देश विकासका लागि कम्युनिष्ट मिल्नुपर्छ : उपमहासचिव गुरुङ, ८७ जना एमालेमा समाहित
भञ्ज्याङ समाचारदाता/तनहुँ

नेकपा (एमाले)का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताएका छन् । नेकपा -एमाले) शुक्लागण्डकी नगर कमिटी तनहुँले आइतबार दुलेगौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको उल्लेख गरे।
समाजवाद निर्माण, सार्वभौम मुलुक निर्माण र जनताको सुख र समृद्धिका लागि कम्युनिष्टहरु मिल्नुको विकल्प नरहेको उपमहासचिव गुरुङको भनाइ थियो । उनले भने “मलाई कतिपयले भन्छन् कति एकताको कुरा गरेको, आफ्नै पार्टीको कुरा गर्नु न भन्छन् । तर एक्लैको बहुमत नआउने र मुलुक विकासका लागि पनि कम्युनिष्ट मिल्नुपर्छ ।”
नेताहरुको झगडाले पार्टी फुटेको भन्दै उनले आफू अझैपनि एकताको पक्षधर भएको बताए । रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य जनताले चाहेको भन्दै गुरुङले त्यसतर्फ पार्टीहरुको ध्यान जानुपर्ने बताए । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री गुरुङले सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा एमाले दृढ रहेको उल्लेख गरे । उनले भने, ‘युवाहरुलाई वैदेशिक रोजगारमा जान नपर्ने बनाउन स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नुपर्ने पर्दछ ।’
यस्तै, सो अवसरमा नेकपा (एकीकृत समाजवादी) तनहुँका सचिवालय सदस्य सहित ८७ जना एमालेमा समाहित हुनुभएको छ । समाजबादीको तनहुँ जिल्ला सचिवालय सदस्य एवं शुक्लागण्डकी नगर कमिटी सचिब दिपक थापाको नेतृत्वमा समाजवादी पार्टी परित्याग गरी विभिन्न जिम्मेवारीमा रहेका ८७ जना नेता कार्यकर्ताहरू एमालेमा समाहित भएका हुन् । समाहित भएका सबै नेता तथा कार्यकर्तालाई नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्वागत गर्दै नेकपा एमाले प्रवेश गराएका थिए ।










