ठाडोभाका लोकगीतका एक हस्ती “डिलबहादुर अधिकारी”
देब बस्न्यात

तनहुँको सेरोफेरोमा ठाडोभाका लोकगीत गाउने गायक गायिकाहरुको नामनामेसी र उनीहरुको पारिवारिक एवं व्यैयक्तिक विवरण संकलन गर्ने मन भयो । नामनामेसी संकलन गर्ने अभियानको सिलसिलामा, गल्बुबेसी आइपुगियो । गल्बुबेसी आइबसोबास गर्ने धन्नै आधा दर्जन गायक गायिकाहरुको नाम फेला पर्यो । जस्मा डिलबहादुर अधिकारी, शमशेरबहादुर अधिकारी, सुशिला दुरा, देखमान दुरा, सुनबहादुर दुरा, तिलविक्रम अधिकारी, चन्द्रबहादुर अधिकारी बुद्धिसागर खनाल, बुद्धिराज मिश्र, भीमबहादुर बस्नेत आदि आदिको नाम भेटियो । यही पेरीफेरीमा र्सवप्रथम गल्बुबेसीको बाहिनी खोला नजिक भट्टचोकमा पुगियो।
वास्तवमा करपुटार, पुतलीबजार, मिर्लुङ पोखरीछाप र शिःसाघाट ठाडोभाका लोकगीतका उद्भव र मञ्चन स्थलहरु हुन् । ठाडोभाका गीतका हस्तीहरुमा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ जन्मदाता हुन् भने देवीगुरुङ यस भाकाका संरक्षक एवं भेंडीखर्के साइला उर्फ दीर्घराज अधिकारी यस भाकाका स्वरसम्राट हुन् । ठाडोभाका लोकगीतका स्थानीय उपभेदमा एउटा मिर्लुङ्गे ठाडोभाका पनि हो। मिर्लुङ्गे ठाडोभाका शमशेरबहादुर खड्कासंग गीतका सहेली बनेर हिंड्दा हिंड्दै लोकगीत गायन क्षेत्रमा अधिक प्रभाव जमाउन पुगेका व्यक्तित्व डिलबहादुर अधिकारी पनि एक हुन। भानु नगरपालिका-१३ लम्केमा जन्मथलो भएका अधिकारी हाल व्यास नगरपालिका-१ गल्वुबेसीमा बसोबास गर्छन ।
डिलबहादुर अधिकारी, सन्तबहादुर अधिकारी र कुशी अधिकारीको नाती, भीमबहादुर अधिकारी र सेतुमाया अधिकारीका छोरा हुन् । वि.सं. २००७ साल २१ गतेका दिन साविक सतिस्वाँराको लम्केमा जन्मेका अधिकारी पेशाले कृषक हुन् । स्वदेश तथा विदेश तथा कम्पनीहरुमा जागिरे नभएका अधिकारी खेती किसानिमा नै रमेर आफ्नै गाउँघरमा जीवन व्यतित गरे । जीवनको उत्तर्रार्धमा गाउँको बसाइलाई बिट मारेर सदरमुकाम दमौलीमा स्थायी बसोबास गर्दै आएका छन् । यस पूर्व लम्के सामुदायीक वन उपभोक्ता समुहको अध्यक्ष, सूर्यमुखी प्राथमिक विद्यालयको संस्थापक एवं विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेर सेवा गरेका थिए । गाउँका मानिस शहर उन्मुख भएपछि वडो दुःख र कष्ट साथ स्थापना गरेको प्राथमिक विद्यालय अहिले विद्यार्थी नहुँदा बन्द भएको छ । परिवारमा श्रीमती मिश्री मायाँ अधिकारी, छोराहरु नरबहादुर, विष्णुबहादुर, छोरीहरु चिजामायाँ वानिया र कमला माझी रहेका छन् ।
बालकालदेखि नै गीत गाउन भनेपछि रौसिने अधिकारी अन्ततः ठाडोभाका लोकगीतका एक महारथि बन्न पुगे । देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ, भेडीखर्के साइला, देवीबहादुर गुरुङका अनुयायी अधिकारीले मिर्लुङको ठूलोढुङ्गामा लाग्ने जात्रा तथा पर्वहरुमा जुठीगुरुङ, खरी छापकी सुनीमाया गुरुङ, मिर्लुङ सतिपानी हाल डुम्रेबजारकी नवि मियाँ, रुपा मिया, माझघरे सान्नानी मियाँ, मैवल तनहुँका ज्ञानुमाया थापा, मैवल माइत भई ज्यामरुक वयापानी घर भएकी अनिता मगर, साविक सतिस्वाँरा हाल जिताकोट बस्ने जालरानी गुरुङ साविक क्यामिन छापथोककी सर्किनि साइलीहरुसंग जमेर ठाडोभाका गीत गाएको अधिकारी स्मरण गर्छन । विशेष गरी मिर्लुङको पोखरीछापमा गीत गराउने गरेका अधिकारीले योसंगै कर्पुटार, पुतलीबजार, शिःसाघाट, चन्द्रावती बजार र ज्यामरुक वयापानी लाग्ने मेला तथा पर्वहरुमा समेत ठाडोभाका गीतहरु गाएका थिए ।
वि.सं. २०६८ सालमा अचानक बिरामी परेपछि अहिले कान्न कम सुन्ने भएका छन् । कानले धोका दिएपछि ठाडोभाका लयमा दोहोरीगीत गाउने अभियानमा विश्राम लागेको अधिकारी बताउँछन् । मिर्लुङ पोखरीछापमा दोहोरीका खालहरु धेरै भएपछि वल्लो गाउँले र पल्लो गाउँले बीच भनाभन भएनन् भन्न मिल्दैन जस्का कारण मिर्लुङको पोखरीछाप, समजुर र क्यामिनको तारुका समेत तीन/तीन ठाउँहरुमा ठाडोभाका गीतहरु घन्कने गरेको अधिकारी बताउँछन् । त्यो समयमा मिर्लुङको पोखरीछापमा दोहोरी गीत गाउने चर्चित गायककारहरुमा मिर्लुङ तीनघरेका चन्द्रबहादुर अधिकारी, लम्केका शमशेर बहादुर अधिकारी, डिलबहादुर अधिकारी, क्यामिन चिसापानीका हाउडे सार्की, क्यामिन मेवाबारीका मुखिया ठाकु, तनहुँसुर राजारामका पाउ कामी, कर्लुङ माझगाउँका बिजमारे भन्ने उदयलाल बि.क., चामेपानीका खुलाल गुरुङ लगायत थिए । यस्तै, गायिकाहरुमा समजुरका रुपा मिया, नबि मियाँ, सान्नानी मियाँ, पोखरीछापकी कुशी गुरुङ, जुठी गुरुङ, मैवलका ज्ञानुमाया थापा, अनिता मगर, जिताकोटकी लजारानी गुरुङ लगायत रहेका थिए ।










