विदेशबाट फर्किएर गरिएको सुन्तला खेतीबाट शुक्लागण्डकीका कमलले यस वर्ष ४० लाख कमाए

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताउनुभयो । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ एक हजार पाँच सय सुन्तलाका बोट छन् । उहाँले भन्नुभयो, “रोजगारीका लागि विभिन्न देश पुगे, त्यहाँ आत्मसन्तुष्ट हुन सकिन, स्वदेशमै फर्किएर केही गर्छु भन्ने मानसिकता बनाएर आएपछि सुन्तलाखेतीमा लागेको हुँ ।”
उहाँले विसं २०७६ मा कृषि महत फार्म दर्ता गरी व्यवस्थितरुपमा सुन्तलाखेती अगाडि बढाइरहनुभएको छ । उहाँका अनुसार सुन्तला बगैँचामा एक हजार पाँच सय उत्पादन दिने तथा सात सय उत्पादन नदिने बिरुवा छन् । उत्पादित सुन्तला काठमाडौँस्थित कालीमाटीमा बिक्री हुँदै आएको छ । उहाँले यस वर्ष कालीमाटीमा प्रतिकिलो रु एक सय २० सम्म सुन्तला बिक्री गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष रु ६० लाखको सुन्तला बगैँचाबाटै बिक्री भएको थियो, तर यस वर्ष उत्पादनमा ह्रास आउँदा कम आम्दानी भयो ।”
नाम्सीकोट सुन्तला पकेट क्षेत्रका रुपमा परिचित छ । महतले नाम्सकोटका करिब दुई सय घरधुरीलाई समूहमा विभाजन गरी गत वर्ष कृषि ज्ञान केन्द्र तनहुँले करिब रु ४० लाख बराबरको कार्यक्रम सहयोग गरेको जानकारी दिनुभयो । उहाँका अनुसार शुक्लागण्डकी नगरपालिकाले किसानलाई सुन्तलाखेतीका लागि ड्रम, घाँस काट्ने मेसिनलगायत सामग्री अनुदान दिएको थियो ।
उहाँले यस वर्ष रु चार करोड बराबरको सुन्तला खरिद गरी बिक्री गरेको जानकारी दिनुभयो । म्याग्दे गाउँपालिकाका किसानबाट रु एक करोड ५० लाख र शुक्लागण्डकीका अलैँचे, नाम्सीकोटलगायत टोलबाट रु दुई करोड ५० लाखको सुन्तला खरिद गरी बिक्री गरेको उहाँले बताउनुभयो । उहाँले सुन्तला बगानबाट प्रतिकिलो रु ७० देखि रु ७५ मा खरिद गरी रु एक सय २० सम्म बिक्री गर्ने गरेको सुनाउनुभयो ।
तनहुँमा यस वर्ष कृषकले सुन्तला बिक्री गरेर रु ३० करोड भित्र्याएका छन् । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका बागवानी विकास अधिकृत वीरेन्द्र धितालले यो वर्ष करिब रु ३० करोड बराबरको सुन्तला उत्पादन भएको जानकारी दिनुभयो । जिल्लामा यस वर्ष तीन हजार सात सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको प्रारम्भिक अनुमान छ ।
कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । उक्त अवधिमा तीन हजार छ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तलाखेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ ।
कार्यालयले सुन्तलाखेती गर्ने कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । धितालले भन्नुभयो, “कृषकलाई सुन्तला बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइरहेका छौँ ।” तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् ।
 काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।  रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker