तनहुँका दुरा समुदाय आफ्नो मातृभाषा सिक्दै
कृष्ण न्यौपाने/दमौली

“हाम्रो बाउबाजेले पनि दुरा भाषा जानेनन्, हामीले त झन् जान्ने कुरै भएन,” तनहुँको व्यास नगरपालिका-४ दमौली निवासी ३७ वर्षीया चन्द्रकला दुराले भन्नुभयो, “दुरा जातिको पनि भाषा छ भन्ने थाहा थियो तर भाषा बोल्न आउँदैनथ्यो ।”
अरु जातजातिले मातृभाषा बोल्दा आफूलाई पनि मातृभाषा बोल्ने इच्छा भएको बताउँदै दुराले भाषा नआउँदा कहिलेकाहीँ खिन्न लाग्ने गरेको अनुभव सुनाउनुभयो । “कतै जाँदा अरु जातिका दिदीबहिनीले मातृभाषामा बोल्नुहुन्थ्यो, हामी दुरा जाति पनि दुरा भाषामा बोल्न पाए कस्तो हुन्थ्यो होला भन्ने सोचिरहन्थेँ”, उहाँले भन्नुभयो, “पहिलादेखि नै मातृभाषा सिक्ने इच्छा थियो ।”
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना र दुरा महिला समूह व्यास नगरपालिकाको संयोजनमा दुरा मातृभाषा प्रशिक्षण सञ्चालन भएपछि चन्द्रकला दुराले केही सिक्ने अवसर पाउनुभएको छ । व्यास नगरपालिका-१ र ४ का २३ महिला र दुइ पुरुष गरी २५ जनाको सहभागितामा उक्त प्रशिक्षण सञ्चालन भइरहेको छ ।

दुरा मातृभाषा कक्षा सञ्चालनपछि अहिले लेख्न र बुझन मात्र होइन बोल्न पनि आउने भएको चन्द्रकलाले बताउनुभयो । यति थोरै समयमा धेरै कुरा नजाने पनि आधारभूत ज्ञान भने पाएको उहाँको भनाइ थियो । दुराले भन्नुभयो, “पहिला त कति पनि आउँथेन, अहिले धेरथोर आउँछ । आफ्नै भाषा सिक्न पाउँदा खुसी लागेको छ ।” अझै धेरै कुरा सिक्ने चाहना भएको भन्दै उहाँले आफूले जानेको कुरा अब घर परिवारमा बोलेर सिकाउने बताउनुभयो ।
“बाल बच्चालाई पनि यो भाषा सिकाउने इच्छा थियो, तर उनीहरूको अध्ययनका कारण विद्यालय जान पर्दा प्रशिक्षणमा ल्याउन सकेनौं, मैले सिकेको कुरा अब घरमा बोल्छु र उनीहरूलाई सिकाउँछु”, दुराले भन्नुभयो । प्रशिक्षणपछि केही कुरा सिकेको भन्दै उहाँले मातृभाषामै यसरी आफ्नो परिचय दिनुभयो, “ङे चन्द्रकला दुराले । उइजो (हजुरलाई नमस्ते) ।” दुरा भाषामै बाबुआमा, छोराछोरी, सात बार भन्न सिकेको उहाँले बताउनुभयो ।
व्यास-४ निवासी ५२ वर्षीया विष्णुमाया दुरा पनि मातृभाषा सिकिरहनुभएको छ । आफ्नो भाषा लोप हुँदै जान थालेकाले भाषाको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यसहित मातृभाषा सिक्ने इच्छा जागेको उहाँले बताउनुभयो । “हामी पनि विभिन्न जातजातिमध्ये एक जाति हौँ, हाम्रो पनि भाषा छ तर लोप हुँदै गइरहेको छ । कसैलाई पनि बोल्न आउँदैन, त्यही भएर हामी अहिले मातृभाषा सिकिरहेका छौँ”, उहाँले भन्नुभयो ।

आफूहरूकै पहलमा मातृभाषा प्रशिक्षण सञ्चालन गरिएको उहाँले बताउनुभयो । दुरा महिला समूहका अध्यक्ष रहनुभएका उहाँले भन्नुभयो, “दुरा जातिको जनसंख्या कम छ, धेरैलाई यो भाषा नआउँदा भाषा नै लोप हुने खतरा भयो । भाषाको संरक्षण गर्दै आउने पुस्तालाई भाषाबारे ज्ञान दिने उद्देश्य राखेका छौँ ।”
मातृभाषा सिकेर बोलीचाली गर्न थालेपछि अझै अभ्यस्त हुने उहाँको भनाइ छ । “सिकेर मात्र हुँदैन यसलाई बोलीमै ल्याउनर्ुपर्छ, सधैँ बोल्दै गएपछि जानिहालिन्छ”, उहाँले भन्नुभयो, “मैले सिक्दैछु, अब घर परिवारमा पनि सिकाउँछु ।” व्यास-४ निवासी ३० वर्षीया जुना दुरा मातृभाषा सिक्न पाउँदा गर्व लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “दुरा जातिको आफ्नै भाषा छ तर लोप हुँदै गइरहेको छ । दुरा भाषाको संरक्षण गर्नुपर्छ भन्ने भावनासहित भाषा सिकिरहेका छौँ ।”
व्यास-१ निवासी दुर्गा दुरा मातृभाषा सिक्न पाउँदा हर्षित हुनुहुन्छ । “अन्य जनजातिका मान्छे मातृभाषामा बोल्दा मलाई पनि मातृभाषा कस्तो हुन्छ भन्ने लागिरहन्थ्यो, अहिले मातृभाषा सिकेर बोल्न सक्ने भएको छु”, उहाँले भन्नुभयो ।
दुरा भाषा पढाउँदै मुक्तिनाथ घिमिरे
लमजुङको जिता निवासी मुक्तिनाथ घिमिरेले दुरा महिलालाई मातृभाषा सिकाइरहनुभएको छ । भाषाका अनुसन्धानकर्ता घिमिरेले दुरा जातिले आफ्नो भाषा बिर्सिदै गएपछि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा मातृभाषा कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “त्यसै पनि दुरा जाति अल्पसंख्यक हुन्, त्यसमाथि मातृभाषा नहुँदा असजिलो परिस्थिति बनेको छ ।”
दुराडाँडास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदा सोही सेरोफेरोमा घुमेर दुरा भाषाको शब्द संकलन गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो, “दुराडाँडामा दुरा जातिको बाक्लो बस्ती छ । त्यहाँका बूढापाकाहरूसँग मैले शब्दहरू संकलन गरेँ । अहिले पछिल्लो पुस्ताले दुरा भाषा बिर्सिदै जान थाले ।” मातृभाषा कक्षा सञ्चालनले सामान्यरूपमा परिवारमा दुरा भाषामा बोल्न सक्ने बनाउने मुख्य लक्ष्य रहेको घिमिरेको भनाइ छ ।

घिमिरे गुरुङ भाषामा पनि दक्खल हुनुहुन्छ । “मैले दुरा जातिको भाषासम्बन्धी अध्ययन गरेर पुस्तक तयार गरेको छु, दुरा भाषाको वर्णमालाको पुस्तक तयार गरेर प्रकाशनमा आइसकेको छ”, घिमिरेले भन्नुभयो । भाषा र संस्कृति एकअर्काका पूरक रहेकाले सबैले मातृभाषा जान्नुपर्ने उहाँको भनाइ छ । मातृभाषा प्रशिक्षणमा दुरा जातिको १० प्रकारका स्वरवर्ण, ३७ वटा व्याञ्जनवर्ण, १ देखि १० सम्मका सङ्ख्या, बारका नाम सिकाइएको छ । त्यस्तै सामान्य बोलीचालीमा प्रयोग गरिने शब्दहरू सिकाइएको छ । उहाँले भन्नुभयो, “दैनिकजसो बोलीचालीमा प्रयोग हुने शब्दहरू सिकाइएको छ ।”
दुरा जातिको भाषामा मात्रा ह्रस्व हुन्छ । दुरा जातिको भाषामा क, ख, ग जस्तो सग्लो अक्षर नहुने घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार दुरा जातिको भाषामा की मात्रा लगाएको हुन्छ, की काटिएको हुन्छ । “हरेक जातिको भाषा लोप हुनुहुँदैन, भाषा संरक्षण हुनुपर्छ भन्ने भावनासहित म विभिन्न ठाउँमा पुगेर भाषाको अध्यापन गराइरहेको छु”, घिमिरेले भन्नुभयो, “भाषा अमूर्त सम्पत्ति हो, भाषा कमाउन सकिँदैन । यसको संरक्षण हुनुपर्छ ।”
तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरी आएका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । विसं २०६८ को जनगणना अनुसार दुराहरूको संख्या पाँच हजार तीन सय ९४ रहेको छ । त्यसमध्ये लमजुङमा ७२, तनहुँमा १६, चितवनमा छ, कास्कीमा तीन र अन्य जिल्लामा तीन प्रतिशत जनसंख्या बसोबास गरेको पाइन्छ ।










