हप्तादिनदेखि उठेन फोहर : ल्याण्डफिल्ड साइट होइन अब हामी सरसफाई केन्द्र नै बनाउँछौं : नगरप्रमुख न्यौपाने
सम्झना रसाइली/तनहुँ
तनहुँको सदरमुकाममा रहेको व्यास नगरपालिकालाई फोहर व्यवस्थापनको पाटो जटिल बन्दै गएको छ । जिल्लाकै पुरानो नगरपालिकाले हालसम्म फोहर व्यवस्थापनका लागि व्यवस्थित ल्याण्डफिल्डसाइट त के फोहर व्यवस्थापनका लागि जग्गा समेत पहिचान गर्न सकेको छैन ।
नगरपालिका स्थापना भएको ३२ वर्षसम्म पनि स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न नसक्दा बढ्दो बजारीकरणसंगै उत्सरजन हुने फोहर मैलाको व्यवस्थापन गर्न समस्या आउन थालेको छ । मुलुक संघीय संरचनामा गएसंगै फोहरमैला व्यवस्थपनलाई नै मुख्य एजेण्डा बनाएर स्थानीय तहको निर्वाचनमा होमिएर निर्वाचित जनप्रतिनिधिले यो समस्यको दीर्घकालिन समाधान गर्न सकेका छैनन् ।
नगरपालिकाभित्र व्यवस्थित र स्थायी ल्याण्डफिल्ड साइट स्थापनाका लागि जनप्रतिनिधि र वन, वातावरण तथा सरसफाई शाखाका कर्मचारीहरु पटकपटक विभिन्न स्थानको फोहोर व्यवस्थापन केन्द्रको भ्रमण तथा अवलोकनका लागि गए । तर हालसम्म पनि स्थायी ल्याण्डफिल्ड साइट निर्माण गर्न नसक्दा ५ वर्षको अवधिमा फोहर व्यवस्थापनका लागि ३ वटा ठाउँ फेरिसकेको छ ।
गत माघ २ गते नगरपालिकाले प्रेस विज्ञप्ति नै निकालेर अर्को व्यवस्थापन नभएसम्म नकुहिने फोहोर संकलन कार्य रोक्किएको जानकारी गराएको छ । व्यासको बजार क्षेत्रबाट दैनिक १२ देेखि १५ टनसम्म फोहर उठाउने गरेको नगरपालिकाले जनाएको छ । बढ्दो बजारीकारणसंगै बढ्दै गएको फोहर व्यवस्थापनमा चुनौती बढ्दै गएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् ।
‘हाम्रो नगरपालिका स्थापना भएको ३१/३२ वर्ष भएतापनि अहिलेसम्म फोहोर व्यवस्थापनका लागि स्थायी समाधान निकाल्न सकेका छैनौ’, उनले भने, ‘यसका लागि जनप्रतिनिधि आएपछि एकदुइ वटा जग्गा खरिदको प्रक्रियालाई अगाडि बढायौं तर हामी यो जग्गा खरिद गर्दै छौं भनि विज्ञप्ति निकाल्नसाथ मानिसहरुको बिरोध भएकाले २/३ वटा स्थानमा गरिएको प्रयासमा निस्कर्षमा पुग्न सकेनौं ।’
यस्तै, पालिकाको वन, वातावरण तथा सरसफाई शाखाका कर्मचारीहरुसंगै वलिङको सरसफाई केन्द्रमा गएको भ्रमणबाट फोहरलाई मोहोरमा बदल्न पनि सकिने कुरा थाहा पाएको नगरप्रमुख न्यौपानेले बताए । ‘पहिले हामी ल्याण्डफिल्ड साइट निर्माण गरी फोहर व्यवस्थापन गर्नका लागि खाल्डो खोज्दै हिडेका थियौं’, उनले भने, ‘ल्याण्डफिल्ड साइट होइन अब हामी २/३ महिना भित्र सरसफाई केन्द्र नै बनाउँछौं । स्थायी रुपमै फोहोर व्यवस्थापनको कुरा मैले एक वर्ष अगाडिदेखि नै भन्दै आएको थिए, तर मुख्य जग्गा खरिद नै गर्न नपाउँदा यो प्रक्रियामा जान सकेको छैनौ ।’
सुर्खेत, धनगढीमा फोहर व्यवस्थापन काम गरिरहनुभएका विज्ञसंग परामर्श गरी स्थायी रुपमै फोहर व्यवस्थापन गर्ने तयारीमा नगरपालिका छ । स्थायी रुपमा फोहोर व्यवस्थापनका लागि वडा नम्बर २ का वडा अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा जग्गा व्यवस्थापन समिति गठन गरिएको छ । जग्गा व्यवस्थापन समितिले २/३ वटा विकल्पमा अध्ययन गरिरहेका र त्यहाँका स्थानीय व्यक्तिहरुसंग कुराकानी गरेर वातावरणीय प्रभावलाई पनि अध्ययन गरिसकेपछि बल्ला प्रचारमा आउला भनेर आन्तरिक रुपमै होमवर्क भइरहेको नगरप्रमुख न्यौपानेले बताए । व्यास-५ को टेकनथुम्कि, व्यास-१०, व्यास-११ र व्यास-१३ को जग्गाका विषयमा आवश्यक छलफल भइरहेको उनले बताए ।
स्थायी ल्याण्डफिल्ड साइट नभएपनि व्यासले कुहिने र नकुहिने फोहर छुट्टाइ कुहिने फोहरको व्यवस्थापन गरिसकेको छ । व्यास-१० को दुम्सिभतेरीमा कुहिने फोहरबाट वायोग्यास निकाल्ने काम पनि भइरहेको छ । नगरपालिकाले आ.व. २०७७/०७८ मा करिव ५ लाख १२ हजार रुपैयाँको लागतमा वायो ग्याँस प्लान्ट निर्माण गरेको हो ।

नकुहिने फोहर व्यवस्थापन गर्न समस्य भइरहेको नगरपालिकाले बताउँदै आएको छ । ‘नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाउन नगरबासीसंग भन्ने गरेपनि अधिकांश घरधनीहरुले फोहरको वर्गीकरण नगरिददा व्यवस्थापनमा थप समस्य भएको हो’, नगरप्रमुख न्यौपानेले भने, ‘कुहिने र नकुहिने फोहर एकै ठाउँमा मिसाउँदा कस्तो दुर्गन्ध आउँदो रहेछ, व्यवस्थापन गर्न कति असहज हुने रहेछ, त्यो समस्या र अवस्था नगरबासीले प्रत्यक्ष अनुभूति गरुन र शिक्षा लिउन भनेर २/४ दिन फोहर नउँठाएकै हो । स्थायी समाधानलाई केही समय लाग्ला तर अल्पकालिन समाधान छिट्टै निकाल्छौं ।’
दीर्घकालिन रुपमा फोहर मैला व्यवस्थापनका लागि बस्ति उठेको, खोच पनि परेको केही ऐलानी प्रति जग्गा पनि उपलब्ध गराउन पाउने, सामुदायिक वन पनि नभएको, खानीपानी लगायतका ठाउँमा असर नपर्ने जस्तो स्थानको खोजीमा नगरपालिका लागि परेको छ ।
हालसम्म पनि व्यवस्थित ल्याण्डफिल्ड साइड नहुँदा फोहरमैला व्यवस्थापनमा समस्य हुन थालेको छ । बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्टबाट निस्कने कुहिने तथा नकुहिने फोहर व्यवस्थापनका लागि स्थायी फोहर व्यवस्थापन केन्द्र नहुँदा नगरपालिकाले फोहर मादी नदी किनारको भतेरीमा व्यवस्थापन गर्दै आएको छ । जथाभावि रुपमा फोहर फ्याक्दा वातावरण प्रदुषण हुनुका साथै फोहरको गन्ध नजिकका बस्तिसम्म पुग्ने गरेपछि स्थानीयले विरोध गर्दै आएका छन् ।
करिव एक हप्तादेखि व्यास नगरपालिकामा फोहर नउँठ्दा बजार क्षेत्रका घर, होटल तथा पसलका अगाडि, सडक दायाँबायाँ र फुटपाथमा फोहर जम्मा हुँदा दमौली बजार क्षेत्र प्रदुषित बन्दै गएको छ । नगरपालिकाले सूचना जारी गर्दै नकुहिनी फोहर अर्को व्यवस्था नभएसम्म आ-आफ्नै घरमा व्यवस्थापन गरी राख्न भनेपनि नगरबासीले घर बाहिर सडक पेटीमा पोको पारी फोहर राखने क्रम बढ्दै गएकाले बजार क्षेत्र कुरुप बन्दै गएको छ ।
यस्तै, अघिल्लो कार्यकालको पाँच वर्षमा नगरपालिकाले ल्याण्डफिल्ड साइट अध्यायन भ्रमणका नाममा करिव २ लाख २० हजार र ल्याण्डफिल्ड साइट र ट्रस्ट निर्माणमा करिव ९ लाख रुपैयाँ खर्च गरिसकेको छ । २०७४ पुस ४ गते ६४ जनाको सहभागीतामा वलिङ भ्रमणमा ४९ हजार ५ सय, ०६५ असार २९ र ३० गते ३४ जनाको सहभागीतामा हेटौडा भ्रमणमा एक लाख ३६ हजार ८ सय र ०७८ माघ ४ गते १६ जनाको सहभागीतामा पुनः वलिङ भ्रमणमा ३२ हजार ५ सय रुपैयाँ खर्च गरेका छन् । नगरपालिका स्थापना भए यता फोहर मैला व्यवस्थापनको अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च भएपनि उपलब्धी भने शुन्य नै छ ।
नगरपालिका स्थापना भएदेखि व्यास-३ स्थित मादी नदि किनारा भतेरीमा फोहर व्यवस्थापन गर्दै आएको थियो । बाढीले भतेरीनै बगाएर लगेपछि व्यास-१ खकौलीमा व्यक्तिको जग्गा भाँडामा लिएर फोहर व्यवस्थापन गरिएको थियो । ५/६ महिनामा त्यो ठाउँ पनि भरिएपछि व्यास-१३ बेलबासमा अस्थायी ल्याण्डफिल्ड साइट बनाएको थियो । उक्त ल्याण्डफिल्ड साइट निर्माणका लागि नगरपालिकाले ७ लाख ५० हजार रुपैयाँ खर्च पनि गरेको थियो ।
बुद्धसिंह मार्ग स्थित बेलबासबाट सेती नदी किनारमा फोहर व्यवस्थापन गर्दै आएकोमा पुनः प्रयोगका लागि संकलन गरिएको वस्तुमा आगलागि हुँदा र अव्यवस्थित रुपमा फोहर व्यवस्थापन गरिएकामा त्यहाँ पनि अवरोध सृजना भएपछि अहिले नगरपालिकाले पुनः मादी नदी किनारको भतेरीमा नकुहिने फोहरको व्यवस्थापन गर्दै आएको छ ।
नगरपालिकाले कुहिने र नकुहिने फोहर घरबाटै वर्गीकरण गरिदिन आग्रह गर्दै आएपनि नगरबासीले उक्त कार्य नगरिदिदा नकुहिने फोहर व्यवस्थापन केन्द्र थप प्रदुषित बन्न पुगेकाले तत्कालका लागि नकुहिने फोहर संकलन नगर्ने निर्णय लिएको हो ।










