‘राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्तासाझेदार दललाई सहज’

गण्डकी : यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सत्तारुढ दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ ।
गठबन्धनबाट महिलातर्फ नेकपा (माओवादी केन्द्र)ले पवर्तकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा उतारेको छ । मतभारका हिसाबले गण्डकीमा दोस्रो शक्तिका रुपमा रहेको नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राप्रपाले अपाङ्गता/अल्पसङ्ख्यकतर्फ भने उम्मेदवार उठाएको छैन । अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यकतर्फका तीन सिटका लागि निर्वाचन हुन लागेको हो । ती कलस्टरबाट निर्वाचित गण्डकीका तीन राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ ।
मतभारका दृष्टिले अब हुने निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देखिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ ।
प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरि कुल छ हजार चार सय १० मतभार रहेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरि ६७ मतदाता छन् । कुल मतभार दुई हजार सात सय चार रहेको छ । २२ प्रदेशसभा सदस्य र ६८ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको एमालेको मतभार दुई हजार चार सय ५८ रहेको छ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ३० गरी नौ सय ९४ मतभार रहेको छ । दुई जना प्रदेशसभा सदस्य मात्र रहेको राप्रपाको एक सय छ, तीन स्थानीय तहको प्रमुख र उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको ५७, एक प्रदेशसभा सदस्य र एक स्थानीय प्रमुख रहेको नेकपा (एकीकृत समाजवादी)को ७२ र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङको १९ मतभार छ ।
गण्डकीमा कुल छ हजार चार सय १० मतभार रहेकामा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको मतभार जोड्दा तीन हजार आठ सय २७ पुग्छ । बाँकी एमालेसँग दुई हजार चार सय र राप्रपासँग एक सय छ मतभार छ । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य र ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् ।
बलियो मतभार गठबन्धन दलका पक्षमा रहेकाले आफ्ना उम्मेदवारले सहजै निर्वाचन जित्ने सत्ता गठबन्धनको राष्ट्रियसभा सदस्य निर्वाचन प्रदेश समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताउनुभयो । उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन प्रदेशका ११ वटै जिल्लामा मतदाता भेटघाटको कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker