श्रद्धा नै श्राद्ध हो ?

देव वस्न्यात

१, विषय प्रवेश

चेतनामय शरीरलाई जीवित शररीर भनिन्छ । चेतना नभएको भौतिक शरीर ढुङ्गामाटो सरहको थुप्रोलाई एक भौतिक बस्तु मात्र हो । अर्को शब्दमा यस्लाई मरेको भनिन्छ । मानिसहरु जन्मनु, तन्देरी हुनु, बूढ्यौली हुनु र मर्नु भनेको जीवित प्राणीहरुको भौतिक शरीरमा आएको परिवर्तन मात्र हो । हामीले लगाएको कपडा जस्तै मानिसको शरीर आत्माको बाहिरी आवरण मात्र हो । आत्मा शाश्वत सनातन भएकाले यस्को जन्म र मरणको सवाल नै आउँदैन । हामी पुरानो तथा च्यातिएको कपडा फेरेर जसरी नयाँ कपडा लगाउने गरिन्छ त्यसरी नै हाम्रो शरीर भित्र डेरा जमाएको आत्माले पनि हाम्रो पुरानो र जीर्ण भएको बूढ्यौली घर परिवर्तन गरेर नयाँ घर वरण गरेको मात्र हो । पुरानो भौतिक शरीर त्याग गर्ने दृश्यलाई नै हामी मरेको भन्ने गरेका छौं । जीवात्माको आत्माले भौतिक शरीरले त्याग गरे पछि भौतिक शरीरलाई गाडेर, पोलेर वा मृतक शरीरलाई टुक्राटुक्र पारेर पशुपंक्षीको भोजन सामाग्री बनाएर मृत शरीरको सतगत् गर्ने गर्दछौं । मृतककै सम्झनामा हरेक वर्ष श्रद्धापूर्वक गरिने कार्यलाई नै श्राद्ध भनिन्छ । यस विषयलाई लिएर सह प्रा.डा. माधवप्रसाद पाण्डेय “श्राद्ध नगरे आफ्नै सन्तान र वंशलाई हानी हुन्छ ।”
आखिर श्राद्ध के हो ? श्राद्ध किन गर्नु पर्छ ? श्राद्धको के महत्व छ ? यस्ता जिज्ञासाहरू हरेक जिज्ञासुहरूमा रहन सक्दछन । यिनै जिज्ञासाहरुलाई लिएर वर्णन गरिएका केही शास्त्रीय वचनहरू र तिनका अर्थ बुझाउनु पनि सबैको दायित्व हो । ब्राहृमण क्षत्री वंशमा प्राय सबैले सोह्रश्राध्द गर्छन तर श्रीपाली बस्न्यातहरु सोह्र श्राध्द किन गर्दैनन यस बारे पनि खुलस्त पार्नै पर्दछ ।

२, श्राद्ध श्रद्धा हो :

श्राध्य के हो ? श्राद्ध किन गर्नु पर्छ र यस्के के महत्व छ ? भन्ने जिज्ञासाहरु हरेक जिज्ञासुहरुमा रहन सक्दछन् । तिनै जिज्ञासुहरुको जिज्ञासा मेटाउने उद्देश्यले यो लेख तयार गरिएको हो । हाम्रा पूर्वीय शास्त्रहरुमा श्राद्धबारे पुराण तथा स्मृतिहरुले व्यक्त गरेका परिभाषा र शास्त्रीय विवेचनात्मक वर्णनहरुलाई पाठक समक्ष प्रस्तुत गर्ने जमर्को मात्र हो । वास्तवमा जीवित व्यक्तिहरु र मृतकहरूको बीचको सम्वन्धलाई अमर कायम राख्न जीवितहरूद्वारा मृतकहरूको सम्झनामा श्रद्धापूर्वक गरिने पूजानै श्राद्ध हो । बाँच्दा श्रद्धा नगर्ने तर मरेपछि श्राद्ध गर्ने परम्परा न्यायोचित ठहरिंदैन। मुत्युपर्यन्त पनि मानिसको आत्मा यसै संसारको वायुमण्डलमा नै यात्रा गरिरहने भएकाले मृतआत्मालाई पवित्र वासस्थान र सात्विक भोजन मिलोस भन्नाकै खातिर र मृतआत्माको प्रकृतिका विविध पक्षहरुसित जीवितहरुको घनिष्ठता कायम रही रहोस भन्नाका खातिर श्राद्ध गर्ने गरिएको हो। अर्थात भौतिक रुपमा परिवारका सदस्यहरु मरेर गए पनि आध्यात्मिक रुपमा परिवारका सदस्य बनिरहुन भन्ने ध्येयले पुरोहितको माध्यमले परिवारको मृतसदस्य तथा जीवित व्यक्ति बीचको सम्बन्ध कायम गर्न श्राद्ध गर्ने गरिएको हो भन्दा अत्युक्ति नहोला । यस्ले मानवीय रक्त सम्बन्धको साथ साथै भावनात्मक सम्वन्धलाई पनि चिरस्थायी राख्न मद्दत गर्दछ । वास्तवमा भौतिक रुपमा परिवारका सदस्य रहे पनि या नरहे पनि आदर्श पुरखाहरुलाइ देवता स्वीकारी आध्यात्मिक रूपमा पूजा गर्ने प्रणाली हाम्रो मुल इतिहासको स्मारक हो । विशेषत हाम्रो समाजमा वार्षिकी श्राद्ध र सोह्रश्राद्ध (महालय श्राद्ध) समेत प्रत्येक वर्ष २ पटक श्राद्ध गर्ने परम्परा रहेको छ । हुन त मानिसको अन्नमय शरिर दाहसंस्कार गर्न साथ समाप्त हुन्छ । भौतिक शरिरलाई मात्र खाना चाहिन्छ । अभौतिक तथा स्थुल शरिर समाप्त भइ बनेको सुक्ष्म शरिरलाई  पनि भोक प्यास रहँदैन । शुक्ष्म शरिर विचार, चेतना, र भावनासङ्ग सम्बन्धित हुनाले पिण्ड दिइरहन पर्दैन । खासमा पितृहरुलाई तर्पण नै काफी मान्ने गरिन्छ । तर हाम्रो समाजमा  पिण्ड प्रणालीले जरोगाडेर बसेको पाउँदछौं ।

३, श्राध्दबारे पुराणहरु के भन्छन् ?

श्राद्ध के हो त ? श्राद्धबारे हाम्रा पुराणहरु के भन्छन एक पटक नियालेर हेर्न पर्दछ ।
(१) ब्रहृमपुराण : अनुसार सही समयमा, सही स्थानमा, सही विधिविधानले पितृहरुका लागि गरिने “श्रद्धापूर्वक कार्य नै” श्राध्द हो ।
देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विर्प्रभ्यो दत्तंश्राद्धमुदाहृतम् ।।” 
(२) मार्कण्डेय पुराण : अनुसार श्राद्धले आफ्ना अनुष्ठाताहरूको आयु बढाउँछ, पुत्र प्रदान गरेर कुलपरम्परालाई अ्क्षुग्ण राख्दछ, स्वर्ग प्रदान गर्दछ, कीर्ति बढाउँछ, शरीरमा स्वस्थता पुष्टता एवं बल पौरुषको सञ्चार गर्दछ, यशबिस्तार गर्दै श्रीसम्पत्ति, धनधान्य श्रीसम्पती समृद्धि ऐश्वर्य सहित सबै प्रकारका सुखप्रदान गर्दछ ।
“आयुः प्रजांधनं विद्यां स्वर्ग मोक्षंसुखानि च ।
प्रयच्छन्ति तथा राज्यंपितरः श्राद्धतर्पिताः ।।”
(३) आदित्यपुराण अनुसार जुन अज्ञानी मानिसहरूले आफ्ना दिवङ्गत पितृहरूको श्राध्द गर्दैनन् तिनका पितृहरूले आफुनै वंशहरूको रगत पिउने गर्दछन् ।
“न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः।
श्राद्धं न कुरुते तत्र तस्य रक्तंपिवन्ति ते।।”

(४) श्राद्धबारे स्मृतिहरु के भन्छन् ?

१, उचित स्थानमा उचित समयमा उचित पात्रमा हविष्यादि वस्तुद्वारा विधिपूर्वक तिल, जौ, कुश तथा मन्त्रहरूले युक्त भएर जुन कर्म श्रद्धापूर्वक गरिन्छ त्यही कर्मलाई श्राद्ध भनिन्छ ।
“देशे काले च पात्त्रे च विधिना हविषा च यत्।
तिलैः दर्भैश्च मन्त्रैश्च श्राद्धंस्याच्छद्धया युतम्।।”
२, यमस्मृति अनुसार : जुन कुलपरम्परामा श्राद्ध परित्याग गरिएको छ त्यस्तो कुलमा वीरहरू, निरोगी र लामो आयु भएका जन्मदैनन्। त्यसैकारण हरेकले आ-आफ्नो सामर्थ्य अनुसार श्राद्ध गरून्
“आयुःपुत्रान् यशःस्वर्गं कीर्ति पुष्टिं बलं श्रीयम् ।
पशून् सौख्यं धनंधान्यं प्राप्नुयात्पितृपूजनात् ।।”
(३) विष्णुस्मृति अनुसार श्राद्ध गर्नाले पितृहरु नरकबाट उन्मुक्ति प्राप्त गर्दछन् ।
श्राद्धमेतद् न कुर्वाणो नरकंप्रतिपद्यते 

५) श्राध्दबारे विद्वानहरु के भन्छन् ?

१, देवगुरु वृहस्पति र ऋषि पुलस्त्यका अनुसार जुन कर्म पितृगणको उद्देश्य राखी दूध, घिउ, महयुक्त सुसंस्कृत उत्तम व्यञ्जन श्रद्धापूर्वक ब्राम्हणादिमा प्रदान गरिन्छ त्यसैलाई श्राद्ध भन्दछन् ।
“संस्कृतं व्यञ्जनाद्यं च पयोमधुघृतान्वितम् ।
श्रद्धया दीयते यस्माच्छ्राद्धं तेन निगद्दयते ।” (वृहस्पति-पुलस्त्य)
२, महर्षि याज्ञवल्क्यका अनुसार जुन व्यक्तिले विधिपूर्वक शान्त चित्त भएर श्राद्ध गर्दछ त्यो व्यक्ति पापरहित भइ मुक्ति प्राप्त गर्दछ र पुनः संसार चक्रमा फर्कदैन ।
“आयुःप्रजांधनं विद्यां स्वर्गंमोक्षं सुखानि च ।
प्रयच्छन्ति तथा राज्यंप्रीता नृणां पितामहाः।।”

६) श्राद्धबारे श्रीमद्भागवत गीता के भन्छ ?

श्री मद्भागवत गीता चारै वेदहरुको सार हो । जे गीतामा छ सबैमा छ जो गीतामा छैन त्यो अन्त कहीं छैन । कुरुक्षेत्रमा सुरु हुन लागेको महाभारतको लडाइमा भगवान शिवका आज्ञाले श्रीकृष्णले अर्जुनलाई सुनाएका थिए सोही गीतामा पितृहरुको श्राद्ध सम्बन्धमा अध्याय नौ को २५औ श्लोकमा यस्तो लेखिएको छ ।
यान्ति देवव्रता देवान् पितृन यान्ति पितृव्रता ।
भूतानी यान्ति भूतेज्या यान्ति मद्याजिनो˜पिमाम् ।।।९।२५
जो मानिस देव भक्तछन् उनीहरु देवलोक प्राप्त गर्दछन् । देवताहरु इन्द्रियका अधिष्ठाता हुन । देवताको उपासना गरेमा यस लोकमा ऐश्वर्यको सुख भोग र परलोकमा देवलोक प्राप्त गरी देवता भएर रहन पाउँछन् । जो पितृभक्त छन् श्रद्धापूर्वक पितृहरुको तर्पणविधिद्वारा पितृहरुको उपासना गर्दछन भने उनीहरुले पितृलोक प्राप्त गर्दछन् । जो भूतको उपासना गर्दछन तिनीहरु जरामरण सकल भूतलोक प्राप्त गर्दछन् । पटक पटक भौतिक जगत भोगका लागि फर्की रहन्छन् । सबै छाडेर जो आत्म चैतन्यको उपासना गर्दछन् । उनीहरुको मृत्युको समय ब्रहृम नाडी दिप्त हुन्छन् ती ब्रहृम रश्मिद्वारा उद्भासित मार्गबाट प्रयाण गरी ब्रहृमलोकमा गमन गर्दछन् । त्यहाँ ब्रहृम सायुज्य लाभ प्राप्त गरी ब्रहृम लोकमा गमन गर्दछन् र त्यहाँ ब्रहृम सायुज्य लाभ प्राप्त गरी ब्रहृम चैतन्यका साथ एक हुन्छन । जो अहं पदवाच्य आत्माको उपासना गर्दछन् । ती परमानन्द रुप आत्मा भइ जान्छन । जो मलाई भज्दछन् । मलाईनै प्राप्त गर्दछन् । यसै गरी गीताकै नवौ अध्यायको सत्रौं श्लोकमा भगवान श्री कृष्ण अर्जुनलाई यसरी व्यक्त गर्न भएको छ ।
पिताहमस्य जगतोमा धाता पितामहः । 
वेद पवित्र मोद्रार ऋृक्सामयजुरेव चः ।।९।।१७।।
“जगतको पिता ब्रहृम म हुँ । जुन बस्तु मबाट सृजित भएको छ, म त्यसको रक्षा गर्दछु । मेरो कारण नै यो शरिर ॐकार रुप हुन्छ । यस संसारको पवित्र बस्तु म नै हुँ । जहाँ ऋक, यर्जु र साम तीने वेद मिलेर अथर्व वेद हुन्छ । त्यहाँ चारैतिर म नै म हुन्छु । जगतको पिता म हुँ । सारा संसारका, चराचर जगत जीवको सृष्टिकर्ता नै म हुँ । म नै यस विश्वको माता पिता हुँ । यो जगतको रक्षा गर्ने म नै विधाता हुँ। म पितामह अर्थात ब्रहृमा विष्णु महेश्वरको पनि पिता हुँ । म नै संसारको उत्तम पुरुष हुँ । यसैले त हरेक आत्माहरुको परमात्मा हुँ ।”

७) श्राद्ध गर्न सामान केही पनि नभए के गर्ने ?

हे पितृगण ! मसङ श्राद्धका लागि उपयुक्त धनधान्यादि केही पनि छैन, केवल श्रद्धा र भक्ति मात्र छ । यही श्रद्धा एवं भक्तिद्वारा म यहाँहरूलाइ तृप्त तुल्याउन चाहन्छु, तृप्त हुनुहोस्, शास्त्रको आज्ञा अनुसार मैले दुवै भुजालाई आकाशमा उठारहेको छु ।
न मेऽस्ति वित्तं न धनंचनान्यच्छ्राद्धोपयोग्यं स्वपितृन्नतोऽस्मि । 
तृप्यन्तु भक्त्या पितरो मया एतौ कृतौभुजौ वर्त्मनि मारुतस्य । (विष्णुपुराण)
जसरी कुनै आमाले गर्भपोषणका निम्ति अरुद्वारा दिइएको अन्न उपभोग गरी स्वयंतृप्त हुन्छिन् र आफ्नो गर्भस्थ शिशुलाई पनि तृप्त तुल्याउँछिन् त्यसैगरी देवदत्तादि पितृवर्ग, पिता, पितामह, प्रपितामह आदिले क्रमशः वसु, रुद्र र आदित्य रूपका अधिष्ठातृ देवता मानी पुत्रादिले श्राद्ध गर्दा ती बसु आदिअधिष्ठातृ देवताहरूले पुत्रादिद्वारा दिइएको जल, अन्न पान गरी स्वयं तृप्त हुन्छन्। देवदत्त आदि पितृहरूलाइ पनि तृप्त तुल्याउदछन् । श्राद्धकर्ता पुत्रादिहरूलाइ पनि आयु, सन्तान, धन, विद्या, मोक्ष, सुखादि प्रदान गरेर प्रत्युपकार गर्दछन।
यथा गर्भपोषणायान्नदत्तेन संयोजयन्ती (मिताक्षरा-याज्ञवल्क्य)
यस संसारमा श्राद्ध भन्दा ठूलो अर्को कल्याणकारी उपाय कुनै छैन, त्यसैकारण बुद्धिमान् पुरुषले यत्नपूर्वक श्राद्ध गर्नैपर्छ । श्राद्ध नगर्नेहरूका लागि प्रत्यवाय लाग्ने बचनहरू
श्राद्ध नगर्नेलाई नरक प्राप्त हुन्छ ।
व्यक्तिले भक्तिसाथ शाकद्वारा मात्र भए पनि श्राद्ध गरून् । यदि गरिवीका कारण श्राद्धकर्तासङ्ग कुनै  सामग्री छैन भने पनि एकान्तमा गइ हातका दुवै भुजा आकाशमा  उठाएर यो मन्त्रले प्रार्थना गरून् :

८) आश्विन कृष्णपक्षमा नै सोह्रश्राद्ध किन गरिन्छ ?

भारतीय उपमहाद्वीप पृथ्वीको उत्तरी गोलार्धमा पर्दछ । आकाश मण्डलको उत्तरी क्षेत्र देवताको र दक्षिण क्षेत्र पितृलोक हो । पृथ्वीको उत्तरी क्षेत्रमा सूर्य र दक्षिण क्षेत्रमा चन्द्रको अधिक प्रभाव रहने गर्दछ । आफ्ना तीन पुस्तासम्मका पितृहरुलाई पूर्णिमा तिथिका दिनदेखि कृष्ण पक्ष भर र आश्विन शुक्लपक्षको परेवा तिथिका दिनसम्म तर्पण दिएमा पितृ तृप्त भएर आफ्ना वंशधरहरुलाई आर्शिवाद दिने गर्दछन् । त्यसैले पितृ आर्शिवाद प्राप्त गर्नका लागि श्राद्ध गर्ने परम्पराका बसेको हो। विशेष गरेर अविवाहितहरुको श्राद्ध आश्विन कृष्णपक्ष तिथिमा, आमाको श्राद्ध नवमी एवं दशमी तिथिमा सन्यासधारण गर्नेहरुका लागि एकादशी एवं द्वादशी श्राद्ध र अकालमा मर्नेहरुको लागि चर्तुदशी तिथिमा श्राद्ध गर्ने प्रचलन रहेको छ ।
हाम्रा पूर्विय धर्मशास्त्र अन्तर्गतको ज्योतिषविद्या अनुसार पनि पितृदेवताहरु भाद्रशुक्ल पूर्णिमाका तिथिसम्ममा चन्द्रलोक र पृथ्वीको एकदमै नजिक भएर पृथ्वीलोकको उत्तरी गोलार्धबाट दक्षिण गोलार्धमा विचरण गर्न पुग्दछन। भाद्रशुक्ल पूर्णिमाको दिनदेखि असोज कृष्ण पक्षको परेवा तिथिसम्म हाम्रा पितृहरु पनि चन्द्रलोकको माध्यमबाट दक्षिण दिशामा आफ्नो मृत्यु तिथिको पावन अवसरमा आफ्नो घरको ढोकासम्म पुग्ने गर्दछन भन्ने जनविश्वास पनि पाइन्छ । आफ्ना वंशजहरुबाट सम्मान पाएर पितृहरु प्रसन्न हुँदै आफ्ना नयाँ पिढीहरुलाई आशिर्वाद दिएर पितृलोक र्फकने गर्दछन। यसैले पनि आश्विन कृष्ण पक्षलाई पितृपक्ष तथा नेपालीमा सोह्रश्राद्ध भन्ने गरिएको हो ।

९) श्रीपाली बस्न्यातहरु सोह्र्रश्राद्ध किन गर्दैनन् ?

श्रीपाली बस्न्यातहरु भाद्रशुक्ल प्रतिपदा दिनदेखि कुलदेवता तथा पितृहरुलाई आव्हान गर्दै भाद्रशुक्ल पूर्णिमाका दिन कुलपूजा गर्दछन् । कुलपूजा गर्दा पितृहरुलाई पनि सम्झने परम्परा रहेको छ । श्रीपाली बस्न्यातहरु प्रकृति प्रेमी हुन । प्रकृति प्रेमी भएकाले बस्न्यातहरु प्रतक्ष्य देवतामा बाह्र सूर्य -बाह्र महिना), आठ वशु -पृथ्वी, पानी, आगो, वायु, आकाश, चन्दमा, सूर्य र नक्षत्र), एघार रुद्र (वायुतर्फ) प्राण, अपान, व्यान समान, उदान; उपपायु तर्फ (नाग, कुर्म, करकल, देबदत्त र धनञ्जय, मन), इन्द्र (राजा) र प्रजापति (जन्मदाता बाबा र आमा अर्थात पितृ)को पूजा गर्दछन् । भाद्रशुक्ल पूर्णिमाको दिनदेखि सोह्रश्राद्ध सुरु हुने गर्दछ । यसैले श्रीपाली बस्न्यातहरु भाद्रशुक्लपक्षको पूर्णिमाको दिन आफ्ना कुलदेवताका साथै पितृहरूलाई यर्ज्ञकर्मका विधिविधान पूर्वक अग्निस्थापना गरी श्रद्धापूर्वक तर्पण, स्वाहा स्वाधा लगाएर हवनकार्य गरी पितृपूजा गर्ने गर्दछन । यही भाद्रशुक्ल पूर्णिमाको दिन गरिने पितृपूजाबाट पितृ र मष्टपूजाले कुलदेवता प्रशन्न हुने भएकोले सोह्रश्राद्ध गरीरहन पर्दैन । वास्तवमा मुत्युपर्यन्त पनि मानिसको आत्मा यसै संसारको वायुमण्डलमा नै यात्रा गरिरहने भएकाले मृतआत्मालाई बस्ने पवित्रस्थान र सात्विक भोजन सदैव मिलोस भनेर श्राध्द गर्ने परम्पराको सरुआत भएको हो । प्रकृतिका विविध पक्षसित निरन्तर घनिष्ठ सम्बन्ध कायम रहिरहोस भनी चाहना गर्ने पकृति तथा मष्टका उपासक श्रीपाली बस्न्यातहरूले स्वाहा स्वाधाका साथसाथै प्रकृति र पितृपूजा परम्पराको विकास गरेकोले सोह्रश्राद्धमा पिण्डदान गर्ने परम्पराको अन्त्य गरेको हुनुपर्दछ ।
अन्त्यमा 
सुक्ष्म रुपमा रहने प्रभु इन्द्रियादिको वशमा हुँदैनन । चित्तका कारण पनि धारण गर्न सकिंदैन । हामी भगवान शिवको अंश हौं। हामी पूनः पुनः जन्म मरणको चक्रमा आउन चाहंदैनौ । जन्म मरणबाट मुक्त भएर मोक्ष प्राप्त गर्न चाहन्छौ । मोक्ष प्राप्त  गर्न भगवानको नै तप ध्यान गर्नु पर्दछ । यदी हामीले भूतपिचासको पुजा गर्‍यौं भने भूतलोक, पितृ पुजा गर्‍यौं भने पितृलोक र देवताको पूजा गरे देवलोक प्राप्त गर्दछौं । हाम्रो कर्म अनुसारको फल भोगे पछि हामी पुन हाम्रो गन्तव्यस्थल पृथ्वीमा नै आउनु पर्दछ । भगवान प्राप्त गर्न भगवान शिवकै पूजा गर्नु पर्दछ । भगवान शिवकै स्मरण गर्न पर्दछ । पुन पुन जन्म मरणको चक्रमा नपर्ने हो भने, मोक्ष प्राप्त गरेर भगवानमा लीन हुने हो भने कर्मकाण्डीय श्राद्ध कार्य गर्न र गराउन हुँदैन । जगतका सृष्टिकर्ता, जगतकै पिता, जगतकै विधाता अर्थात ब्रहृमा, विष्णु, महेश्वरको पनि पिता ज्योतिस्वरुप हाम्रै पिता भगवान शिवजीको घरमा र्फकने कोशिश गरौं । प्रभु स्वयं ज्योतिस्वरुप रुपमा प्रकाशित हुनुहुन्छ भन्ने जाने पछि प्रभुमा लिन हुने कोशिश गरौं । हामी सदैव त्राणदाता ज्योतिस्वरुप भगवान शिवकै आराधाना गरौ । अस्तु।
वैदिकज्ञान मञ्च (धर्म) सम्बन्धी प्रश्न तथा छलफल गर्ने ठाउँ) । हरिःॐ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker