कानूनभन्दा बाहिर गएर कुनै निर्णय गरेको छैन : अध्यक्ष ओली

भक्तपुर : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानूनभन्दा बाहिर गएर कुनै निर्णय नगरेको बताउनुभएको छ ।
आज नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी सङ्गठनले भक्तपुरमा आयोजना गरेको बृहत् जिल्ला भेलामा बोल्दै उहाँले विगतमा आफूले नेतृत्व गरेको सरकारको पालामा कानून पल्टाएर मात्रै निर्णय गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, “सुन तस्करीलगायतका अनगिन्ती भ्रष्टाचारका काण्ड छोप्न एमालेले भ्रष्टाचार ग¥यो भनेर विषयवस्तुलाई अन्तै मोड्न खोजिँदैछ, मलाई कानूनले हतकडी लगाउन सक्ने कुनै ठाउँ राखेको छैन । म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री र गृहमन्त्री हुँदा मेरा काम कारबाही एक शब्द नचिप्लियोस् भनेर मैले कानूनका पाना पल्टाइपल्टाइ निर्णय गरेको छु त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सकिन्छ, हतकडी लगाउन सकिन्छ भनेर नसोचे हुन्छ ।”
आफू देश बनाउने अभियानमा अगाडि बढिरहेको भन्दै उहाँले विरोधीले आफूलाई माकुराको जालो बुनिरहेको टिप्पणी गर्नुभयो । “अहिलेको भ्रष्टाचार ढाकछोप गर्न झापाको टि स्टेटको कुरा निकाल्दै छन्, हेरे हुन्छ, त्यति खेर ७० बिघा जग्गा कसको पालामा बिक्री भएको हो, जथाभावी गर्नुहुन्न भनेर त्यसपछि मैले नियम बनाइदिएको छु, त्यसैले रोकिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले मलाई फसाउन नसोचे हुन्छ, माकुराको जालोमा कहिल्यै भैँसी पर्दैन, त्यस्ता जालो न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ ।”
झुठो आरोपमा आफूलाई कसैले गोली हान्न सक्छ तर त्यसमा मलाई कुनै आपत्ति छैन भन्दै उहाँले पञ्चायकालमा हँुदै नभएको दोष लगाएर जेलमा १० वर्ष भुक्तान भइसके पनि विभिन्न बाहना बनाएर थप चार वर्ष राखे जस्तैको समय र बेला अहिले होइन भन्नुभयो ।
अहिले जातजाति, भाषाभाषी, धर्म र संस्कृतिका नाममा नेतृत्वमा रहेकाले नै जनता जुधाएर ताली बजाउन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, “नुवाकोटमा वर्षको एक पटक गोरु जुधाइन्छ, विचरा ती गोरुहरूबीच कुनै द्वन्द्व हुँदैन, झगडा हुँदैन तर बाँधिरहेको ठाउँबाट फुकाएर ल्याएर त्यहाँ जुधाइन्छ, र सिङ त्यो गोरुको भाँचिन्छ, पीडा त गोरुलाई हुन्छ, जुधाउने माथि ताली बजाएर रमाइलो लिन्छन्, अहिले तिनै बाहुनले जनतालाई जुधाएर, देशका साम्प्रदायिक द्वन्द्व फैलाएर मनोरञ्जन लिइरहेका छन्, यसतर्फ जनता सचेत हुनुपर्छ ।”
उहाँले देशमा सामाजिक एकता भड्किन कुनै गतिविधि गर्न दिन नहुने बताउँदै कोशी प्रदेशमा अहिले जनजातिहरू भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको बताउनुभयो । उहाँले सुन तस्करी प्रकरणको तत्काल छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न एमालेले माग गरे पनि सत्ता पक्षले डराएका एक महिनापछि मात्रै छानबिन गर्ने गरी सहमति गरेको बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज कैलाश ढुङ्गेल, एमाले केन्द्रीय सदस्य एवं नेपाल राष्ट्रिय भूपूसैनिक तथा प्रहरी सङ्गठनका इन्चार्ज यज्ञराज सुनुवार र सङ्गठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेले देशको सार्वभौम सत्ताको रक्षा, देशको हकहितका लागि जस्तोसुकै बलिदानी दिन परे पनि पछि नहट्ने बताउनुभयो ।
कार्यक्रममा सङ्गठनका जिल्ला अध्यक्ष रञ्जन खड्काले सङ्गठनको वर्तमान अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्दै भूपूसैनिक र प्रहरीले अवकासपछि पनि देशको लागि योगदान गर्ने र देश विकासका लागि सधैँ अग्रसर रहने बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker