मातृभाषा बोल्न र बुझ्न सक्ने भए दुरा

कृष्ण न्यौपाने

एक महिना अघिसम्म मातृभाषाबारे ज्ञान नभएकी तनहुँको व्यास नगरपालिका–४ निवासी लिला दुरा अहिले मातृभाषा बोल्न थाल्नुभएको छ । उहाँले अहिले मातृभाषामा गीत गाउन, बोल्न जान्नुका साथै बोलेको कुरा बुझ्न सक्ने हुनुभएको छ ।

उहाँले भन्नुभयो, “एक महिना अगाडीसम्म मातृभाषा कसरी बोलिन्छ भन्ने जानकारी थिएन, एक महिनाको प्रशिक्षणपछि अहिले त धेरै कुरा जाने ।” उहाँले दुरा भाषामा गीत गाउन पनि सिकेको बताउनुभयो । “अझै धेरै कुरा सिक्न बाँकी छ, प्रशिक्षण पायौ भने थुप्रै कुरा जान्न सक्छु,” उहाँले भन्नुभयो ।

स्थानीय कमला दुरा पनि अहिले मातृभाषामा बोल्ने र बुझ्न सक्ने हुनुभएको छ । दुरा भाषा छ भन्ने थाहा भएपनि कसरी बोलिन्छ भन्ने ज्ञान नभएकामा अहिले भाषाबारे धेरथोर ज्ञान पाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो जातिको भाषा छ भन्ने त थाहा थियो तर कसरी बोल्ने थाहा थिएन, घरपरिवारमा पनि कसैले नबोल्ने हुनाले जान्दा पनि जानेनौ । तर अहिले प्रशिक्षण पाएपछि भाषा जान्यौ ।”

स्थानीय चन्द्रिका दुरा मातृभाषा सिक्न पाउँदा खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो, “अब त घरमा पनि मातृभाषामा नै कुरा गर्छु, घरपरिवारलाई आफूले जानेको सिकाउँछु ।” अन्य जातिले मातृभाषा बोल्दा आफूहरु पनि मातृभाषा बोल्न पाए हुन्थ्यो भन्ने लाग्दै आएको बताउँदै उहाँले एक महिनाको तालिमले धेरै कुरा सिकाएको बताउनुभयो । प्रशिक्षणपछि केही कुरा सिकेको भन्दै उहाँले मातृभाषामै यसरी आफ्नो परिचय दिनुभयो, “ङे चन्द्रकला दुरा ले । उइजो (हजुरलाई नमस्ते) ।” दुरा भाषामै बाबुआमा, छोराछोरी, सात बार भन्न सिकेको उहाँले बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोग र महिला दूरा समूहको आयोजनामा वैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म एक महिनासम्म मातृभाषा तालिम सञ्चालन गरिएको थियो । व्यास नगरपालिका–१ स्थित नेपाल आदिवासी जनजाति महासङ्घको भवनमा दैनिक रुपमा बिहान ११ बजेदेखि २ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको थियो ।

मातृभाषा नै लोप हुने खतरा बढेपछि प्रज्ञा प्रतिष्ठानको सहयोगमा भाषा प्रशिक्षण सञ्चालन गरिएको महिला दुरा समूहकी अध्यक्ष विष्णुमाया दुराले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य उद्धेश्य मातृभाषा संरक्षण गर्दै भावी पुस्तालाई पनि सिकाउनु हो । मातृभाषाबारे केही नजान्नेहरु अहिले गीत गाउन, दोहोरो कुरा गर्न सक्ने हुनुभएको छ । यो मुख्य उपलब्धि हो ।” भाषा किन लोप भयो भन्दा अनुसन्धान गर्दा भाषा रहेछ भन्ने ज्ञान भएपछि आफूहरुकै पहलमा मातृभाषा प्रशिक्षण सञ्चालन गरिएको उहाँको भनाइ छ ।

व्यास नगरपालिका–१ की वडा सदस्य कृष्ण दुराले भाषा नै लोप हुन्छ की भन्ने चिन्ता रहेकामा अब प्रशिक्षण पश्चात् भाषाको संरक्षण हुने आशा पलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ दुरा जातिको जनसङ्ख्या कम रहेको र धेरैलाई यो भाषा नआउँदा भाषा नै लोप हुने खतरा भएकाले आउने पुस्तालाई भाषाबारे ज्ञान दिने उद्देश्यले प्रशिक्षण राखेका हौँ ।”

दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुरा मातृभाषा प्रशिक्षण फलदायी भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मातृभाषा नजान्नेहरु अझै थुप्रै हुनुहुन्छ, उहाँहरुलाई पनि क्रमशः तालिम दिएर भाषाबारे जानकारी गराउने लक्ष्य राखेका छौ ।” दुरा सेवा समाजका निवर्तमान केन्द्रीय अध्यक्ष देवबहादुर दुराले दुरा जाति सबै पक्षले भरिपूर्ण रहेपनि भाषाका कारण पछाडि पर्दै आएको गुनासो गर्नुहुन्छ ।

दुरा जातिको भाषा संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले पाठ्यक्रम बनाउन सहयोग गर्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रज्ञा प्रतिष्ठानले प्रदेशभित्रका सबै जातजातिको भाषा संस्कृति संरक्षणका लागि काम गर्दै आएको छ । त्यसमध्ये लोपोन्मुख जाति दुराको भाषा संरक्षणका लागि हामी गम्भीर छौ ।”

लमजुङको जिता निवासी मुक्तिनाथ घिमिरेले दुरा महिलालाई मातृभाषा सिकाउनुभएको हो । भाषाका अनुसन्धानकर्ता घिमिरेले दुरा जातिले आफ्नो भाषा बिर्सिदै गएपछि गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा मातृभाषा कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । घिमिरेले भन्नुभयो, “त्यसै पनि दुरा जाति अल्पसङ्ख्यक हुन्, त्यसमाथि मातृभाषा नहुँदा असजिलो परिस्थिति बनेको छ । एक महिनाको तालिमले उहाँहरुलाई धेरै कुरा सिकायो ।”

दुराडाँडास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदा सोही सेरोफेरोमा घुमेर दुरा भाषाको शब्द सङ्कलन गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो, “दुराडाँडामा दुरा जातिको बाक्लो बस्ती छ । त्यहाँमा बुढापाकाहरुसँग मैले शब्दहरु सङ्कलन गरे । अहिले पछिल्लो पुस्ताले दुरा भाषा बिर्सिदै जान थाले ।”

घिमिरे गुरुङ भाषामा पनि दख्खल हुनुहुन्छ । “मैले दुरा जातिको भाषासम्बन्धी अध्ययन गरेर पुस्तक तयार गरेको छु, दुरा भाषाको वर्णमालाको पुस्तक तयार गरेर प्रकाशनमा आइसकेको छ,” घिमिरेले भन्नुभयो । भाषा र संस्कृति एकअर्काका पुरक रहेकाले सबैले मातृभाषा जान्नुपर्ने उहाँको भनाइ छ । मातृभाषा प्रशिक्षणमा दुरा जातिको दश प्रकारका स्वरवर्ण, ३७ वटा व्याञ्जनवर्ण, १ देखि १० सम्मका सङ्ख्याहरु, बारका नाम सिकाइएको छ । त्यस्तै सामान्य बोलीचालीमा प्रयोग गरिने शब्दहरु सिकाइएको छ ।

दुरा जातिको भाषामा मात्रा ह्रस्व हुन्छ । दुरा जातिको भाषामा क, ख, ग जस्तो सङ्लो अक्षर नहुने घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार दुरा जातिको भाषामा की मात्रा लगाएको हुन्छ की काटिएको हुन्छ । “हरेक जातिको भाषा लोप हुनुहुँदैन, भाषा संरक्षण हुनुपर्छ भन्ने भावनासहित म विभिन्न ठाउँमा पुगेर भाषाको अध्यापन गराइरहेको छु,” घिमिरेले भन्नुभयो, “भाषा अमूर्त सम्पत्ति हो, भाषा कमाउन सकिदैन । यसको संरक्षण हुनुपर्छ ।”

तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरी आएका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । विसं २०६८ को जनगणनाअनुसार दुरा जातिको सङ्ख्या पाँच हजार तीन सय ९४ रहेको छ । त्यसमध्ये लमजुङमा ७२, तनहुँमा १६, चितवनमा छ, कास्कीमा तीन र अन्य जिल्लामा तीन प्रतिशत जनसङ्ख्या बसोबास गरेको पाइन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker