शुक्लागण्डकीका वडाबाटै गर्भवती र पाठेघर जाँच सेवा

तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडावडैबाट निःशुल्क रुपमा गर्भवती एवं पाठेघरको जाँच कार्यक्रम अगाडि बढाएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखा मार्फत वडावडामा स्वास्थ्यकर्मी परिचालन गरी गर्भवती महिलाहरुको भिडियो एक्स-रे एवं पाठेघरको क्यान्सरको प्रारम्भिक जाँच गर्न थालिएको हो ।
स्वास्थ्य शाखा प्रमुख डिबि थापा मगरका अनुसार हालसम्म भिडियो एक्सरे सेवा ४३ जनाले लिएका छन् भने एक जनामा समस्या देखिएकाले थप उपचारका लागि रिफर गरिएको छ ।
त्यस्तै, पाठेघरको प्रारम्भिक जाँच २७४ जनाले गराएकोमा ६ जनालाई थप चेकजाँचको लागि रिफर रिएको छ। महिलाको पाठेघरको क्यान्सर देखिने क्रम बढिरहेको र अन्तिम अवस्थामा क्यान्सर पत्ता लाग्दा उपचार गरेपनि महिलाको मृत्युसम्म हुने जोखिम बढ्को उनले बताए ।
उनले भने, ‘पाठेघर क्यान्सरको सम्भावित अवस्थालाई समयमै पहिचान गर्न यथाशक्य चाँडो उपचारका लागि भिआइए जाँच प्रभावकारी देखिएको छ ।’ अभियान अन्तर्गत आगामी २६ चैत्रमा वडा नं. १० मा रहेको ज्याङलादी शहरी स्वास्थ्य सेवा केन्द्रमा भिआइए जाँच गरिने भएको छ। सो क्षेत्रका सम्पूर्ण महिलाहरुलाई भिआइए जाँचका लागि उपस्थित हुन पालिकाले अनुरोध गरेको छ ।










