तनहुँका बाँदर पीडितको गुनासो : ‘सरकारले बाँदर बचाउने हो कि मानिस’

तनहुँको बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्नुहुन्थ्यो । उहाँलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क ।

“बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उहाँले गुनासो गर्नुभयो, “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उहाँले बताउनुभयो ।

“दुई रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले एक मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतङ्कले मैले तरकारी खेती गर्न छाडिदिएँ”, उहाँले भन्नुभयो । तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लाग्नुभएको छ । बाँदरको समस्या नहुने भएकाले मौरीपालनतर्फ लागेको रानाको भनाइ छ ।

रानाले मौरीपालनसँगै दालचिनी खेती गर्नुभएको छ । दालचिनीबाट मात्रै वार्षिक रु चार लाख आम्दानी हुने गरेको छ । उहाँले भन्नुभयो, “बाँदरबाट पीडित भएपछि मौरीपालन व्यवसाय सुरु गरेँ, अहिले आनन्द छ । तर गाउँमा अझै पनि बाँदरको समस्या छ, अन्य कृषक हैरान हुनुहुन्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ ।”

बाँदरले खेतीपाती मात्र नभई घर–घरमा सुतिरहेको अवस्थामा वृद्धवृद्धालाई आक्रमण गरेर घाइते बनाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बाँदरलाई निर्मूल पार्नुपर्छ भन्दैनाँै तर यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ त्यसतर्फ सरकारले सोचोस् ।” उहाँले बाँदर व्यवस्थापनका लागि निकुञ्ज स्थापना गर्नुपर्ने माग गर्नुभयो ।

बन्दीपुर गाउँपालिका–३ का होमबहादुर विक पनि बाँदर आतङ्कले हैरान हुनुहुन्छ । बाँदर आतङ्कले खेतीबाली जोगाउन मुस्किल भएको उहाँको गुनासो छ । “बाँदरले सबै अन्नबाली खाइदिन्छ, मान्छेले के खाने ?”, उहाँले भन्नुभयो, “ सरकारले बाँदर बचाउने हो कि मानिस बचाउने हो सोच्नुपर्यो ।”

खेतबारीमा मात्र नभई घरमा राखिएका खानेकुरा पनि बाँदरले खाइदिने गरेको उहाँको गुनासो छ । “बाँदर आतङ्कले आजित भइसक्याँै, खै कसले हाम्रो पीडा सुनिदिने हो”, उहाँले भन्नुभयो, “नेपाल कृषि प्रधान देश भनिन्छ तर कृषि गरेर खान नसकिने भइयो ।” बाँदर मार्न नपाइने भएकाले यसको कसरी व्यवस्थापन गर्ने हो सम्बन्धित निकायले हेरिदिनुपर्ने उहाँको माग छ ।

बन्दीपुर गाउँपालिका–२ का नारायण केसीले बाँदर आतङ्कले गर्दा खेतबारी बाँझो हुने क्रम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षभरि दुःख गरेर खेती गर्यो, खेती बाँदरले खाइदिएपछि कृषक निराश हुनुपर्ने अवस्था छ । दुःखको फल नपाउने भएपछि किन खेती गर्ने भन्ने कृषकको सङ्ख्या बढ्दो छ । जग्गा बाँझो हुने क्रम बढेको छ ।” सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि बाँदर आतङ्कका कारण कृषक कृषिबाट विस्थापित हुनुपरेको केसीको भनाइ छ ।

व्यास नगरपालिका–१२ धरादीका प्रेमकुमारी थापाको पीडा पनि उस्तै छ । अहिले मकैखेती गरिएकामा बाँदरले सबै मकै भाँचिदिएको उहाँको गुनासो छ । “बाँदरले मकै भाँचेर सोत्तर बनायो, केही राखेन”, उहाँले भन्नुभयो । व्यास नगरपालिका–६ शिशाघाटका कृषक बलबहादुर चदौलाले बाँदर आतङ्कले कहिल्यै खेती खान नपाइएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मकै, घिरौला, काँक्रो केही राख्दैन, सबै खाइदिन्छ, बच्ने भनेको खुर्सानी मात्र हो ।”

शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका सिद्धबहादुर खाँणले तरकारी खेती जोगाउन बाँदर कुरेर बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । “बाँदर धपाउन नबसे खेतीबाली नष्ट हुन्छ, कति कुरेर पनि साध्य हुन्छ र ?”, उहाँले भन्नुभयो, “कृषक साह्रै पीडित भए, कृषकको समस्या सुनिदिने कसले हो खै ?”

भानु नगरपालिका–४ का अनिता गुरुङले बाँदरबाट कृषिमा भएको क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्ने माग राख्नुभयो । “दुःख गरेर गरेको खेती बाँदरलाई मात्रै हुन्छ, हामीलाई कसले क्षतिपूर्ति दिन्छ खै ?”, उहाँले भन्नुभयो ।

बाँदर आतङ्कबाट बचाउन सरकारले उचित नीति ल्याउनुपर्ने प्राकृतिक पर्यावरण संरक्षण मञ्च तनहुँका अध्यक्ष सुदर्शन प्रधान बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सरकारले किसानको यो दुःखद् मर्म र पीडा बुझेर सही नीति ल्याउनुपर्छ ।” तनहुँमा ६० हजार बाँदर रहेको भन्दै उहाँले बाँदरका कारण कृषक सधैँ पीडामा बस्नुपर्ने अवस्था आइपरेको गुनासो गर्नुभयो ।

“चैत महिनादेखि असारसम्म बिहान उज्ज्याले भएदेखि बेलुका साँझसम्म बाँदरले धरक्कै रुवाइरहेको छ । बाँदरले घर–घर पसेर अन्नपात लुट्ने र मान्छेलाई कोपर्न थालेको छ”, उहाँले भन्नुभयो, “अब बाँदर पीडितले आफ्ना बालचच्चा पाल्ने कि बाँदर ? सरकारले स्पष्ट जवाफ दिनुपर्छ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker