तीन शताब्दी अघिको इतिहासलाई संस्कृतिमार्फत जीवन्तता दिंदै

वासुदेव पौडेल/गण्डकी

पोखरा महानगरपालिका-३३ स्थित आँपु भञ्ज्याङ, लामगादी क्षेत्र पुरानो नेवारी बस्तीमा पर्छ । अहिले बसोबास पुस्ता छैँटो पुस्ता हो । पुस्ता गणनाकै आधारले पनि यस ठाउँमा नेवार समुदायको इतिहास तीन सय वर्षभन्दा पुरानो रहेको स्थानीय समाजसेवी एवं भीमसेन नेवा खलः आँपुभञ्ज्याङ लामगादीका अध्यक्ष लीलबहादुर श्रेष्ठको भनाइ छ ।

“आँपुभञ्ज्याङ, लामगादी बस्तीको मुख्य भागमा परापूर्वकालदेखि नेवार समुदायको बस्ती थियो”, उहाँले भन्नुभयो, “सुविधाको खोजीका साथै अन्य विभिन्न कारणबाट नेवार समुदायका व्यक्ति बसाइँ र्सर्दै गएपछि यहाँका बस्तीमा शून्यता छाउन थालेको हो ।” बस्तीमा नै शून्यता छाउन थालेपछि प्राचीन मौलिक संस्कृति पनि हराउने चिन्तासँगै आफूहरू ती संस्कृतिको माध्यमबाट मौलिकता बोकेको इतिहासलाई बचाउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

नेवारी संस्कृतिकै महत्वपूर्ण उदाहरणका रुपमा यहाँ प्राचीनकालदेखि नै नचाइने यहाँको तायःमचाः नृत्यले कास्कीमा मात्र नभइ स्याङ्जा, तनहुँलगायतका जिल्लामा पनि चर्चा पाएको थियो । आँपुभञ्ज्याङमा देखाइने नाच हेर्नका लागि स्याङ्जाको टक्सारदेखि तनहुँको दुलेगौडा, तनहुँको राइपुरलगायतका स्थानमा मानिस पनि आउने गर्दथे ।

पछिल्लो समयमा सुस्ताउँदै गएको यहाँको तायःमचाः नृत्यलाई स्थानीय युवाको सक्रियतामा पुनः अघि बढाउन खोजिएको छ । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ पछिल्ला वर्षमा नेवारी परम्परा, संस्कृति, वेषभूषाको पहिचान एवं प्रवर्द्धन गराउने उद्देश्यका साथ विगत केही वर्षता भीमसेन नेवा खलःको आयोजनामा तायःमचाः नृत्य प्रतियोगिता समेत गरिँदै आइएको अर्का स्थानीय बलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

आँपुभञ्ज्याङमा विगत आठ वर्षयता तायः मचाः नृत्य प्रतियोगिता गरिँदै आइएकोमा बीचका दुइ वर्ष कोरोनाका कारण त्यसलाई निरन्तरता दिन नसकिएको उहाँको भनाइ छ । यसवर्ष श्रीकृष्ण जन्माष्टमीका अवसरमा यही भदौ २० गते छैठौं संस्करणको लेखनाथस्तरीय तायः मचाः नृत्य प्रतियोगिता गर्न लागिएको उहाँले बताउनुभयो । पछिल्ला समयमा तायः मचाः नृत्यसँगै नेवारी संस्कृतिप्रति युवाको चासो र सक्रियता बढ्दै गएको बताउँदै उहाँले यसले संस्कृतिका माध्यमबाट मौलिक इतिहासको जगेर्ना हुने विश्वास लिइएको बताउनुभयो ।

पछिल्ला समयमा नेवारी संस्कृतिको जगेर्नाका लागि साविकको लेखनाथ नगरपालिका क्षेत्रमा लेखनाथ नेवा खलः र पोखरामा नेवाःखलले विशेष सक्रियता देखाउँदै आएका छन् । पोखरामा प्रस्तुत गरिने तायः मचाः अवलोकन गर्न छिमेकी जिल्ला पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, लमजुङ, मनाङ, स्याङ्जा, तनहुँ लगायत जिल्लाबाट समेत मानिस आउन थालेका कारण यसको चासो चर्चा अझै चुलिएको हो ।

भीमसेन नेवाः खलःले तायः मचाः नृत्य प्रतियोगितासँगै नेवारी संस्कृतिमा आधारित कुमारी नृत्य, तायाः मचा नृत्य, लाखे नाच, धान रोपाइँ नृत्य, धिमे बाजाका साथै नेपाली संस्कृतिमा आधारित विभिन्न नृत्यसमेत प्रदर्शनको तयारी गरेको छ । तायः मचाः नृत्य प्रतियोगिताका विजयी प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु ३० हजार, रु २५ हजार, रु २० हजार र रु आठ हजार नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट गरी तथा जोकरलाई रु दुइ-दुइ हजार नगद प्रदान गरिने छ ।

प्राचीन संस्कृति युवा पुस्ता माझ पुर्‍याउन जरुरी रहेको लेखनाथ नेवा खलः का अध्यक्ष भैरवलाल श्रेष्ठले बताउनुभयो । नेवारी संस्कृतिको जगेर्नाका लागि साविक लेखनाथ क्षेत्रमा नेवार समुदायका विभिन्न आठवटा इकाई सक्रिय रहेको र प्राचीन संस्कृतिको जगेर्नाका लागि पहल भइरहेको उहाँको भनाइ छ ।

पोखरा आसपासका साथै मुख्य बजार क्षेत्रका भीमसेनटोल, भैरवटोल, रामकृष्णटोल, बाघबजार, मोहरियाटोल, बगालेटोल, रानौपौवा, महेन्द्रपुल, पालिखेचोक, गणेशटोल लगायत ठाउँमा नेवारहरूको बाक्लै बस्ती छ । पछिल्ला समयमा यहाँका नेवार समुदायले तायःमचाःका साथै १८औं शताब्दीदेखि प्रचलनमा आएका विभिन्न नृत्य प्रदर्शन गर्दै आएका छन् ।

पृथ्वीनारायण शाहले राज्य गर्नुभन्दा पहिले पोखरामा नेवार समुदाय भक्तपुरबाट आएर बसोबास गरेको र हाल पोखराको बजार क्षेत्रमा मात्रै नेवार समुदायको संख्या करिब २५ हजार रहेको अनुमान छ । नेवारी परम्परागत धिमे बाजाको संस्कृतिलाई जोगाउनकै लागि लेखनाथ क्षेत्रका नेवारी समुदायका युवा पुस्तालाई तालिम दिएको बताउँदै उहाँले हालै गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा सिसुवामा ४० जनालाई एक महिने धिमे बाजा तालिम दिइएको जानकारी गराउनुभयो।

नेवारी भाषाको जगेर्नाका लागि लेखनाथ नेवाः खलकै आयोजनामा भाषा तालिम पनि गरिएको थियो । पछिल्ला युवा पुस्तालाई प्राचीन संस्कृतिबारे जानकारी गराउन नसकिएमा त्यसले भावी दिनमा हाम्रो प्राचीन मौलिकता नै हराउने अवस्था रहेको अर्का नेवाः अगुवा नरबहादुर श्रेष्ठ बताउनुहुन्छ । इतिहासको जगेर्नाका लागि प्राचीन संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker