सेताम्मे हिमाल किन कालो हुँदैछ ?

रामबहादुर थापा/ऋषिरम बराल

“विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भन्नुभयो, “जलवायु परिवर्तनको असर न्यूनीकरणका उपाय अपनाउनु र यससँग अनुकूलन हुनुको विकल्प हामीसँग छैन ।”

पोखरामा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवका अवसरमा सोमबार आयोजित ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ शीर्षकमा भएको समूहगत छलफलमा उहाँले पृथ्वीको बढ्दो तापमानलाई रोक्न स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बताउनुभयो । संरक्षणविद् गुरुङले अहिलेकै गतिमा हिउँ पग्लँदै गए आउँदा केही वर्षभित्रैमा हिमालहरू कालापत्थरमा परिणत हुने उल्लेख गर्नुभयो ।

पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उहाँको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राख्नुभयो । “जलवायु परिर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा आवाज उठाउन पनि हामीसँग नैतिक धरातल चाहिन्छ ।”

कार्यक्रमका अर्का वक्ता जीविकोपार्जन तथा बसाइँसराइविद् डा अमिना महर्जनले जलवायु परिवर्तनले नेपालमा मात्र नभएर सिङ्गो हिन्दूकुश क्षेत्रकै हिमाल सुक्खा बन्दै गएको बताउनुभयो । “जलवायु परिवर्तनले पर्यावरण, कृषि, पर्यटन, स्वास्थ्यलगायत यावत क्षेत्रमा प्रत्यक्ष/अप्रत्यक्ष असर पुर्याइरहेको छ”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रभाव अझ बढ्दै जान्छ, घट्दैन तसर्थ यससँग अनुकूलन हुनुबाहेक अर्को विकल्प छैन ।”

पृथ्वीको तापमान वृद्धि हुँदै जानुमा नेपालको कुनै भूमिका नभए पनि यसको परिणाम भने भोग्नुपरिरहेको उहाँले बताउनुभयो । केही महिनाअघि मुस्ताङको कागबेनीमा आएको बाढी, सन् २०१२ मा हिमपहिरोका कारण सेती नदीमा आएको बाढी त्यसकै उदाहरण भएको उहाँले बताउनुभयो ।

“जलवायु परिवर्तनका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावबारे कम बहस हुने गरेको छ, खासै अनुसन्धान पनि भएको छैन”, डा महर्जनले भन्नुभयो, “नयाँ-नयाँ जनस्वास्थ्यका समस्या निम्तिरहेका छन्, रोग विस्तार भएका छन् ।” उहाँले जलवायु अनुकूलन योजनाका लागि सरकार र अन्तर्राष्ट्रिय क्षेत्रबाट न्यूनमात्र मद्दत आउने गरेको उल्लेख गर्नुभयो । “जति प्रयास स्थानीय समुदायबाट भएको छ, सरकारबाट त्यति हुनसकेको छैन, ‘लस एण्ड ड्यामेज फण्ड’का लागि पनि सरकारले अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनर्ुपर्छ ।”

छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार कुन्द दीक्षितले जलवायु परिवर्तनलाई अब जलवायु संकट भन्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनलाई वातावरणीय समस्याका रूपमा मात्र नहेरेर अर्थ-राजनीतिक पाटोबाट पनि हेर्नुपर्ने धारणा राख्नुभयो । “पृथ्वीको तापमान वृद्धि भइरहेको छ, अबको केही दशकमा हाम्रा हिमालहरू हिमालजस्तै नरहन सक्छन्, त्यसबाट पानीको संकट उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो, “पानीमा आधारित कृषि र जनजीवनमा ठूलो असर पर्छ ।”

हिमालबाट हिउँ रित्तिए नदी र पानीको स्रोत सुक्ने उहाँले बताउनुभयो । नेपालले खनिज तेलको खपत घटाएर स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उहाँले सुझाव छ । पत्रकार दीक्षितले पेट्रोलियम पदार्थको सट्टा जलविद्युत् र नवीकरणीय ऊर्जाको प्रयोगलाई राज्यले प्रोत्साहित गर्नुपर्ने धारणा राख्नुभयो ।

“नेपालमा उत्पादन हुने बिजुली स्वदेशमै खपत गर्न विद्युतीय सवारीसाधन चलाउनदेखि भान्छामा पनि विद्युतीय उपकरणको प्रयोगलाई बढाउनु आवश्यक छ”, पत्रकार दीक्षितले भन्नुभयो, “पृथ्वीको तापक्रम बढ्नुमा खनिज तेलको प्रमुख हात छ, यसको सट्टा अब स्वच्छ ऊर्जा प्रयोग गर्नर्ुपर्छ ।” उहाँले नेपालको कुल आयातको २५ प्रतिशत पेट्रोलियम पदार्थले ओगट्ने गरेको बताउनुभयो ।

जलवायु परिवर्तन र खाद्य सुरक्षामा अनुसन्धानरत डा जगन्नाथ अधिकारीले हिमालको सम्बन्ध नेपाली संस्कृतिसँग पनि जोडिएको बताउनुभयो । “बिहानै हिमाल हेर्यो भने दिन पवित्र हुन्छ भन्ने मान्यता छ, विभिन्न देवीदेवताका नामबाट पनि हिमाललाई पुकारिन्छ”, उहाँले भन्नुभयो, “हिमालय क्षेत्र मानिसको जनजीवन र संस्कृतिसँग प्रत्यक्ष जोडिएको छ, हिउँ नरहे हाम्रा सांस्कृतिक परम्परा पनि हराउन सक्छन् ।” हिउँ पग्लँदै गएपछि पोखराबाट देखिने हिमालको सुन्दरता पनि विस्तारै खस्कँदै गएको डा अधिकारीले बताउनुभयो ।

हावापानीमा आएको परिवर्तनका कारण कृषि उत्पादन कम हुने, बालीनालीमा रोग कीराले सताउनेजस्ता समस्या बढिरहेको उहाँले बताउनुभयो । “कृषि उत्पादन घट्दा खाद्य सुरक्षामा पनि असर पुग्छ, मुस्ताङ, मनाङजस्ता हिमाली जिल्लामा त हिउँ नपरेसम्म खेती बाली नै हुँदैन”, डा अधिकारीले भन्नुभयो, “प्राकृतिक विपद्को पनि उस्तै जोखिम छ, जलवायु परिर्वतनका बहुअसर छन् ।” उहाँले जलवायु परिवर्तनसँग जुध्न नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउनुपर्ने धारणा राख्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker