स्मार्टफोनले यसरी गर्दैछ बच्चाको मानसिक स्वास्थ्यमा क्षति

यदि तपाईं आफ्नो बच्चालाई कम उमेरमै स्मार्टफोन वा ट्याबलेट थमाउँदा उसको ज्ञानमा बढोत्तरी हुन्छ वा डिजिटल संसारका प्रति उसको बुझाइमा वृद्धि हुन्छ भन्ने सोच्नुभएको छ भने तपाईं भ्रममा हुुनुहुन्छ ।

एक अमेरिकी गैरसरकारी संस्था सेपियन ल्याब्सले लामो अध्ययनबाट निकालेको निष्कर्ष हो यो । उक्त संस्थाले सन् २०१६ बाटै मानिसहरुको मस्तिष्कलाई बुझ्ने मिसनमा काम गरिरहेको छ ।

कोरोना महामारीको समयमा बालबालिकाहरुको पढाइ भर्चुअल माध्यममा गएसँगै बच्चाहरुलाई अधिकतम कति समयसम्म मोबाइलको स्क्रिनमा हेर्न दिन हुन्छ भन्ने बहस तीव्र बनेको थियो ।

साथै मोबाइल फोनमा बालबालिकाहरुको पहुँचका फाइदा बेफाइदका बारेमा पनि चर्चा सुरु भयो । त्यस्तै सोसल मिडियामा पनि भिडियोहरुको बाढी नै आयो ।

रिपोर्ट के भन्छ ?

सेपियन ल्याब्सको ताजा रिपोर्ट अनुसार कम उमेरमा जब बच्चाहरुलाई स्मार्टफोन चलाउन दिइन्छ उनीहरु युवाअवस्थामा आउँदा नआउँदै उनीहरुको दिमागमा विपरीत असर देखापर्न थाल्दछ ।

सो रिपोर्ट ४० देशका २ लाख ७६ हजार ९६९ जना युवाहरुसँग कुराकानी गरेर तयार गरिएको हो र गत जनवरीदेखि अप्रिल समम सो सर्वेक्षण गरिएको हो ।

उक्त रिपोर्ट अनुसार ६ वर्षको उमेरबाटै स्मार्टफोन चलाउन थालेका ७४ प्रतिशत महिलाहरुलाई युवाअवस्थामा मानसिक स्वास्थ्य समस्या देखिएको छ । मानसिक स्वास्थ्यसम्बन्धी आँकलन अर्थात् एमसीक्यूमा ती महिलाको स्तर कम देखिन्छ ।

१० वर्षको उमेरमै स्मार्टफोन चलाउन पाएका केटीहरुमध्ये ६१ प्रतिशतमा एमसीक्यूको स्तर कम वा खराब देखिएको छ । १५ वर्षका ६१ प्रतिशत किशोरीहरुमा पनि अवस्था यस्तै छ ।

उमेर बढ्दै जाँदा पहिलोपटक स्मार्टफोन चलाउन पाउने महिलामा भने युवावस्थामा मानसिक स्वास्थ्य समस्याको दर घट्दै गएको छ ।

१८ वर्षको उमेरमा पहिलोपटक स्मार्टफोन चलाउन पाएका महिलामा मानसिक स्वास्थ्य समस्याको दर ४८ प्रतिशत छ ।

त्यस्तै ६ वर्षको उमेरमै स्मार्टफोन दिएका केटाहरुमध्ये ४२ प्रतिशतमा एमसीक्यूको स्तर कमजोर देखिएको छ ।

यो अध्ययनले कम उमेरमा स्मार्टफोन चलाउन दिनाले केटाको तुलनामा केटीहरुमा नकारात्मक असर बढि पर्ने देखाएको छ । यसको एउटा कारणचाहिं केटाको तुलनामा केटीमा किशोरावस्था छिटो आउने र त्योसँगै हुने मानसिक तथा शारीरिक परिवर्तन हुनसक्छन् ।

शोधकर्ताका अनुसार सानो उमेरमै स्मार्टफोन चलाउन पाएका बच्चाहरुमा पछि गएर आत्महत्याको विचार आउने, अरु मानिससँग रिस उठ्ने, यथार्थबाट भाग्ने प्रयास गर्ने तथा उकुसमुकुस हुने समस्या देखिन्छ ।

बच्चाको मस्तिष्कमा असर

मनोवैज्ञानिकहरुका अनुसार हाम्रो मस्तिष्कमा हजारौं चिजहरु तरंगका रुपमा पुगिरहेका हुन्छन् । जब कुनै व्यक्तिले स्मार्टफोन चलाउँदछ, त्यसबेला भिडियो र अडियो मस्तिष्कमा छिरेकै हुन्छन्, त्यसको अलावा यस्ता चिज पनि दिमागमा प्रवेश गर्छन् जसले रोमाञ्चकता र जिज्ञासा पैदा गर्दछन् । साथै यसले चुम्बककै रुपमा काम गर्दछ ।

डाक्टरहरुका अुनसार कोरोनाकालमा बच्चाहरु घरभित्रै रहँदा पढाइ वा अन्य समयमा समेत स्मार्टफोन, ट्याबलेट वा ल्यापटपको स्क्रिनमा लामो समय बिताउनु पर्दा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिए ।

लामो समयसम्म घरभित्र बन्द रहेर स्क्रिनमा बिताउनुपर्दा बालबालिकाहरुमा चिडचिडाहट पैदा हुनुका साथै उनीहरु एन्जाइटी र डिप्रेसनको सिकारसमेत भए ।

डिजिटल एक्सपोजरले बच्चाहरुमा एक प्रकारको लत नै बसालिदिन्छ । यसको असर बालबालिकामा छिटै देखिन्छ । उनीहरु पढ्ने, खेल्ने, साथीभाइसँग घुलमिल गर्ने गर्नुको साटो केवल स्मार्टफोनमा मात्रै रमाउन थाल्दछन् र त्यसबाट उनीहरुको शरीरमा डोपामाइन उत्सर्जन हुन्छ । त्यसले उनीहरुलाई कृत्रिम तथा बनाबटी दुनियाँमा पुग्छन् । त्यो अवस्थामा उनीहरुमा अलमल, असमञ्जसको अवस्था, एन्जाइटी जस्ता मनोस्थिति देखा पर्दछन् । त्यसको असर बालबालिकाहरुमा गहिरो देखिन्छ । तर सामाजिक रुपमा घुलमिल हुँदै प्राकृतिक रुपमै हुर्किएका बालबालिकामा भने यसको असर हुँदैन ।

अब के गर्ने ?

विज्ञहरुका अनुसार प्रविधिका दुईवटा पाटा हुन्छन् । एकातर्फ प्रविधि कुनै पनि जानकारीको एउटा ठूलो स्रोत बन्न सक्दछ । अर्कोतर्फ यसका दुष्परिणाम पनि छन् । यस्तोमा प्रविधिको सन्तुलित प्रयोग हुनु आवश्यक हुन्छ जुन धेरै मानिसले बिर्सेका हुन्छन् । त्यसैले अभिभावकहरुलाई यस्तो सल्लाह दिइन्छ :

  • साना बालबालिकाहरुलाई स्मार्टफोनबाट टाढै राख्नुहेास्
  • बच्चालाई कुन उमेरदेखि मात्रै स्मार्टफोन वा ट्याबलेट दिने भनेर तय गर्नुहोस्
  • यदि आफ्नो बच्चाले आफ्ना अरु साथीसँग स्मार्टफोन भएको उदाहरण दिँदै आफूले पनि माग गर्दछ भने उसलाई राम्रोसँग सम्झाउनुहोस्
  • यदि बच्चालाई आफ्ना साथीहरुसँग सम्पर्कमा रहनैपर्ने छ भने केवल कल तथा मेसेज मात्र गर्न सकिने मोबाइल फोन उसलाई दिनुहोस्।
  • यदि बच्चाको पढाईका लागि स्मार्टफोन आवश्यक छ भने त्यसको स्क्रिन टाइम निर्धारण गर्नुहोस्
  • स्कुलमा गृहकार्यहरु यदि अनलाइनमा वा इमेल गरेर दिइन्छ भने तपाईंले एउटा प्रिन्टर किनेर घरमा राख्नु उपयुक्त हन्छ । किनकि यसले बच्चाहरुले ग्याजेटको स्क्रिनमा बिताउने समय घटाइदिन्छ ।

बीबीसीबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker