सम्पादकीय : प्रतिनिधिसभा निर्वाचन – अबको निर्णय भविष्यको दिशातर्फ

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । लोकतान्त्रिक अभ्यासको यो महत्वपूर्ण दिनका लागि तनहुँसहित देशभर आवश्यक तयारी पूरा भएको छ। मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिइसकेका छन्, मतगणनास्थल व्यवस्थित गरिएको छ, मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएका छन्। बाह्य तयारी लगभग पूरा भइसकेको अवस्थामा अब सबैभन्दा महत्वपूर्ण प्रश्न मतदाताको आन्तरिक तयारी– चेतना, विवेक र निर्णय क्षमताको– बन्न पुगेको छ । यसपटकको निर्वाचन सामान्य राजनीतिक तालिकाको परिणाम मात्र होइन। भदौ २३ र २४ गते सडकमा उत्रिएको जेनेरेशन ‘जेड’ (जेनजी) पुस्ताको आन्दोलनले सिर्जना गरेको सामाजिक–राजनीतिक तरङ्गपछि यो निर्वाचन हुन लागेको हो। डिजिटल युगमा हुर्किएको, सूचनामा दखल राख्ने, प्रश्न गर्न सक्ने र तत्काल प्रतिक्रिया दिन सक्ने युवा पुस्ताले परम्परागत राजनीतिक शैलीप्रति असन्तुष्टि प्रकट गरेको थियो। उनीहरूको माग केवल सत्ता परिवर्तन थिएन, शासनशैली, पारदर्शिता र जवाफदेहितामा आमूल सुधार थियो। आज त्यही पुस्ता पहिलो पटक ठूलो संख्यामा मतदाता बनेर निर्वाचनमा सहभागी हुँदैछ। सामाजिक सञ्जालमा ट्रेन्ड बनाउने, भर्चुअल बहसमा सक्रिय रहने यो पुस्ताले अब वास्तविक मतपेटिकामा आफ्नो विचार अभिव्यक्त गर्ने अवसर पाएको छ। आन्दोलनबाट उत्पन्न ऊर्जा यदि मताधिकारको सही प्रयोगमा रूपान्तरण हुन सकेन भने त्यो केवल क्षणिक असन्तोषमा सीमित हुनेछ।

निर्वाचन आयोगले शान्तिपूर्ण, भयरहित वातावरणमा मतदान सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाएको छ। तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ। मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरी सुरक्षा रणनीति बनाइएको छ। अस्थायी मतदान केन्द्रको व्यवस्था गरेर खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई पनि मतदानको अवसर दिइएको छ। यी सबै व्यवस्थाले संस्थागत रूपमा लोकतन्त्रलाई बलियो बनाउने संकेत गर्छन् । तर लोकतन्त्र केवल संरचनात्मक तयारीले मात्र सफल हुँदैन; यसको सार मतदाताको सचेत निर्णयमा निहित हुन्छ। प्रतिनिधिसभा निर्वाचनमा दुई मतपत्र हुने व्यवस्था छ– प्रत्यक्ष र समानुपातिकतर्फ। कतिपय मतदाता यसमा अलमलिन सक्छन्। मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि अझै सबै तहमा पर्याप्त जानकारी पुगेको छैन। नमूना मतदान अभ्यास गरिए पनि लक्षित वर्गको सहभागिता सीमित रहनु कमजोरी हो। बदर मत घटाउन र मतदातालाई प्रक्रियाबारे स्पष्ट जानकारी दिन अझ प्रभावकारी प्रयास आवश्यक थियो । जेनेरेशन ‘जेड’ को आन्दोलनले एउटा सन्देश दिएको थियो– “हामी हेरेर बस्दैनौँ।” तर हेरेर मात्र होइन, चुनेर पनि देखाउनुपर्छ। असन्तोषलाई मतमा रूपान्तरण गर्ने क्षमता नै लोकतन्त्रको परिपक्वता हो। यदि युवा पुस्ता मतदान केन्द्रसम्म पुग्दैन भने आन्दोलनको औचित्य कमजोर हुन्छ।

नेपालको राजनीतिक इतिहासमा आन्दोलन र निर्वाचन एक–अर्कासँग जोडिँदै आएका छन्। आन्दोलनले व्यवस्था बदल्छ, निर्वाचनले त्यसलाई वैधता दिन्छ। अहिलेको अवस्था पनि त्यस्तै संक्रमणको चरण हो। सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्नु सजिलो छ, तर मतदान केन्द्रमा पुगेर विवेकपूर्ण निर्णय गर्नु जिम्मेवारीपूर्ण काम हो । यस निर्वाचनमा मतदाताले केवल उम्मेदवार होइन, आफ्नो भविष्य रोज्दैछन्। विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन, पारदर्शिता यी सबै विषय संसदमा नीति निर्माणसँग जोडिएका छन्। प्रतिनिधिसभा देशको सर्वोच्च विधायिका भएकाले यहाँ निर्वाचित हुने प्रतिनिधिको भूमिका दीर्घकालीन हुन्छ। त्यसैले व्यक्तिगत आकर्षण, क्षणिक लोभ वा भावनात्मक नाराभन्दा नीति, दृष्टिकोण र कार्यक्षमताको मूल्याङ्कन आवश्यक छ। जेनजी पुस्ताले उठाएको अर्को महत्वपूर्ण विषय थियो– जवाफदेहिता। निर्वाचित भएपछि जनप्रतिनिधि जनता सामु कति उत्तरदायी हुन्छन्? संसदमा उनीहरूको उपस्थितिदर कस्तो रहन्छ? विकास योजनामा पारदर्शिता कति हुन्छ? यी प्रश्नहरू अब मतदाताको मूल्याङ्कनको आधार बन्नुपर्छ । मतदान केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। लोकतन्त्रमा “मेरो एक मतले के फरक पर्छ?” भन्ने सोचले ठूलो क्षति पु¥याउँछ। वास्तवमा प्रत्येक मतले परिणामको दिशा तय गर्न सक्छ। विशेष गरी प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रमा सानो मतान्तरले ठूलो राजनीतिक सन्देश दिन्छ ।

साथै, निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। राजनीतिक दल, उम्मेदवार, समर्थक र मतदाता सबैले संयमता अपनाउनुपर्छ। सामाजिक सञ्जालमा गलत सूचना, अफवाह वा द्वेष फैलाउने प्रवृत्तिले लोकतान्त्रिक वातावरण बिगार्न सक्छ। जेनजी पुस्ताले नै डिजिटल साक्षरता र तथ्यपरक बहसको संस्कृति विकास गर्न अग्रसर हुनुपर्छ । आज देशका धेरै युवाहरू रोजगारीको खोजीमा विदेशिएका छन्। बाँकी युवाले यहाँ अवसर सिर्जना गर्ने नेतृत्व रोज्नुपर्ने जिम्मेवारी बोकेका छन्। यदि सक्षम र दूरदर्शी नेतृत्व चयन हुन सकेन भने निराशा अझ बढ्न सक्छ।

 

त्यसैले यो निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा होइन, विश्वास पुनस्र्थापनाको अवसर पनि हो । भदौको आन्दोलनले चेतना जगायो; फागुनको निर्वाचनले त्यसलाई संस्थागत रूप दिनेछ। सडकबाट सुरु भएको आवाज अब संसदसम्म पुग्नुपर्छ। मतपेटिकामा खस्ने प्रत्येक मतले परिवर्तनको आधार निर्माण गर्न सक्छ । लोकतन्त्रको सौन्दर्य नै यही हो– जनताले आफ्ना प्रतिनिधि आफैँ चयन गर्छन्। शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न हुनु लोकतन्त्रको जीत हो। तर त्यो जित सार्थक तब हुन्छ, जब मतदाता सचेत र विवेकपूर्ण हुन्छन्। यसपटक मतदान केन्द्रमा जाँदा केवल औँलामा मसी लगाउने होइन, भविष्यको दिशामा हस्ताक्षर गर्ने भावनासहित जाऔँ। जेनेरेशन ‘जेड’को चेतना, अनुभव र उत्साहलाई जिम्मेवार निर्णयमा रूपान्तरण गरौँ। शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकारको सही सदुपयोग गरौँ। यही नै लोकतन्त्रप्रतिको हाम्रो सच्चा प्रतिबद्धता हुनेछ ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker