जनचेतनामुलक लघु चलचित्र “संगत” प्रदर्शन
भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला प्रहरी कार्यालय तनहुँ र जेसिआइ व्यास नगरले संयुक्त रुपमा दमौलीमा आइतबार लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी जनचेतनामुलक लघु चलचित्र प्रदर्शन गरेका छन् । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दमौलीका स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुको माझ ‘संगत’ नामक जनचेतनामुलक लघु चलचित्र प्रदर्शन गरिएको हो ।
खैरहनी नगरपालिका र इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा निर्माण गरिएको ४५ मिनेटको लघु चलचित्र ‘संगत’ किशोर चौधरीले निर्देशन गरेका हुन् । उक्त चलचित्रका विषयवस्तु अनुज विश्वकर्माले लेखेका हुन् । युवाहरु दुर्व्यसनीमा फस्न सक्ने कारण मध्ये साथीभाइको गलत संगतको विषयमा चलचित्र केन्द्रित रहेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अहिलेका युवाहरुको महत्वाकांक्षा बढी भएकाले कुलतमा जान सक्ने सम्भावना उच्च रहेको बताए । आफना छोराछोरीको आनिबानी र साथी संगतको बारेमा अभिभावकहरु पनि उत्तिकै सचेत हुनुपर्नेमा उनले जोड दिए । लागु औषध दुर्व्यसनी न्यूनीकरणका लागि सबैको निग्रानी र प्रयत्न आवश्यक रहेको बताउँदै न्यौपानेले डकुमेन्ट्री अभिभावकका माझ पनि प्रदर्शन गरिनुपर्नेमा जोड दिए ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजलाई दुर्व्यसनीबाट मुक्त गर्न घर, परिवार, समाज र प्रशासन सबैको एकता आवश्यक पर्ने बताए । धेरै युवाहरु दुर्व्यसनीको सिकार भइरहेको अवस्थामा उक्त डकुमेन्ट्रीले सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रहरी उपरीक्षक अपिलराज बोहराले लागु औषध नियन्त्रण गर्न प्रहरी प्रशासनको प्रयत्नले मात्र सम्भव नभएकाले नागरिकले पनि यसमा सहकार्य गर्न आवश्यक रहेको बताए । उनले भने, ‘लागु औषधको ओसारपसार र प्रयोग विकराल रूपमा फैलिएको छ, यसको नियन्त्रणका लागि टोल समाज र जनप्रतिनिधि सबैको उत्तिकै भुमिका हुन्छ ।’
आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले युवाहरुलाई सचेत बनाउन चलचित्रले महत्वपुर्ण भूमिका निवार्ह गरेको बताउँदै निर्माता, निर्देशन र आयोजकप्रति आभार व्यक्त गर । कार्यक्रममा जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीले पछिल्लो समय युवाहरु कुलतमा फस्ने क्रम बढ्दै गएकाले सकारात्मक मार्गमा लाग्न प्रेरित गर्न सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जानकारी दिए । साथै जेसिजले स्थापनाकालदेखि नै व्यक्ति भन्दा समाज केन्द्रित कार्यक्रम गर्दै आएको उनले बताए ।









