निर्मल माविलाई भवन र प्रयोगशाला निर्माणका लागि स्वीकृत
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा रहेको निर्मल माध्यमिक विद्यालयलाई भवन र प्रयोगशाला निर्माण कार्य अगाडि बढाउन स्वीकृति पाएको छ ।
व्यास नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले विद्यालयको भवन र प्रयोगशाला निर्माण कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारबाट विनियोजित ३ करोड रुपैयाँको कार्याक्रम कार्यान्वयन गर्न सहमति प्रदान गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा बसेको बैठकले आ.ब. २०७९/०८० का बजेट तथा कार्यक्रमहरुको कार्यान्वयन कार्ययोजनामा २०७९ भाद्र मसान्तसम्म उपभोक्ता समिति गठन गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए।
उनले भने, ‘बैठकले २०७९ असोज मसान्तसम्म उपभोक्ता समितिहरुलाई प्रशिक्षण दिने, कार्तिक मसान्तसम्म सम्झौता गर्ने, टेण्डर प्रक्रियाबाट प्रारम्भ हुने योजनाको पौष मसान्त भित्र सम्झौता गर्ने गरी प्रक्रिया अघि बढाउने र २०८० जेठ मसान्त भित्र योजनाहरुको मुल्याङ्कन र भुक्तानिको व्यवस्था मिलाउने गरी कार्यतालिका बनाई पारित गर्ने निर्णय भएको छ ।’
नगरपालिकाको मुल कार्यालयमा टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा भाद्र १ गतेदेखि सञ्चालन भएको सहायता कक्षबाट दिईने सेवामा आर्थिक ऐनमा लेखिएको दस्तुर समेत निःशुल्क हो कि भन्ने आशंका रहेकोमा आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपि, निवेदन दस्तुर लगायतका सेवाहरु निःशुल्क प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै, व्यास नगरपालिका भित्र लिफ्टिङ खानेपानि योजना र सडक बत्तिमा स्थानीय उपभोक्ताहरुबाट भुक्तानि भएको मासिक विद्युत महसुलको विवरण वडा कार्यालय मार्फत भाद्र २० गतेसम्म संकलन गरी आगामि बैठकमा पेश गर्न योजना शाखालाई निर्देशन दिने निर्णय बैठकले गरेको बताइएको छ ।
नगरपालिकाले चालु आवको साउन महिनामा आन्तरिक आयबाट १ करोड २५ लाख ३२ हजार १४४ रुपैयाँ प्राप्त गरेको बैठकमा जानकारी गराइएको थियो। यस्तै, नगरपालिका अन्तर्गत सरसफाई केन्द्र स्थापना गर्नका लागि व्यास-१० मंगलि गैह्रको प्रस्तावित जग्गा खरिदका लागि नेपाल सरकारसंग स्वीकृति माग गरिने भएको छ ।
त्यस्तै, नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागबाट नगरपालिका भित्रका जग्गाहरुलाई कृषि क्षेत्र र गैह्र कृषि क्षेत्र छुट्याउन २०७९ मंसिर २३ सम्मको समय प्रदान गरी २०७९ साउन ३१ गते प्रेस नोट जारी भएकोमा सो कार्य वडा कार्यालय समेतको सहयोगमा तत्काल प्रारम्भ गर्न घरनक्सा शाखालाई निर्देशन दिने निर्णय बैठकले गरेको प्रवक्ता एवं वडा नं. ६ अध्यक्ष जीवन गुरुङले जानकारी गराए ।










