भूतको कथा : रातीमा सेतीको किनारमा किलो गाड्न गएको केटो नफर्केपछि ….

राजु पौडेल

बाल्यकालबाट युवा अवस्थामा आउने परिवर्तन भनेको अनेकन हुन्छन… शारीरिक परिवर्तन… अंगहरुको विकास संगसंगै मानसिक विकास पनि हुने नै भयो…! यो मानव विकास क्रमको एउटा पाटो नै हो…! जब बाल्य अवस्थाको जुभेनाइल हर्मोन सकिन्छ नि…! स्वर धोद्रो हुने… जुङ्गाको रेखी बस्ने संगसंगै जोश जांगर बढ्ने कुरो अनेकन हुन्छन् !
बढेको सेती पौडेर तर्ने, १–२ तला माथिबाट नै हाम्फाल्न सक्ने, थोरै आफूले भनेजस्तो नभए रिसाइहाल्ने, झगडा गरिहाल्ने स्वाभाव युवा अवस्थामा हुन्छ… अझ भनौ दुइ जना साथी मिलेर यसो उक्साइदिए जे पनि गर्न तम्सिने…! निडर, पहलमान अनि बलको/मनको आँटिलो कहलिने जोशले यो उमेरमा जे पनि गर्न तम्सिने स्वाभाव हुन्छ युवा उमेरमा…! थोरै लगाम नपुग्दा उर्जावान समय गलत दिशातर्फ मोडिन पनि सक्छ !
खैर छोडौ यी कुराहरु… अब जाँउ मूल कुरो तिर…! यस्तै जोसिलो उमेरको कुरा गर्छु म अब…! हुन त अहिले पनि तेही किसिमको जोशिलो नै छु जस्तो लाग्छ मलाइ थोरै परिपक्ता थपिएपनि…. नेपाली नेताहरुले युवालाइ दिएको मापन अनुसार त म अझ बाल्यकाल युवा अवस्थाको ट्रान्जिसनमा छु जस्तो लाग्छ… माथि उल्लेख गरे जस्तै के…!
यस्तै उमेरमा के भयो भने… भुतका कथा हालेर बसेको बेला थियो…! हामी फेरी भुत प्रेत, झाँक्री, वीरे मसान, किचकण्डी, आदिको कथा कहानी सुनेको र तर्साएको पनि मेसो पाएको जमनाको मुन्छे भनम न…! अचेलका केटाटी नपत्याउन सक्छन यस्ता कुरा ! लोडसेडिङ चरम हुन्थ्यो त्यो बेला…. हाइड्रोहरु पर्याप्त नभएर नै हो त्यो बेला त… इन्भर्टर र ब्याट्री बेच्नेको चंगुलमा परेर बनाइएको लोडसेडिङ होइन त्यो बेलाको…! बर्खा मासा हुनुपर्छ… सिमसिमपानी परेको बेला थियो…!
पढ्ने भन्ने तेस्तै हो… बा आमा पढेको भए तेही अनुसारको हुन्थ्यो होला…. होमवर्क नगरेका कारण कुटाइ खाइने डरले कक्षामा अलि सुन्ने, ध्यान दिने गरेको (ध्यान नदिए फेरी हान्थे नि लौरै लौराले) र घरमा होमवर्क (पढ्ने भन्ने त थाहै थिएन भनम) गरेका भरले पढेका हुम हामी….. यस्तो भएसी साँझमा बिजुली हिडेसी साथी भाइ जम्मा भयो… ठाउँ अनुसार, उमेर अनुसारका गफ हुन्थे… हरेक कुरामा उत्सुकता हुने…! हुनी नहुनी फिलिमका, सिलिमका अनि चिलिमका गफ तेही बेला गरिन्थ्यो…! यस्तै बेला एक दिन एक जनाले जोश्यायो…! “राती यो बेला सेतीमा को जान सक्छ ?” कुरै कुरामा ल म जान सक्छु भन्ने एकजना निस्क्यो..! सेती त दाहसंस्कार गर्ने घाट हो हाम्रो… जलाउने, गाड्ने तेही हुन्थ्यो लाशहरु…. कति सेतीले बगाएर ल्याएका लाशहरु त्यहीबाट उठाएर जिल्ला पुर्याउँथे…!
हामीलाई मान्छे मरेको छ भने हेर्न दिन्थेनन् ! लाश देखेर केटाकेटी तर्सियो भने सातो आउन्न भन्थे…! केटाकेटीमा भनेर नटेर्ने भएसी यस्तै यस्तै कहानी हालेर तर्साएरै मार्थे त्यो बेला हामीलाई…! अहिले सम्झन्छु…. फोकटमा चाहिने भन्दा बढी डराउन दिए रहेछन भन्ने कुरा.. ! फेरी सेतीमा त्यो बेला हामी दिउँसो पनि एक्लै जान डराउँथ्यौ..! एक्लै हुँदा दिउँसै नजिकै मान्छे बोलेजस्तो सुनिने, गुनगुन गरेजस्तो…. यस्तोलाइ भट्केका आत्महरुले एक्लै भेटेर छल गरेको भन्थे… म पनि परेको छु यस्तोमा…! रातीमा त राँके भुत हिड्छ भन्ने सुनिन्थ्यो…!
यस्तैमा जान तम्सिने पहलमान आँटिलो भन्दा पनि साथीभाइ माझ म निडर र आँटिलो देखाउन तम्सेको थियो…! यसमा लौ न त भन्ने कुरो भयो…! गएर आए के गरिने भन्ने कुरो भयो…! लौ रु ५०० को बाजी भन्ने निक्र्यौल भयो… हामी नजाने भनौ न उकास्ने टोली ४ जनाले रु १२५ का दरले पर्ने भयो…! लौ जाने भन्ने त भयो… पुगेको प्रमाण के त भन्ने हुँदा हुँदा…! ल एउटा फलामको किलो लिएर जाने… सेतीको किनारमा गाड्ने अनि फर्कने…. भोलिपल्ट हेर्ने र बाजी तिर्ने र पहलमान घोसित गर्ने…! किलो लिएर जाने जानेले बदमासी गर्न नपाउने अर्थात कोही साथी लिएर जान नपाउने एक्लै जानुपर्ने…!
४५ मिनेटमा फर्कनुपर्ने र नफर्के हामी के गर्ने भन्ने पनि हामी चार जना छलफल गर्यौ!  डराउन त जाने साथी बेसरी डराएको थियो… फेरी हामी उकास्ने पनि उसलाई केही भैहाल्यो भने के गर्ने भनेर पनि डराएका थियौं…!
जे जे भएपनि उ जाने भयो अनि सबै तयारी भयो… सिमसिम पानी परेकोले छाता, किलो, किलो ठोक्ने, टर्च लाइट आदि लानुपर्ने भएकोले छाताको सट्टा रेनकोट लगाउने गरी अन्य सामान लिएर जाने कुरो भयो…! रेनकोट नै भनेर तल माथि लगाउने सेट नै हैन फेरी…! घाँटी निकालेर बाहिर खङ्लङ्ग लगाउने खाले… हामी पछिल्ला पुस्ताले रेनकोट नै भने नि बाहरुले तेसलाइ बरखी भन्थे..!
खैर तेही बरखी नै भनम न, हामी बजिया जान सक्दैन फर्कन्छ भन्ने लाइराको थियो..! जान्छु भन्यो र हिड्यो…! गयो जान त… हामीलाइ यो मुलालाइ केही भयो भने त मार्छन… मार्ने मात्र हो र फसिन्छ, ठेंड्कामा हाल्छन भन्ने कुराले डराएका छम… जाने पनि बेकार बोलिएछ भन्ने भाव अनुहारबाट देखिन्थ्यो…! गयो उ… हामी डराइ डराइ डिलबाट हेर्नलाइ लाग्यौ..! केटो अब त फर्कनुपर्ने हो भन्ने बेलासम्म फर्केन अर्थात ४५ मिनेटसम्म पनि आएन…!
के गर्ने अब..! हामी चार जनालाइ पनि जान डर लागेको छ…! अब तल सेतीमा झरेकाको भूत मसानले कक्र्याकुक्रु पारेर लग्यो… मुटु कलेजो झिकेर खायो के के गर्यो हामी भोलि पुलिसले केरकार गरेर ठेंड्कामा कोच्ने कन्फर्म भयो… चौकी घर अगाडि छ… अन्त जान नि परेन… अब कसैले केही नभन्दा नि सिधै चौकी गए भयो भन्ने अवस्था भयो…!
तै अब एकजना अलि पाका दाइ झारफुक पनि गर्नेलाई राँको बालेर भएपनि उसलाइ खोज्न जानु पर्यो भनेर अनुनय विन्ति गर्न गएम… मरिन्जेल गाली गरे, एक एक लात टेक्ने हातले पनि हाने हाम्लाइ… सेतीमा गइदिने भए त्यो पनि सहियो…! गोजीमा सलाइ लाइटर हाले भुतले तर्साउन्न भनेर ५ भाइ राँको बालेर झरियो हिंड्दा अगाडि बस्न नि डर लाग्ने… पछाडि पनि… अगाडि केही जम्काभेट भैहाल्ला भन्ने डर… पछाडिकोलाइ केहीले तान्ने हो कि भन्ने डर… तेही भएर अगाडि र पछाडि राँको बालेर गैयो…!
सेतीको किनारमा त केटो लडिराको… किलो छेउमै गडेको…! केटो गियो अब… मुटु कलेजो फोक्सो भुतले खाइसक्यो भनेर खंग्रङ खुंग्रुङ भैयो…! हामी हामी बोलेको पनि गुन्जिएको छ… सेती कहिले सुसाउँछ कहिले सुसाउन्न..! हामी आफै सासले बोलेका छौं… डरले…. ओटी सुकेको छ हेर्नुस… ओटी भनेको ओठ तालु भन्या के! केटोलाइ छोइहाल्दा नि उही भुत भैसकेर हाम्लाइ समेत खाने हो कि भन्ने डर पो लाग्न थालेको छ…!
पानी पर्न विसाइसकेको थियो..! उसलाइ तेही दाइलाइ प्रेत मन्तर गरेर उठाउ भनियो… के के भने कुन्नी अनि यसो गालामा प्याट्ट पुट्ट पारेर हल्लाएको पानी छम्किएको त आँखा खोल्यो केटोले..! साले भुतै पो भैसक्यो कि भन्ने डर लागेछ आँफुलाइ…! उ आँखा खोलेर हामीलाई हेरेर फेरी तेत्रा मान्छे देखेर चिच्याएर फेरी ढल्यो… फेरी बिउँझ्याएम र हामी हो मु* भनेसी उ अलि होसमा आयो…! कामीराको थियो… हामी पनि देखाउन नमिल्ने गरी कामीरहेका थियौं भनम न ! अनि के भयो तँलाइ भनेको त…! “म त माथि नै बेसरी डर लागेको हो तै पनि भनेर खल्तीमा सलाइ हालेर अनि हातमा लाइटर अनि अर्कोहातमा लाइट लिएर आए…! रात सुनसान भएर आफै हिडेको आवाजले पनि तर्सिएर डराइ डराइ आए… पाइला चालेको आवाज पनि सुनिन्छ…! बहुत डर लागेको थियो… “खोला छेउमै आएर लाइट मुखले चेपेर निहुरिएर किलो ठोक्न लागे… ठ्याक्क घनले हान्यो… आवाज त ठ्याऽऽयायाक…. ठ्याऽऽयायाक गर्दै गुञ्जिन्छ… गाड्नलाइ हानेको एक पटकको आवाज ४–५ पटक आउँछ… यता उता पनि हेरेको छु डराइ डराइ…! अब गड्यो… अब जानु पर्छ… डरले छिटो छिटो जानु छ… लमक लमक छिटो पाइला चाल्छु भनेर यस्सो फर्किन लागेको त मलाइ त के ले के ले तान्यो… पाइलै चलेन….. जति बल गरे झन तान्यो…. पछि त केही थाहा पाइन… एकपटक बेस्सरी च्याठ्ठिएको याद छ… यही ढलेछु” भन्छ…!!
ए छिटो उठा.. यहाँ धेरै बस्न हुन्न… तेसलाइ एउटाले हात समाओ अनि छिटो जाम माथि नै गएर अरु कुरा गरौंला भनेर भनियो अनि उठाएर यसो हिड्न खोजेको त केटोले फेरी तान्यो भन्छ…! के रैच भनेर लाइट बालेर हेरेको त मोरोले त्यो किलो निहुरिएर गाड्दा लत्रेको आफ्नै रेनकोट माथि गाडेको रैच र तेही रेनकोटले पो तानेको रैच…! अब हास्ने कि रुने पो भयो… हाँसियो हास्न पनि मुसुक्क स्टाइलमा अनि छिटो छिटो लाइट र राँको बालेर उक्लिएम माथि घर नजिक..!
डर त बेसरी लाग्यो सेतीको डिल नउक्लुनजेल…! बाहिर कसैलाइ वा घरमा भन्यो भने मार्छन… तल बाजी थापेर जानेका घरकाले थाहा पाए मेरो छोरालाइ मार्न लाको भनेर चौकी पनि पुर्याउँछन…. तेसैले कही कतै कसैलाइ नभन्ने सर्तमा यो घटना सामसुम पारियो…! त्यो दिन सेतीमा जाने साथी र हामी ३ जना अर्को साथीकोमा सुत्यौं… दाइ घर गए..! सेती जाने साथी कामीरहेको थियो…! भुतले तलाइ तानेको होइन मु*… किलो रेनकोटमा गढेर हो… भन्यौ…।
केटोलाइ एक हप्ता दाइले सातो गएको फुके…! केटो तन्दुरुस्त भयो हप्तादिनमा…! रु १२५ का दरले ४ जनाले रु ५०० पनि दिएम उसलाइ..! झारफुक वाला दाजुले दिएको निया निसाफ अनुसार…! “अरु कुरा थाहा भएन… उ गएर किलो गाडेको हो“ भन्ने कुराको फैसला गरिदिए दाजुले…! पैसो लिने पहलमानले पनि हामीले पैसो दिएको पैसोको केही भाग दाइलाइ दिएर तेस्तो नियानिसाफ गरायो कि ? उही जानोस..! बस हामीले मान्यौ..!
यो घटना कसैलाई नभन्ने सर्तमा आज उपरान्तसम्म कसैले नउक्काए पनि आज मैले मौनता तोडिदिएँ..! जे सुकै होला लौ जा…! न यो कथाले दाइ सहित हामी ६ भाइको एकपटक एउटा गेटटुगेदर पो हुन्छ कि त….? भन्ने एउटा आशा के..!
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker