स्थानीय तहका कर्मचारीले कालोपट्टी बाँधेर काम गर्ने
भञ्ज्याङन्यूज

दुइ दर्जनभन्दा स्थानीय तहका कर्मचारीहरुले आज शुक्रबार मनाइने निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् । संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीले आजको लागि विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकासमा पर्याप्त ध्यान नपुर्याई संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा न्यायोचित हुनुपर्ने भन्दै धेरै स्थानीय तहका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने घोषणा गरेका छन् । उनीहरुले सेवा समूहको आधारमा सरकारी सेवा स्थानीय तहबाट मात्रै सरकारी सेवा प्रवेशको बाटो खोल्नुपर्ने माग गरेका छन्।
संघीय ऐनले नै अन्तरप्रदेश सरुवाको बाटो खोल्नुपर्ने, निजामती अस्पतालमा सबै कर्मचारी र उनीहरुका परिवारलाई उपचार सुविधा दिनुपर्ने, सरुवा चक्रीय प्रणालीमा व्यवस्थापन गर्नुपर्ने र स्थानीय तहका पुरानै कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत हुन पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।
यस्तै, तनहुँको व्यास नगरपालिकामा कार्यरत कर्मचारीले निजामति दिवस बहिष्कार गर्ने घोषणा गरेका छन् । बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारीले निजामति दिवस बहिष्कारको घोषणा गरेका हुन् ।
संघीय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहमा कार्यरत कर्मचारीको मानमर्दन र विभेदपूर्ण मस्यौदा तयार भएको ज्ञापनपत्रमा उल्लेख छ । कर्मचारीले बुझाएको ज्ञापनपत्रमा संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा हुनुपर्ने माग गरिएको छ ।










