राजनैतिक संगठन कसैको प्याउते हुँदैन

सुरेशकुमार पाण्डे

नेपाली कांग्रेस किन फुट्यो र यो फुटबाट कसलाई फाइदा पुग्छ भन्ने प्रश्नको उत्तर भविष्यले नै दिनेछ । तर यस घटनाले दिएको सन्देश भने स्पष्ट र सकारात्मक छ– कुनै पनि राजनीतिक पार्टी कसैको निजी प्याउते हुँदैन। जब पार्टीलाई व्यक्तिगत सम्पत्ति ठान्ने सोच हाबी हुन्छ, त्यहीँबाट विद्रोहको बीउ उम्रिन्छ। अहिले देखिएको फुट पनि त्यसैको एउटा परिणाम हो ।

गगन थापा र विश्वप्रकाश शर्मा कति देशभक्त छन् वा उनीहरूले विदेशी हितमा काम गर्छन् भन्ने बहस अहिलेको सन्दर्भ होइन। उनीहरूबारे विगतमा विभिन्न टीकाटिप्पणी भएकै हुन् । तर अहिलेको यथार्थ के हो भने उनीहरूबीच लामो समयदेखि आन्तरिक खिचातानी चल्दै आएको थियो। एक–अर्काप्रति सार्वजनिक आलोचना हुनु, असन्तुष्टि बाहिर प्रकट हुनु र पार्टीभित्र गुट–उपगुट तीव्र बन्दै जानु सबैलाई थाहा भएकै कुरा हो ।

विशेषगरी ‘जेन्जी विद्रोह’ पछि देउवा दम्पती जनआक्रोशको केन्द्रमा परे। त्यसपछि गगन थापा समूहले विशेष महाधिवेशनको माग गर्दै आएको थियो। उनीहरूको स्वर पनि युवा पुस्ताको असन्तुष्टिसँग मिल्दोजुल्दो थियो। यद्यपि ‘युवाको नेतृत्व’ भन्ने नाराभन्दा पनि नेतृत्व सक्षम, निष्पक्ष, निस्कलंक र दूरदृष्टि भएको हुनुपर्छ भन्ने कुरा बढी महत्वपूर्ण हो। नेतृत्व तन्नेरी होस् वा वृद्ध– त्यसले अर्थ राख्दैन; निर्णायक कुरा भनेको राष्ट्रियता, जनताको हित र स्पष्ट राजनीतिक भिजन हो ।

देशको वर्तमान अवस्था र पार्टीभित्रको विद्रोहलाई मध्यनजर गर्दै शेरबहादुर देउवाले स्वयं विशेष महाधिवेशनमा पुगेर मैत्रीपूर्ण ढंगले सक्षम नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने पहल गर्नुपथ्र्यो। त्यसो भएको भए सम्भवतः पार्टी फुट्नबाट जोगिन सक्थ्यो। पार्टी विधानअनुसार करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अधिवेशनको माग गरेको भनिएको अवस्थामा त्यसलाई संवादबाट समाधान गर्नुको साटो गगन थापा, विश्वप्रकाश शर्मालगायतलाई कारबाही गर्दै सदस्यतासमेत खोस्नु विद्रोहलाई झन् चर्काउने कदम बन्यो ।

यस्तो प्रवृत्ति नेपाली कांग्रेसमा मात्र होइन, नेपालका धेरैजसो राजनीतिक दलहरूमा देखिने साझा रोग हो। पदमा पुगेपछि पार्टी सकिए पनि पद नछोड्ने मानसिकता व्यापक छ। राजनीतिक दल कुनै एक व्यक्तिको स्वामित्व होइन; यो कार्यकर्ता, समर्थक र जनताको सामूहिक योगदानबाट बनेको संस्था हो। तर नेतृत्व तहमा पुगेपछि “यो पार्टी मेरो हो”, “कार्यकर्ता मेरा रैती हुन्” भन्ने भ्रम पलाउँछ। यही भ्रमले गलत निर्णयहरू जन्माउँछ, ती निर्णय कार्यान्वयन हुँदैनन् र अन्ततः पार्टीभित्र विस्फोट हुन्छ ।

नेपाली कांग्रेसको इतिहास हेर्दा पनि यस्ता उतारचढाव नयाँ होइनन्। राणाकालीन निरंकुशताविरुद्ध संघर्षको अगुवाइ गर्ने पहिलो प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेस नै हो। तर समयक्रममा पार्टी कहिले भारतको नजिक त कहिले दरबारको नजिक झुक्दै आएको यथार्थ पनि लुकाउन मिल्दैन ।

वि.सं. २००६ साल चैत २७ गते नेपाल राष्ट्र कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणपछि नेपाली कांग्रेसको औपचारिक स्थापना भएको हो। यसको बीउ भने वि.सं. २००३ साल असोज १६ गते बीपी कोइरालाले भारतको पटनाबाट प्रकाशित ‘द सर्चलाइट’ पत्रिकामार्फत भारतमा रहेका नेपालीहरूलाई संगठित हुन आह्वान गरेपछि रोपिएको मानिन्छ। त्यसै आह्वानको परिणामस्वरूप २००३ साल कार्तिक १५ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो, जसमा जयप्रकाश नारायण र राममनोहर लोहियालगायत भारतीय समाजवादी नेताहरूको सहयोग थियो ।

त्यो समय अंग्रेजी शासनविरुद्ध भारत र राणाशाहीविरुद्ध नेपालमा समानान्तर संघर्ष चलिरहेको थियो। नेपालीहरूले भारतीय स्वतन्त्रता आन्दोलनमा सहयोग गरेका कारण भारतीय नेताहरू पनि नेपालमा प्रजातन्त्र स्थापनाको पक्षमा देखिनु स्वाभाविक थियो। कोइराला परिवारको योगदान निश्चय नै ऐतिहासिक र सम्माननीय छ। तर कसैले ठूलो योगदान दियो भन्दैमा पार्टीलाई उसको निजी सम्पत्ति बनाउनु गलत हो।

वैरगानिया सम्मेलन, सशस्त्र संघर्षको तयारी, वीरगञ्ज र विराटनगरलाई आन्दोलनको केन्द्र बनाउने साहस– यी सबै कांग्रेसको गौरवपूर्ण इतिहासका पाटा हुन्। तर समयसँगै कांग्रेस कोइराला परिवारको प्रभावमा सीमित हुँदै गएको अनुभूति धेरैले गरे। २०१५ सालको निर्वाचनपछि सरकार बने पनि २०१७ साल पुस १ को घटनापछि पार्टीभित्र राजावादी र भारतपरस्त धारहरू अझ स्पष्ट भए ।

नेपाली कांग्रेसमा फुट–जुटको इतिहास लामो छ । अहिलेको फुट नौलो नभए पनि यसको सन्देश भने गम्भीर र दूरगामी छ । गगन थापा नेतृत्वको पक्षले पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन सम्पन्न गरी त्यसलाई विधिसम्मत भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । लेख लेखिँदै गर्दा माघ २ गते २०८२ मा निर्वाचन आयोगले धारा ५१ अनुसार गगन थापालाई वैधानिकता दिएको खबर सार्वजनिक भइसकेको छ ।

अब शेरबहादुर देउवा पक्षले पनि यही यथार्थ स्वीकार गर्नुपर्ने अवस्था आउन सक्छ। यहाँसम्म कि भविष्यमा “मलाई पनि तिम्रो समूहमा समेट” भन्ने परिस्थिति समेत सिर्जना हुन सक्दैन भन्न सकिँदैन । तर त्यो गगन थापा नेतृत्वको भूमिकामा निर्भर हुनेछ ।

अन्ततः नेपाली कांग्रेसको यो फुटले केवल कांग्रेसलाई मात्र होइन, आफूलाई पार्टीको मालिक ठान्ने सबै राजनीतिक नेतृत्वलाई चेतावनी दिएको छ। पहिलेझैँ कार्यकर्ताले आँखा चिम्लेर आदेश पालना गर्ने समय सकिँदैछ। यदि नेतृत्वले समयमै आत्मसमीक्षा गरेन भने यस्तै अवस्था अन्य दलहरूमा पनि दोहोरिन सक्छ । यही सन्देश अहिलेको विद्रोहले सम्पूर्ण नेपाली राजनीतिलाई दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker