नेकपा एमालेको अध्यक्षमा ओली, उपाध्यक्षमा अष्टलक्ष्मी र सचिवमा गोकर्ण विजयी
भञ्ज्याङ न्यूज

नेकपा एमालेको चितवनमा आयोजित १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए ।
यस्तै, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् ।
सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।
त्यस्तै, नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराइ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका छन् । गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो र्सबाधिक मत हो । योगेशले १९६४, छविलाल र प्दमाले समान १८०० मत पाएका छन्
लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् । छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एमालेका २ हजार १५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।
नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका छन् ।
गत आइतबार घोषणा गरेको सूचीअनुसार धेरै नेताहरू निर्वाचनमा र्सवसम्मत चयन भए । तर, ओलीको आफू र्सवसम्मत हुने इच्छा भने पूरा भएन । ओलीले यसअघिको नवौं महाधिवेशनमा नेता माधवकुमार नेपाललाई ४६ मतको अन्तरमा हराएर विजयी बनेका थिए । यसपटक रावलसँग भने उनको फराकिलो मतअन्तर भयो । ओलीले आफूलाई निर्विकल्प ठानेका थिए ।
यसअघि गोदावरीमा भएको विधान महाधिवेशनबाटै ओलीलाई निर्विकल्प नेतृत्वको माहोल बनाइएको थियो । निर्विकल्प बन्ने नाममा पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा समेत अंकुश लगाउने कोसिस भएपछि ओलीविरुद्ध उम्मेदवारी पर्ने स्थिति देखा परेको हो ।
माधव नेपाल समूहमा रहेका रावल १० बुँदे सहमति गरेर एमालेमै बस्ने निर्णय गरेका थिए । त्यसपछि पार्टीभित्रको विगतको संरचना अनुसार आफूले भूमिका पाउनुपर्ने माग गर्दै आएका थिए । तर ओलीले त्यसअनुकूल भूमिका नदिएपछि रावल चिढिंदै आएका थिए । रावलको असहमतिको त्यही स्वर अहिले ओलीका लागि महाधिवेशनमा चुनौतीको रुपमा प्रकट भएको हो ।










