्चालन भइरहने र कामलाई गति दिन नसकिएको हुँदा रातीको समयमा राजमार्ग बन्द गरी कामलाई तीव्रता दिने तयारी गरिएको छ ।’
हाललाई १० दिनका लागि बाटो बन्द गर्ने निर्णय गरिएको छ । मुग्लिन पोखरा सडक विस्तार आयोजना अर्न्तर्गत तनहु“मा दुइ वटा खण्ड विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पञ्चिम खण्डमा सडक विस्तारका काम भइरहेका छन् ।
यस्तै, सडक सिमाभित्र रहेका विद्युत पोलहरु स्थानतरण नगरिदा कामले गतिलिन नसकेको आयोजनाले बताउने गरेको छ ।










