बीउ बैंकमा रैथाने बाली संरक्षण, उन्नत जातका बीउविजन प्रयोग बढ्दा रैथाने बाली लोप हुँदै

भञ्ज्याङ समाचारदाता/दमौली

कृषकहरु पछिल्लो समय उन्नत जातका बीउविजन तर्फ आकर्षित हुँदा रैथाने बाली संकटमा परेका छन् । उन्नत जातका बीउविजन प्रयोग हुँदा परम्परागत बीउविजन लोपको संघारमा पुग्न थालेपछि अभियानकर्मीहरुले अहिले बीउ बैंक स्थापना गरी संरक्षण अभियानमा जुटेका छन् ।

धार्मिक, सांस्कृतिक तथा औषधिजन्य मह्तव बोकेका रैथाने बाली लोप हुने संघारमा पुगेपछि तनहुँको भानु नगरपालिका-९ बाइसजागरमा सामुदायिक बीउ बैंक संचालन गरी कृषकले रैथाने बाली संरक्षण गर्न थालेका छन् ।

बीउ बैंकमा स्थानीय तथा आसपासका क्षेत्रका करिब १० जातका १४० प्रजातिका रैथाने बाली संरक्षण गरिएको स्थानीय कृषक तथा सामुदायिक बीउ बैंक नेपालका अध्यक्ष सीताराम बजगाईंले बताए । उनले भने, ‘तेलहन, दलहन, नगदे, जरेबाली, लहरे, अन्नबाली, कोसेबाली, गेडागुडी गरी १ सय ४० भन्दा बढी प्रजातिका बीउविजन संरक्षण गरी राखेका छौं ।’
‘स्थानीय रैथाने बाली लोप भए जैविक विविधतामा समेत ठूलो प्रभाव पर्छ’, उनले भने, ‘वातावरणीय प्रभावदेखि नयाँ जात निकाल्न र कुनै उन्नत जातबाट भयावह संक्रामक रोग लाग्यो भने त्यसबाट बच्नलाई पनि हाम्रा स्थानीय बाली संरक्षण गर्न आवश्यक पर्छ ।’

उत्पादन कम हुने हुँदा किसान रैथानेबाली भन्दा उन्नत जातका बालीमा बढि आकर्षित हुने बताउँदै उनले भने, ‘यी अधिकांश उन्नत जातका बालीका बीउविजन बहिरी मुलुकबाट आयात हुन्छन ।

कुनै कारणले बाहिरी मुलुकबाट बीउ आयत हुन सकेन भने हाम्रा खेतबारी बाँझिन सक्छन् । यस्तो अवस्थामा हाम्रै वातावरण, हावापानी सुहाउँदो रैथाने बालीको आवश्यक पर्छ । त्यसैले बीउ बैंक स्थापना गरी संरक्षण अभियान चलाएका छौं ।’

२०६२ मा बीउ बैंक स्थापना गरी बीउको संरक्षण, सुरक्षित भण्डारण तथा कृषकलाई बीउ वितरणका लागि २ कर्मचारी राखिएको छ । उनीहरूले केही बीउ प्रदर्शनीमा राख्ने र केही बीउ इच्छुक कृषकलाई उत्पादनका लागि दिने गर्छन् ।

‘हामीले यहाँ स्थानीय जातका बीउ मात्रै राख्छौं,’ कर्मचारी ऋषिराम पौडेलले भने, ‘बीउलाई कुनै पनि विषादी प्रयोग नगरी बीउमा किरा नलागोस् भनी समय-समयमा सुकाएर हावा नछिर्ने भाडामा राख्छौं ।’

कृषकलाई उत्पादनका लागि रैथाने बाली दिने गरेको उनले बताए । पौडेलले भने, ‘उत्पादन गरेर बीउ फिर्ता गर्ने सर्तमा कृषकहरू बीउ बैंकमा आएर रैथाने बालीको बीउ लिएर जानुहुन्छ ।

रैथाने बालीको उत्पादन बढाउनका लागि हामीले पनि हिउँदमा किरब ४५ रोपनी क्षेत्रफल जमिन भाँडामा लिएर बीउका लागि खेती गर्ने गरेका छौं ।’
बीउ बैंकमा धान, घैया, मकै, कोदो, जौ, फापर, धान, कोदो चिनो, कागुनो, जुनेलो, बोडी, मास, मस्याङ, भटमास, रहर, बकुल्ला सिमी, केराउ, गहत, पिडालु, ओल, तरुल, फर्सी, घिरौला, लौका, चिचिन्डो, कुबिन्डो, काँक्रो, तिरइ, तिल करेला, भिन्डी, साग, तिल, आलस, सर्सयुँ, तोरी, अदुवा, बेसार, खुर्सानी, सुपलगायत रैथाने बालीको बीउविजन संरक्षण गरी राखिएको छ ।

यस्तै, रैथाने बालीको बजारीकरण राम्रो नहुँदा यसको उत्पादन घटेको आँबुखैरेनी-२ मार्कीचोकका सोलबहादुर चितौरे मगर बताउँछन् । उनले भने, ‘उन्नत जातका बीउको तुलनामा उत्पादन पनि कम हुने र बजारीकरण पनि सहज नहुने हुँदा कृषकहरूले रैथाने बाली छाड्दै आएका छन् ।’

जेठोबुढो, रातोअनादी, मसिनो, घैयालगायत बाली लगाउने गरेका उनले भने, ‘लागत बढी उत्पादन कम हुने र बजारीकरण पनि राम्रो नहुदा रैथाने बाली लगाउन छाडेका थियौं । अहिले घरायसी प्रयोजनका लागि मात्रै थोरै मात्रमा घैया लगाउने गरेको छु ।’

स्थानीय हावापानी सुहाउँदो, गाईवस्तुका मल प्रयोग गरी विषादीरहित रैथाने बाली स्वास्थ्यको हिसाबमा पनि उत्तिकै फाइदाजनक छ । रैथाने बाली बढी लागतमा कम उत्पादन हुने गर्छ ।

मिहिनेतअनुसारको उत्पादन नहुँदा कृषकहरू कम लगानीमा बढी फाइदा लिन खोज्दा रैथाने बाली लोप हुन पुगेको भानु-८ बगालेफाँटका कृषक फडिन्द्र बगालेले बताए ।
‘पछिल्ला समय बजारी क्षेत्रमा बासमती चामल, जेठोबुढो, कालो मसिनो, रातोअनादी, फापर, कागुनोलगायतको माग बढ्न थालेको र कृषकहरू रैथाने बाली संरक्षणमा लागि परेका छन् । उनले भने, ‘सरकारले पनि हाम्रा स्थानीय रैथाने बाली संरक्षणमा ध्यान दिँदै प्रत्येक पालिकामा कम्तीमा एउटा बीउ बैंक सञ्चालन गरी बीउविजन संरक्षण गर्ने कार्य भएमा हाम्रै हावापानी सुहाउँदो खेतीबालीका बीउविजन संरक्षण हुने थिए ।’

नेपालमा अहिले रैथाने बालीका बीउविजन संरक्षणका लागि २३ वटा बीउ बैंकहरू सञ्चालनमा रहेको सामुदायिक बीउ बैंक नेपालका अध्यक्ष सीताराम बजगाईले बताए । हाम्रो हावापानी सुहाउँदा परम्परागत बालीको बीउ संरक्षण गर्नु अति आवश्यक भएकाले यस अभियानमा हामी लागि परेको अध्यक्ष बजगाईले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker