तनहूँको ऐतिहासिक सम्पदा

गण्डकी प्रदेशको तनहूँ जिल्ला ऐतिहासिक एवं सांस्कृतिक र जल सम्पदाको दृष्टिले धनी मानिन्छ । नेपालको मध्यभागमा अर्थात् महाभारत र मध्यपहाडी भूभागमा पर्ने तनहूँ रमणिय छ । पवित्र तीर्थस्थल देवघाट धाम पराशर र वेदव्यासको तपोभूमि दमौली, मादी र सेती नदीको सगम छाब्दी बाराही, ढोरबाराही, ऐतिहासिक तनहूँसुर दरवार, पर्यटन नगरी बन्दीपुर, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घा, छिम्केश्वरी, वयापानी भन्ज्याङ र मिर्लुङकोट, ने मुनीको तपस्यास्थल जस्ता ऐतिहासिक सम्पदा तनहूँमा रहेको छ।

तनहूँमा कालीगण्डकी, मादी, सेती, मर्स्याङदी र त्रिशूली जस्ता पवित्र नदीहरुले जिल्ला र स्थानिय तहको भूगोललाई सिमा दिएको छ । जल सम्पदाको धनि तनहूँको मध्य भागमा मादी र सेती नदी बगेको छ । भने लमजुङ जिल्ला संग सिमा वनेर वगेको किस्ती र पाउदी खोलाले तनहूँलाई सिचाई गर्नमा सहयो पुर्‍याएको छ । तनहूँमा नदी किनारका टार, बेसी र नागवेली देखिने पहाडी श्रृखलामा ग्रामीण बस्ती रहेको छ । पृथ्वी राजमार्गको मुग्लीङ देखि चोरकाटे सम्मको करिव ७२ कि.मि.को सडक तनहुँको मध्यभाग भएर निर्माण भएको सडक किनारमा आँबुखैरेनी, याम्पा, सत्रसयफाँट, बरादी, विमलनगर डुम्रेबजार, कमलाबारी, घाँसीकुवा, दमौली, जामुने भन्ज्याङ, थर्पु, खैरेनीटार, दुलेगौडा र कोत्रे बजार पर्दछ । त्यसै गरी डुम्रे-वेसिशहरको सडकले पनि तनहूँलाई यातायातको सुविधा दिएको छ । यो वाहेक आजभोली तनहूँमा धेरै भूभागमा ग्रामीण सडक निर्माण भएका छन । सडक विकास सगै ग्रामीण क्षेत्रमा वजार विस्तार भएको छ । तनहूँको छिम्केस्वरी, कोटाथाम, राइपुरकोट, मिरलुङगकोट र चोक चिसापानी जस्ता पहाडी रमणिय श्रृखंलाले जिल्लाको पहिचान दिएको छ ।

तनहूँ विशेष गरी धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका कारण तपोसाधना, ज्ञानसाधना, साहित्य तथा काव्यसाधनाका र प्राकृतिक सौन्दर्य साधनाको पनि भूमी मानिन्छ । आदिम ऋषि मर्हषिहरुको तपोभूमि मानिएको मादी र सेती गण्डकीको संगमस्थल दमौलीमा पराशर आश्रम, व्यासगुफा मादी र सेतीको जलप्रवाह एवं जल विहार क्षेत्र पर्दछ । दमौली बजार नजिकै रहेको छाब्दी बाराही महहत्वपूर्ण धार्मिक तीर्थस्थल हो । त्यसै गरी वसन्तुपरमा रहेको थानीदेवी माइ, चन्द्रावती, लुतेबराह र आधीमूल बाराही पनि तनहूँ धामर्ीक सम्पदामा पर्दछन् । तनहूँमा प्राकृतिक सांस्कृतिक, धार्मिक एवं पुरातात्विक रुपमा धेरै अवलोकन गर्न सकिने पर्यटकीय स्थलहरु रहेका छन् । पौराणिक कालमा भिमसेनले लगाएको बाँध र त्यसको किल्ला, श्रृङ्ग ऋषिको तपोभूमि ऋषिङ, ऐतिहासिक सम्पदा सामरिक र सार्वजनिक सम्पत्ति हुन् । तनहूँमा ऐहिासिक, धार्मीक मात्र होइन पुरातात्विक सम्पदाहरु पनि अध्ययन अन्वेषण गर्न सकिने धेरै स्थलहरु छन् ।

त्रिशुली र कालीगण्डकीको पवित्र संगम स्थल देवघाटधाम पनि तनहूँको अर्को धरोहर हो। पवित्र तीर्थस्थल देवघाट चितवन, नवलपरासी र तनहुँ जिल्लाको सगमस्थलमा पर्दछ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मर्स्याङदी, दरौंदी, मादीलगायत नदी पनि मिसिएर देवघाटमा पुगेपछि नारायणि नदी बन्दछ । माघेसंक्रान्ति, वैशाख संक्रान्ति, ठूली एकादशी, बालाचतुर्थी, ग्रहण लागेको समय, साउन महिनालगायत समयमा तीर्थाटनको लागि भीड लाग्ने गर्दछ । स्वर्गबाट देवी देबता आई यहा स्नान गर्ने हुँदा देवघाट भनिएको हो ।

हिन्दू धर्मावलम्वीहरुको पवित्रस्थल देवघाटधाम हिन्दूहरुको महत्वपूर्ण तीर्थस्थलका प्रयागहरु मध्ये आद्रि्रयाग देवघाटधाम हो । देवघाटमा माघे सक्रान्तिका दिन ठूलो मेला लाग्दछ । जीबनको उत्तरार्धमा कैबल्य प्राप्तिको गर्न कल्पबासमा जानेहरुको लागि अत्यन्तै उपयोगी देवघाटधाम पाल्पा का राजा मुनि मुकुन्द सेनको प्रतिक स्वरुप चक्र शिला, गलेश्वर बाबा, अघोरी बाबाका मठ, लक्ष्मीनारायण मन्दिरका साथै दर्जनौ मठ मन्दिर, देबालय, आश्रम र मुर्तिहरु स्थापित छन । शंख र घन्टाको मधुर ध्वनी, भजन कीर्तनको सांगीतिक लय आदिले देवघाटधाम आध्यात्मिक दृष्टीले तीर्थस्थल बनेको छ । तनहूँको पुरानो दरवार तनहूँसुर दरवार पनि ऐतिहासिक हो । तनहूँ जिल्लाको नामकरण पनि तनहूँसुरबाटै भएको हो । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरो भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । अहिले तनहुँसुरको सेनवंशी राजाको दरबार भग्न अवस्थामा छ ।

सेनवंशी राजाको समयमा न्याय निसाफ गर्न प्रयोग गर्ने गद्दीचौतारामा बसेर राजाले भाषण गर्ने, निर्णय लिने र त्यसलाई जनताले कार्यान्वयन गर्ने चलन थियो भन्ने इतिहास छ । तनहुँसुर अहिले भने उजाड जस्तै बनेको छ । तनहुँसुरका नेवार समुदायको हटिया अहिले रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बसाइँ सरेर गएका छन् । तनहुँसुरबाट हिमश्रृखला, महाभारत पर्वत श्रृखला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । यस ठाउँमा सहिद स्मृति पार्क समेत निर्माण गरिएको छ । विसं २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा यस ठाउँका ६ जना शहीद भएका थिए । तनहुँसुरमा सेनवंशी राजाको शासनकालमा सेनाले प्रयोग गरेको तोपको अवशेष, सेनवंशी राजाको समयको इनार, टुँडीखेल, कालिका मन्दिर, दरबार क्षेत्र आकर्षाका रुपमा रहेका छन् । साथै, तनहुँसुर दरबार, चण्डीथान, गद्दीचौतारा, साउने कुवा, राजाको पंधेरो, कुँडापानी, रानीपोखरी, धर्मशाला, भगवतीपानी मन्दिर पनि तनहुँसुरको आकर्षाको रुपमा रहेको छ।

म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोडने सेती नदीमाथिको झोलुङ्गे पुल अहिले जीर्ण अवस्थामा रहेको छ । करिब एक सय वर्ष अगाडि शुक्लागण्डकी नगरपालिका-१० मा रहेको फलामखानीको फलाम उत्खनन् गरी पुल निर्माण गरिएको थियो । तर अहिले मोटरमार्ग बनेपछि झोलुङ्गे पुल भत्कीने अबस्थामा पुगेको छ। पुलमा राखिएको शिलापत्र अनुसार त्यो पुल बनाउने काँचो फलाम तनहुँकै ढोरफिर्दीको मिनामखानीबाट निकालिएको थियो । मिनामखानीबाट अहिले फलाम निकालिँदैन । काँचो फलामलाई काटेर बलियो साङला स्थानीय मजदुरहरुबाटै बनाइएको थियो । पुलको ला पनि फलामकै, साङला पनि फलामै भएको यो पुलमा आवस्यक पर्ने किला काँटी पनि हातबाटै बनेका थिए। फलामबाटै यो साङलैसाङलाको झोलुङे पुल बनेको थियो । पुलको दुवै साइडका लाहरु साङला आकार छन् । पुलको साङला जोडेर जमिनमा गाडेर बलियो बनाइएको छ भने ती । साङला पनि आर्कषक छन् ।

पर्यटकहरुका लागि प्रख्यात मानिएको तनहूँको पुरानो सदरमुकाम एवं राणाकालीन व्यापारिक केन्द्र बन्दीपुर हो । डुम्रे बजारबाट ७ कि.मि. माथि दक्षिणमा झण्डै चार हजार पाचँसय फिटको उचाईमा रहेको बन्दीपुर प्रकृति र संस्कृति दुवै रुपमा जीवन्त धरोहर बनेर उभिएको छ । पर्यटकहरुका लागि बन्दीपुरले सुन्दर गन्तव्य बोकेको छ । प्राकृतिक सौन्दर्यको ताज सिउरेर बन्दीपुर बसेको छ। प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरको जिउँदो सभ्यताको रुपमा बन्दीपुरको आकर्षण आज पनि उत्तिकै ताजा छ । अठारौँ शताब्दीमा भक्तपुरबाट नेवार जातीहरुले बन्दीपुरमा काठमाडौं उपत्यकाका मल्लकालीन कला संस्कृति भित्राएका थिए । इतिहास हेर्ने हो भने बन्दीपुर राणा शासनको वेला वि स १८४६ देखि १९५१ सम्म ब्यापारीक उन्नती र अन्य विकास समेत उच्चतम अवस्थामा रहेकेा बन्दीपुरको इतिहास छ । २०१८ साल भन्दा पहिले तनहूँ पश्चिम ३ नम्वरमा राखिएको थियो । त्यस वखत पश्चिम ३ नं.मा तनहू, कास्की, लमजुङ र मनाङ सबै जिल्ला एउटै थिए । तनहूँको इतिहासमा वि.स. १८४० भन्दा अगाडि यो एउटा शक्तिशाली राज्यको रुपमा रहको पाइन्छ । नेपालको एकीकरण हनुपूर्व तनहुँ राज्य चौबिसी राज्यमा त्रिशक्ति राज्यको रुपमा थियो । पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गर्ने अभियानको क्रममा समते यो तत्कालीन राज्यलाई एकीकरण गर्न असफल भएका थिए । एकीकरण हुनुपूर्व तनहु राज्य विशाल थियो यसको व्यापकता हालको तनहूँको अतिरिक्त चितवन र भारतको बिहार प्रान्तको बेतिया जिल्लाको भूभागसम्म फैलिएको पाइन्छ ।

पृथ्वी राजमार्ग बनेपछि सदर मुकाम दमौलीमा सर्नु र ब्यापारीक केन्द्रपनि दमौली, डुम्रे, विमल नगर, खैरेनी, भन्सार, आदि स्थानमा विकास हुदै जाँदा वन्दिपुरका आदिवासि नेवार जातिहरु विस्तारै ब्यापारको खोजिमा विस्थापीत हुन पुगे । तर आज भोली वन्दिपुरको रनकै अर्कै छ । विस्थापीत बन्दीपुरे क्रमस पुन वन्दिपुरमा फकर्ने क्रम बढन थालेको छ । खडगदेवी, मुकुन्देश्वरी, विन्ध्यावासिनी, महालक्ष्मी मन्दिर र ऐतिहासिक गढी टुँडीखेल र मनोरम प्राकृतिक हिमाली दृश्य आन्तरिक र बाहृय पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर आकर्षाको केन्द्र भएकोछ। सांस्कृतिक श्रृखलामा घाँटुनाच, चुड्का, बालन, लाखे, सोरठी, मारुनी नाच, विस्केट जात्रा, रोपाइँ जात्रा, पातालद्वारी र आधिमूल जस्ता लोकप्रिय जात्राले संस्कृतिको परिचय पनि बन्दीपुरमा प्रदर्शन हुने गर्दछ । काठमाण्डौबाट १४३ कि मी र पोखरा बाट ७३ कि मी दुरीमा रहेकेा ऐतिहासिक बन्दीपुर पर्दछ । वेसि र टार भू भागको वाहुल्य रहेकेा तनहूँको विच भागमा रहेकेा वन्दिपुर सलक्क उठेकेा पहाडि भुभागको दम्सीलो थाप्लोको पहाडमा छ ।

दमौलीसंग जोडिएको मानहुँकोटको हिजोआज जताततै चर्चा छ । दमौली बजार कुहिरोको घुम्टो ओढेको लोभलाग्दो दृश्य हेर्न दैनिक हजारौं पर्यटक मानहुँकोट पुग्दछन्। मानहुँकोटबाट विशेष गरी दमौली बजार कुहिरोको घुम्टो ओढेको दृश्य सूर्योदय र सूर्यास्तमा मनमोहक देखिन्छ । अर्को तर्फमानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङलगायत हिमश्रृखला देखिन्छन् । सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम र निर्माण स्थललगायत मनोरम ठाउँ मात्र होइन मानहुँबाट व्यास नगरपालिकाको १४ वटै वडा देखिन्छ । तनहुँ जिल्ला ऐतिहासिक, धार्मिक रुपले पवित्रभूमिको रुपमा रहेको छ । तनहूँ भौगोलिकरुपमा लेक, वेशी, पहाड भू-बनोटको विविधता पाईन्छ । तनहुँमा मुख्यः मगर, गुरुङ, ब्राहृमण, क्षेत्री, नेवारलगायत अन्य विभिन्न जातजातिको बसोवास रहेको छ । जनजातिको बसोबासको बाहुल्यता रहेको तनहूँ भित्र विभिन्न जात, जाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराको विविधतामा एकता रहेको पाइन्छ । विविध जातजाति, रहनसहन, धार्मिक, सांस्कृतिक विविधता रहेको एवम् कौरा नाच, झयाउरे नाच जस्ता विभिन्न संस्कृतिले भरिपूर्ण रहेको छ।

तनहूँ मगरजातीको थलो हो मगर भाषामा पानीको माच्छालाई डिस्या भनिन्छ । पानीभित्रको माच्छालाई पुजागरिने भएकोले तर्ीथस्थलको नामपनि छाव्दी रहन गएको कुरा जन विस्वास छ । छाव्दी वराह जादा बाटोबाट व्यासगुफा, परासरगुफा, रहेको पवित्रस्थल ,सेती, मादी, सागे, वुल्दी, छाव्दी र गुनादी नामका पन्च नदी र खोलाको पवित्र संगमस्थल दमौली समेतको अवलोकन गर्न सकिन्छ । पौराणिक मान्यता अनुसार दमौलीको व्यास गुफावाट नै व्यासऋषिले १८ पुराण १८ उप-पुराण ब्रह्र सुत्र लेख्नुको साथै श्रुति परम्परामा आधारित वेदलाई लिपिवद्ध गरी ४ भागमा विभाजन गरेका थिए। तनहूँमा छाव्दी वराह वाहेक अर्को प्रख्यात वराह ढोरवराह हो । ढोरवराहको मन्दिरमा जान खैरेनीटार भएर जान पर्दछ । धार्मीक दृष्टिकोणले खैरेनीटार नजिकै ऐतिहासिक भिमाद वजार पर्दछ । तनहूँमा रहेका ऐतिहासिक, धार्मीक, साँस्कृतीक, पर्यटकिय र साहित्यिक स्थलहरु अध्ययन अनुसन्धानको लागि महत्वपूर्ण मानिन्छ । भानुभक्तको जन्मस्थल चुदी रम्घा, राइपुर, खोलाखेत, घासीकुवा जस्ता अनेकौ साहित्यिक पर्यटकिय स्थल पनि तनहूँमा पर्दछ । ऐतिहासिक पुरातात्विक तथा सामरिक महत्वका तनहूसुर, मिर्लुङकोट, क्यामिनकोट, भुजिकोट, रिसिङ, घिरिङ, गलेखामकोट जस्ता स्थलहरु पनि तनहूँको ऐतिहासिक सम्पदा हुन ।

तनहूँ जिल्लाको सबैभन्दा होचा वस्तीहरुमा देवघाट २०० मिटर कोता २१० मिटर दमौली ३२० मिटर रहेको छ । तनहूँको अधिकांश भूभाग ३०० मिटर देखि १२०० मिटर बीचको होचो सुन्दर पहाडी भूभागमा फैलिएको छ । तनहूँमा अहिले भानु, भिमाद, व्यास र शुक्लागण्डकी समेत गरी ४ नगरपालिका भएको छ भने आँबुखैरेनी, ऋषिङ्ग, घिरिङ, देवघाट, म्याग्दे र वन्दिपुर समेत ६ वटा गाउँपालिका समेत १० स्थानीय तह भएको छ । तनहूँ जिल्ला पूर्वमा चितवन र गोर्खा, पश्चिममा स्याङजा, उत्तरमा कास्की र लमजुङ तथा दक्षिण पश्चिममा पाल्पा, नवलपरासी जिल्ला रहेका छन। रमणिय मध्य पहाडी जिल्ला तनहूँमा ऐतिहासिक कोट, धार्मीक स्थल र ग्रामीण जनजीवनको बारेमा अध्ययन गर्न सकिने धेरै स्थलहरु छन । लेखक दाङ निवासी हुन ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker