याम्पाफाँट दुग्ध उत्पादक सहकारीको साधारणसभा सम्पन्न
भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दिपुर गाउँपालिका-५ को याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले २७औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । गण्डकी प्रदेशका साँसद एवं नेकपा माओबादी केन्द्र गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमानले साधारणसभालाई सम्बोधन गर्दै विभिन्न ठाउँमा कृषि नमुना गाउँ, पकेट क्षेत्र, अनुदानको ब्यवस्था लगायतमा योजन निर्माण गरी कार्य भैरहेको र आगामी दिनमा समेत कृषि क्षेत्रलाई प्राथमिकता दिईने बताए ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दिपुरलाई कृषि र पर्यटनको माध्यमबाट चिनाउन गाउँपालिकाले महत्वपूर्ण योजनाहरु अघि सारेको बताए । उनले याम्पा क्षेत्र कृषि र पशुपालनका हिसाबले पकेट क्षेत्र रहेको हुँदा हाललाई यस क्षेत्र हेर्नका लागि एक जना पशु चिकित्सक नियुक्त गर्न लागिएको जानकारी दिए ।
संस्थाका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्वमा आयोजित कार्यक्रममा बन्दिपुर-५ का वडा अध्यक्ष ध्रुबप्रसाद लामिछाने, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेश चौधरी, निवर्तमान अध्यक्ष छबिलाल घिमिरे, पूर्व अध्यक्ष बिष्णु प्रसाद घिमिरे, आँधिमूल तरकारी उत्पादक सहकारीका अध्यक्ष राम प्रसाद तिवारी, नमूना कृषक काशीनाथ भट्टराइ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यस्तै, उक्त अवसरमा १५ जना कृषकलाई पुरस्कृत गरिएको थियो । संस्थामा सबैभन्दा बढी दूध बिक्री गर्नेहरु क्रमशः नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल, रमेश ढकाल, काशीनाथ भट्टराइ सुरज गाई फार्मका सुरज घिमिरे, रामनाथ भट्टराइ ख, छबिलाल घिमिरे, कमला पन्त, सिर्जना गाई फार्मका हर्रि्रसाद भट्टराइ, ओम प्रसाद लामिछाने र हिमलाल भट्ट त्यसैगरी दलित समुदायबाट बढि दूध बिक्री गर्ने रामबहादुर सुनार र जनजाति समुदायबाट सबैभन्दा बढि दूध बिक्री गर्ने अशोक थापा मगर पुरस्कृत भएका छन् । गुणस्तर तर्फ मुना न्यौपाने र झलक क्षेत्री, सरसफाइ तर्फ कमला पन्थ र इन्दिरा घिमिरे पुरस्कृत भएका छन् ।
तनहुँ जिल्लाकै नमुनाका रुपमा रहेको याम्पाफाँट दुग्ध उत्पादक सहकारीले बार्षिक १२ करोड भन्दा बढीको दूध बिक्री गर्दै आइरहेको संस्थाकी कोषाध्यक्ष जानकी पन्थले जानकारी दिनुभयो । संस्थाले हाल पोखरामा रहेको सुजल डेरी र स्थानीय डिडि एग्रो प्रालिलाई दूध बिक्री गर्दै आईरहेको छ ।










