अठार मगरातको पर्यटकीय गाउँ “थवाङ”

के.बि. मसाल

कुनै बेला रोल्पाको नाम सुन्ने बित्तिकै मानिसहरु डराउथे । द्वन्द्वको समयमा रोल्पा घर भनेपछि घर धनिहरुले डेरा समेत दिन डराउथे । समग्रमा रोल्पाली भनेपछि हेर्ने र बुझने दृष्टिकोण नै सबैले भिन्न बनाउथे । द्वन्द्व समाप्त भैसकेपछि आजकल रोल्पाको त्यो बुझाई कथा मात्र बनेको छ । तर अहिले थवाङको अवस्था परिवर्तन भएको छ । लुम्विनी प्रदेश रोल्पा जिल्लाको ऐतिहासिक थवाङ गाउँ अहिले गाउँपालिका भएको छ । थवाङ गाउँपालिका अहिले थवाङ, मिरुल र उवा गरी ५ वाडमा विभाजित भएको छ । थवाङ गाउँ गाउँपालिका भएपछि १ र २ वाडमा विभाजन भएको छ । समुन्द्री सतहबाट २ हजार मिटरको उचाईमा रहेको थवाङ गाउँ थवाङ खोलाको किनार र पहाडको फेदीमा पर्दछ । करिब १ हजार घरधुरी रहेको साविकको थवाङमा हाल २२९ घरधुरी बसोबास गरिरहेका छन् । काठको फलेक र स्लेट ढुंगाले छाना छाइएका गुजुमुज्ज र बाक्ला घर थवाङको विशेषता हो । घरहरुमा प्राचिन कला संस्कृति झल्कने हस्तकला समेत अंकित गरिएका छन् ।

थवाङ अहिले ग्रामीण पर्यटनको विकासमा जुटेको छ । पर्यटनकै बिकासको लागि पछिल्लो समय थवाङमा पूर्वाधारको बिकास हुन थालेको छ । आजभोली कच्चि भएपनि सबै वाडमा मोटर बाटो पुगेका छन् । परम्परागत शैलीका घर ढुङ्गाका छाना पहिलो पटक थवाङ पुग्ने पर्यटक गाउँ देख्दै छक्क पर्दछ । तर अहिले थवाङ गाउँका मौलिक घरहरु धेरै परिवर्तन हुन थालेका छन् । थवाङको मौलिक संस्कृति जोगाउन चुनौति हुन थालेको छ । संस्कृति हरेक जातीको पहिचानसँग जोडिएको हुन्छ । त्यसको संरक्षण भएन भने पर्यटकहरुलाई के देखाउने ? सभ्यता संस्कार संस्कृति र सम्पदालाई समाजले संरक्षण गर्न सकेन भने परमपरागत चल्दै आएको संस्कृति लोप हुँदै जान्छ। मौलिक संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए जातिगत पहिचान हराउँछ । यो कुरा थवाङबासीले बुझन जरुरी छ । तर अब थबाङबासीहरुले कला र संस्कृतिलाई संरक्षण गर्न लागि परेका छन् । पर्यटन विकासको लागि यो राम्रो पक्ष हो । थवाङका हरेक बस्तिमा ढुंगा बिछ्याएर गाउँलाई नै सफासुग्घर राखिएको छ । सहिद स्मृति क्याम्पस, सहिद स्मृति पार्कसमेत समुदायले नै सञ्चालन र रेखदेख गरिरहेका छन् ।

कम्युनिष्ट राजनीतिको बारेमा चासो राख्ने पर्यटकहरुलाई थवाङ पुग्नै पर्दछ । थवाङ पुगेपछि थवाङमा कसरी कम्युनिष्ट राजनीतिको सुरुवात भयो ? कसरी जनता संगठित भए ? किन थवाङबासी जनता सामुहिक निर्णय मान्दछन् ? आदी कुराहरु थवाङ पुगेपछि पर्यटकहरुले अध्यन गर्न सक्दछन् । इतिहास खोज्दै जाने हो भने थवाङमा २०१२ सालमा कम्युनिष्टको बीजारोपण भएको थियो । कृष्ण झाँक्री नामका मुखियाले गाउँमा सुँगुर, बंगुर खुला नछोडन आदेश गरे । झयाली पिटाए र कटुवाललाई हाक हाल्न समेत लगाए । तर, गाउँलेले मुखियाको आदेशलाई टेरेनन् । गाउँको स्थिति फेरिएन । त्यसपछि मुखियाले सुँगुर, बंगुरलाई भरुवा बन्दुक, खुकुरी र भालाले हान्न थाले । विरोधमा बोल्ने हिम्मत कसैमा भएन । अत्याचार सहिसक्नु नभएपछि बरमन बुढा लगायतका युवाले प्रतिकारमा उत्रिए । मुखियाले प्युठानबाट प्रहरी बोलाए। मुद्दा चल्यो, बरमन जेल पुगे । बरमन बुढालाई प्युठान कारागार पुर्‍याइयो । संयोगवश बरमन बुढाको भेट कम्युनिष्ट नेता मोहनविक्रम सिंहसंग जेलमा भयो । मोहनविक्रमले उनलाई कम्युनिष्टको शिक्षा दिए । बरमन थवाङ फर्केपछि थवाङमा कम्युनिष्ट राजनीति सुरु भयो । उनीपछि प्युठान कारागार पुगेका मुखिया कृष्ण झाँक्री पनि कम्युनिष्ट दीक्षित कार्यकर्ता भएर थवाङ फर्के । पछि जेलबाट छुटेका मोहनविक्रम थवाङ पुगेर कमिटी गठन गरी बरमन बुढाको नाममा मुखिया पद हस्तान्तरण गरेपछि थवाङमा कम्युनिष्ट राजनीतिको औपचारिक सुरुवात भएको हो ।

थवाङ गाउँको सामूहिक निर्णय प्रणाली परिचय हो । थबाङ राज्यको दमन विरुद्ध सधै संघर्षमा उत्रिने थवाङका बासिन्दा सामुहिक निर्णय प्रणालीको परिचय रहेको छ । सामुहिक निर्णय गर्ने परिपाटीकै कारण थवाङ सधैंभरी व्रि्रोही देखिएको हो । आदिवासी जनजाति समाजमा व्यक्तिलाई भन्दा समाजलाई ठूलो मानिन्छ र समाजको नाइकेलाई आदरका साथ सत्कार गर्ने र उसैको पछिलाग्ने चलन छ । नत्र थवाङ जनयुद्धको आधार इलाका हुन सम्भव थिएन । थवाङका धेरैजसो मानिसहरु राजनीतिक अगुवाले जे निर्णय गर्छन त्यसको अहिले पनि हुबहु कार्यान्वयन गर्छन् । थबाङका अगुवाहरुले यसपालि फलानालाई भोट हाल्ने है भन्यो भने सबैले उसैलाई भोट हाल्दछन। कसैलाई भोट नदिने है भनेपछि भोट दिदैनन् । माओवादीको सशस्त्र व्रि्रोहमा थवाङबाट मात्रै २८ जना मारिएका थिए । मारिनेमा पाँच महिला पनि थिए । ३१ जना अपाङ्ग भए भने १४ महिला एकल हुन पुगे । एक जना अझैँ बेपत्ता छन् । थबाङ क्षेत्रमा बढी मानवीय क्षति जेलबाङमा भयो । जेलबाङका मात्रै ७३ जनाले ज्यान गुमाए । राज्यका पक्षबाट जेलबाङका ६३ जनाको ज्यान गएको थियो । थबाङकै छिमेकी मिरुलमा ३३ जनाले ज्यान गुमाएका थिए । थबाङदेखि पूर्वको उवामा पनि युद्धको अवधिभर २२ जनाको ज्यान गएको थियो ।

थवाङ गाउँमा किन जाने ? यसको उत्तर खोज्ने हो भने हामी किन अरुको गाउँमा जान्छौं भन्ने कुरालाई गाँसेर हेर्न सकिन्छ । थवाङमा प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले थवाङको पर्यटन क्षेत्र फराकिलो छ । थवाङ ऐतिहासिक साँस्कृतिक महत्व भएको अठार मगरातको बसोबास भएको पर्यटकीय गाउँ हो । थवाङका मगरजातिहरुले खाम भाषा बोल्दछन् । रोल्पालाई खाम भाषामा उताको बस्ती भनिन्छ । खामभाषीहरुको बाहुल्यता भएको कारण थवाङ गाउँपालिकाको क्षेत्रमा मात्र नभएर रोल्पाका अधिकाँश गाउँ, ठाउँको नामको पछाडि बाङ शब्द जोडिएको छ । खाम भाषामा बाङ अर्थ हुन्छ चौर । थबाङ पनि खाम भाषाकै नाम हो । मगरखाम भाषामा थबाङको अर्थ माथी उठेको अथवा पहाडको काखको चौर भन्ने हुन्छ ।

मगर खामको बाहुल्य क्षेत्र रहेकाले थवाङ गाउँको जनजीवन, भाषा, संस्कृति हेर्न पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । मगर समुदायको बाक्लो बसोबास भएको थबाङ, जेलबाङ, उवा, मिरुल लगायतका गाउँमा युद्धबाट प्रत्यक्ष प्रभावित भएका थिए भने सबैभन्दा बढी मानवीय क्षति पनि तीनै गाउँमा भएको थियो । ती गाउँमा मगर खाम भाषा संस्कृति, रहनसहन र चालचलन एउटै छ । थवाङ पुग्ने ग्रामीण पर्यटकहरुको लागि यी सबैकुराहरु रुचिका साथ सोधखोज गर्ने गर्दछन । अर्को तर्फ थवाङ पुगेपछि पर्यटकहरुले माओवादी जनयुद्धसँग सम्बन्धित सम्पदा सिज स्तम्भ, छापामारहरुले तालिम गरेको स्थल लामुहिखार र कम्युनको अभ्यास भएकोस्थल राचिवाङको अवशेष पनि हेर्न सक्दछन् । त्यसैगरी उवाको वज्यू वराजुवाङ मन्दिर, जलाकी जन्तरे हुन् भने मिरुलको जाया, टुटु, भित्रिवन सांस्कृतिक क्षेत्रमा पनि पर्यटकहरु पुग्ने गर्दछन् । थवाङमा अहिले होमस्टे सन्चालनमा आएको छ । गाउँमा पुग्ने ग्रामीण पर्यटकहरुलाई खाना बस्नको कुनै समस्या हुदैन । तर अब थवाङले पर्यटकहरुका लागि होमस्टेको संभावना भएका गाउँहरु उवाको थर्पु, गुराँसे, मार्घी खर्क, फुन्टिवाङ, खेरवाङ र लाटावाङमा पनि होमस्टे सन्चालनमा ल्याउन पर्दछ ।

असार महिना थबाङमा मगर जातीको भूम्या सुरुहुन्छ । भूम्या पर्व रोकब्याधी नलागोस, दैवीप्रकोपबाट बचियोस र राम्रो अन्नबाली फलोस भनेर मगर समुदायले मनाउने गर्दछन । यो पर्व थबाङ मात्र होइन मगर जातीहरुको बस्ति भएको सबै गाउँमा मनाउने गर्दछन । वर्षा सुरु हुनु भन्दा अगाडि प्रकृतिको पूजा गर्ने चलन १८ मगरात क्षेत्रमा बसोबास गर्ने मगरहरुको प्रचलन छ । मगरहरुले परम्परागत प्राकृतिक पूजा गरेपछि उनीहरुको नाचगान र खानपिन गर्दछन । मगर भेषभुषामा सजिएर युवायुवती, बूढापाकाहरु आपसमा मिलेर विभिन्न बाजागाजा, जस्तै दमाहा, टेम्पो, ढोल, झर्रा, सनाइ र झयालीको तालमा दिनभरि नाच्ने गर्छन् । भूम्याजस्तै जस्तै ढिकुरे नाच, छुरे पैसेरु, सिंगारु नाच, नचारु नाच, मयुरपंखे नाच र टप्पा समेतको नाच पनि देखाइन्छ । थवाङमा हरेक वर्षो भुम्या पर्व हेर्नका लागि बिभिन्न जिल्लादेखि ग्रामीण पर्यटकहरु पुग्ने गर्दछन् ।

थवाङ पुगेपछि पर्यटकहरु जलजला, सुनछहरी र विवाङ दह पुगेनन् भने उनिहरुको यात्रा अधुरो हुन्छ । पर्यटकलाई जलजलाको मनमोहक दृश्य, सयौं थरिका फूल तथा दलदले जमिनले विशेष आकर्षण गर्दछ । अर्को तर्फ सुनछहरी झरना र विवाङ दहले पनि पर्यटकहरु रमाउँछन् । द्वन्द्वकालमा सबैभन्दा धेरै शहीद भएको गाउँ जेल्वाङ, ऐतिहासिक गाउँ थवाङ, द्वन्द्वमा प्रयोग गरिएका वकर, युद्धकालमा तयार गरिएका जनवादी विद्यालय, जननमूना अस्पताल, जनसहकारी, जनकम्युन आदि स्थलहरु पर्यटकहरुले रुचिपुर्वक अध्यन अवलोकन गर्ने गर्दछन । थवाङ भ्रमणको लागि जाने ग्रामीण पर्यटकहरुले प्रकृतिक सौन्दर्यता अवलोकन गर्न मात्र नभएर रोल्पाको जनजीवन, भाषा, संस्कृति र जनयुद्वको समयमा घटना घटेका गाउँहरुको बारेमा पनि अध्यन गर्न रुचि राख्दछन । रोल्पामा घुमफिरमा जाने पर्यटकहरुको पहिलो रोजाइनै थवाङ गाउँ र जलजला पहाड पुग्ने इच्छा हुन्छ । मगर खाम भाषाबाट जलजलालाई गोङ भनिन्छ ।

थवाङबाट चलावाङ र तिरिवाङ हुँदै करिवन पाँच घण्टाको यात्रामा जलजला पुग्न सकिन्छ । जलजला पहाड सामुन्द्रिक सतहबाट ३ हजार १९३ मिटरको उचाइमा रहेको छ । जलजला पहाडमा लोपोन्मुख सेतो लालीगुराँसका फूल पाइन्छ । पौराणिक कथा अनुसार वाह्रभाई वराहको जन्म धौलागिरीमा भएको र त्यहिबाट जलजला पहाडमा २२ वहिनी बजुको आगमन भएको विस्वास गरिन्छ । त्यसैले कैलु वराहको पुजा गरेपछि २२ वहिनी रानी वज्यूहरु को पुजा गर्ने प्रचलन छ । रोल्पाली को मात्र नभएर जलजला अन्य जिल्लाबासीको पनि धार्मीकस्थल हो । जलजलामा तिन बटा वराहको मन्दिर रहेका छन । जसलाई कैलु वराह, वजु वराह, र सहदे वराह भन्ने गरिन्छ । प्रत्येक बर्षको वैशाख, जेष्ठ र जनैपूर्णिमाको दिन जलजलामा मेलापनि लाग्ने गर्दछ ।

जलजला पहाड पछिल्लो समयमा नेपालको राजनैतिक संग पनि गासिएको छ । आजभोलि जलजला पहाडलाई राजनैतिक र वलिदानीको केन्द्रको रुपमा लिने गरिएको छ । जलजला पहाडको शिरमा सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ । अझैपनि जलजला पहाडमा राता हसिया हतौडाका झण्डा फरफराएको देखिन्छ । जलजलाबाट रोल्पाको भूगोल मात्र होइन रुकुम जिल्लाको सिस्ने हिमाल र अनगिन्ती लेक, वेसि र प्राकृतिक सैान्दर्यताको आनन्द लिन सकिन्छ । जलजलाको झाँक्री थान अर्थात कैलु ब्राह थानमा झाँक्री मगर पुजारी छन । भने अरु मन्दिरमा रोका मगर पुजारी छन ।

जलजलामा तत्कालिन नेकपा माओवादीले संचालन गरेको रेडियो जनगणतन्त्र ९५.१ मेगाहर्ज दुइ वर्षसम्म जलजलाबाट भूमिगतरुपमा प्रशारण गरिएको थियो । जलजला प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको सम्भावना बोकेको पहाड हो । घाँसे मैदानी, दलदले क्षेत्रमा पानी जम्ने र जमिन हल्लिने भएकोले जलजला नयाँ पर्यटकहरुको लागि आकर्षणको गन्तव्य बन्दछ । केही वर्ष अगाडीदेखि जलजलामा स्थानीय समुदायले चरिचराउ बन्द गरी संरक्षण गरिएको छ । यस क्षेत्रमा लोप हुन लागेको दुलर्भ रातो पाण्डासमेत संरक्षण भएको छ ।

चैतदेखि भदौसम्म प्राकृतिक फूलबारीमा रुपान्तरित हुने जलजला दर्जनौं प्रजातिका गुराँस फुलले राताम्य हुने गर्दछ । जलजला जादा बाटोमा ढकमक्क फुलेका फूलहरु, गुचुमुच्च मगरबस्ती, खोलानाला, पहाड र हरियाली वनजंगल यात्राको आनन्द बेग्लै हुन्छ । द्वन्द्वकालका अवशेषहरु, कम्युनहरु, गुरिल्लाहरुको तालिमस्थल, बंकर अनि द्वन्द्वका कथाहरु प्रशस्तै सुन्न र अवलोकन गर्न पाइन्छ । गुरिल्लाहरुले प्रयोग गरेका गोरेटोहरुमा यात्रा गर्दै विभिन्नथरिका फूलहरु, चराचुरुंगी, वनस्पति, छलछल बग्ने खोलानाला, अग्ला पहाड र झरनाहरुले पर्यटकहरुलाई आनन्द दिलाउँछ । जलजलाबाट सिस्ने, पूठा, धौलागिरी, अन्नपूर्ण हिमश्रृंखलाहरुको दृश्यावलोकन पनि गर्न सकिन्छ । जलजलाबाट जन्तरे तिलाचन हिरछेडा हुँदै ढोरपाटनसम्म गुरिल्ला पदमार्गमा यात्रा गर्न पनि सकिन्छ । तर पदमार्गमा होटल सुविधा नभएकाले खाना बस्नको लागि क्याम्पिङ गर्नर्ुपर्छ ।

पर्यटनको विकास जति भन्न सजिलो छ त्यसलाई ब्यवहारमा उतार्न धेरै कठिन पनि छ । दुर दराजका गाउँ पर्यटकहरु पुग्नका लागि गाउँ पर्यटकहरुलाई सुबिधा हुने पूर्वाधारको विकास गर्न पर्दछ । गाउँमा सडक यातायात, सूचना प्रविधि, खानाबस्नको लागि होमस्टे अथवा होटल, स्वच्छ पिउने पानी, र्सार्वजनिक शौचालय, विद्युत, फोहोरमैला व्यवस्थापन जस्ता पूर्वाधार पर्यटकको पहिलो रोजाइमा पर्दछन् । अब थवाङले आम्दानीका स्रोत खोज्नु पर्दछ । पर्यटनको विकासले स्रोत र साधनलाई आम्दानीको राम्रो माध्यम बनाउन सके थवाङको जीवनस्तरमा सुधार आउछ । थवाङलाई अब नयाँ सोच अनुसार स्थानीय सरकारको योजना हुनु पर्दछ । पर्यटनको बिकासको लागि थवाङ संग गुरुयोजना बन्नु पर्दछ । गाउँमा जाने सबै मानिसहरु पर्यटक हुँदैनन् । पर्यटक हुनलाई गाउँमा पुगेपछि पैसा खर्च गर्ने मात्र पर्यटक हुन्छन । अन्यथा पैसा खर्च नगरी गाउँ ठाउँ भ्रमण गरेर र्फकने पर्यटक हुँदैनन् । ती अवलोकनकर्ता मात्र हुन्छन । अब पर्यटनको विकास गर्न थवाङबासीले कृषिको उत्पादन बढाउनु पर्दछ । जुन उत्पादन गाउँमा पुग्ने पर्यटकहरुले किन्न सकुन ।

थवाङ जान आजभोली धेरै बाटोहरु छन । थवाङ अहिले दाङ घोराही, रोल्पाको लिवाङदेखि र पूर्वी रुकुमको मध्यपहाडी राजमार्गमा पर्ने भुमे गाउँपालिकाको खवाङ बगरदेखि महत गाउँ हुँदै थवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । घोराहीबाट होलेरी, दहवन नुवागाउँ हुँदै शहीद मार्गबाट दारबोट, कोर्चावाङ, घर्तीगाउँ ओवाङ दुइखोली, कुरेलीको खरिबोट, मिरुलको टुटूबजार, र छेर्वाङ हुँदै १३४ किलो मिटरको यात्रामा थवाङ पुगिन्छ । लिवाङदेखि र्घर्तीगाउँ हुँदै ७४ कि.मि.को कच्ची सडक यात्रामा पनि थबाङ पुग्न सकिन्छ । अर्को मार्ग हो सुलिचौर-फुलिवन, उवा हुँदै थवाङ ५७ किलो मिटरको दुरी पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker