सर्वशुलभ रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने दौडमा तनहुँको आँवुखैरेनी गाउँपालिका

तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेको छ । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छन् ।
गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मङ्सिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेको छ ।
स्थानीय तहको निर्वाचनका बेला जनतामाझ जाँदा स्वास्थ्य क्षेत्रमा केही काम गर्छौँ भनेर प्रतिबद्धता गरेकाले सोही प्रतिबद्धता पूरा गर्न स्वास्थ्य सेवा विस्तार गर्दै लगिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो । स्वास्थ्य क्षेत्रलाई विस्तार गर्दै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन काम गर्छौँ भनेर लागिपरेका छौँ ।”
अध्यक्ष चुमानका अनुसार गाउँपालिकासँगै रहेको स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा विस्तार गरी सञ्चालन गरिएको छ । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान भइरहेको छ । उहाँले भन्नुभयो, “एक/डेढ वर्ष पहिला भिडियो एक्सरे गर्नु परे चितवन जानुपर्ने अवस्था थियो । निर्वाचनका बेला स्थानीयस्तरमा सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता गरेका थियाँै । एक वर्षमा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा स्तरोन्नति गरी सेवा दिइरहेका छौँ ।”
अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले आफ्नै स्रोतमा एमडिजिपी चिकित्सक(विषयगत विधाका विशेषज्ञ चिकित्सक) नियुक्त गरेको छ । “एमजिडिपी डाक्टर गाउँपालिकाले राख्न सक्छ भनेर खिस्सीटिउरी गर्थे । अहिले पालिकाको पहलमा अस्पतालले विशेषज्ञसहितको सेवा दिइरहेको छ”, उहाँले भन्नुभयो । यहाँ सञ्चालित अस्पतालबाट बिरामी बाहिर लैजानपरे गाउँपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष चुमानले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै आवश्यक परे विकास बजेट घटाएर स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताउनुभयो । “हामी बरु भत्ता नलिउँला, तर स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौँ”, उहाँको भनाइ थियो । अहिले अस्पताल सञ्चालनका लागि केही रकम लिनपरेको भन्दै निकट भविष्यमा अस्पतालबाट उपलब्ध हुने सेवालाई निःशुल्क बनाइने चुमानले बताउनुभयो ।
उहाँले भन्नुभयो, “केही बाध्यताका कारण उपचारका लागि केही रकम लिनुपरेको छ । औषधि किन्ने बेला गाह्रो भइरहेको छ । चाँडोभन्दा चाँडो अस्पताललाई बीमामा सूचीकृत गराउन प्रयासरत छौँ ।” गाउँपालिकाले निकट भविष्यमा शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरिरहेको अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी, एपेन्डिक्स, हर्निया र हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी भइरहेको छ ।
भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले केही दिन अघिदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष चुमानले बताउनुभयो । केन्द्र सञ्चालनमा आएसँगै आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ थियो ।
आँवुखैरेनी हस्पिटलमा बुधबार स्वास्थ्य सेवा लिन आएका सेवाग्राहीहरु । तस्विर : भञ्ज्याङ
आँखाको उपचारका लागि आँबुखैरेनी गाउँपालिकासँगै छिमेकी जिल्ला गोरखा, बन्दिपुरलगायतका बासिन्दालाई भरतपुरसम्म जानुपर्ने बाध्यता हटेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताउनुभयो । आँबुखैरेनीमा आँखा उपचार केन्द्र स्थापनापछि सबैलाई सहज भएको उहाँको भनाइ थियो ।
भरतपुर आँखा अस्पतालसँग गरिएको सम्झौता अनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक दुई कोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ । केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षदेखि पाँच वर्षसम्म वार्षिक रू छ लाखका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
“आँखा उपचार केन्द्रका लागि गाउँपालिका र भरतपुर आँखा अस्पतालको सहकार्यमा ओपिडी टिकट र केन्द्रमा टाँसिने ब्यानरमा नेपाल सरकारको लोगो राख्न स्वीकृति दिने सम्झौता भएको छ”, स्वास्थ्य शाखा प्रमुख उपाध्यायले भन्नुभयो । उहाँका अनुसार केन्द्रमा  एकजना सहायकस्तरको कर्मचारी राखिएको छ । “केन्द्रका लागि नेपाल नेत्रज्योति सङ्घले आवश्यक औजार, उपकरण, औषधि, चस्मा, लेन्स तथा स्टेशनरीलगायत सामान उपलब्ध गराउने छ”, उहाँले भन्नुभयो ।
केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी व्यवस्थापन तथा सेवासुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने सहमति भएको स्वास्थ्य शाखा प्रमुख उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार आवश्यकता अनुसार स्रोतसाधन जुटाइ कम्तीमा वर्षमा एक पटक निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ ।
आँखा उपचार केन्द्र सञ्चालन गर्न गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नेपाल नेत्रज्योति सङ्घका प्रतिनिधि, गाउँपालिकाका महिला सदस्य, आँखा उपचार केन्द्र रहेको वडाका अध्यक्ष, भरतपुर आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रशासक, स्थानीय लायन्स क्लबका सदस्य सम्मिलित समिति गठन गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker