चुँदीरम्घा, पर्यटन र भानुभक्तको जन्मभूमी
के.बि. मसाल

पर्यटनको क्षेत्रमा धेरै बिट भएका छन । धेरैको मनमा पर्यटक भन्ना साथ नयाँ ठाउँ, संस्कृति, भाषा, रहनसहन र प्राकृतिक सौन्दर्यको अनुभव लिनको लागि यात्रा भन्ने हुन्छ । हुन पनि हो धेरै पर्यटकहरु केही समयका लागि एउटा ठाउँमा पुग्छन, त्यहाँको ऐतिहासिक स्थल, सांस्कृतिक सम्पदा, परम्परा, खानपान, लोकजीवन आदिको अवलोकन गर्छन। तर स्रष्टा पर्यटनको विशेषता भने छुट्टै हुन्छ । यात्रामा स्रष्टा पर्यटकले साहित्य, इतिहास र संस्कृतिलाई आपसमा जोडछन। आफु पुगेको स्थानको साहित्यिक महत्व उजागर गर्छन । स्रष्टा पर्यटकहरुले शब्द मार्फत पाठकलाई देशप्रेम, भाषा–संस्कृति र साहित्यप्रति आकर्षित गराउँछन । सारमा भन्नुपर्दा, सामान्य पर्यटक आँखाले सौन्दर्य देख्दछ । तर स्रष्टा पर्यटक भने मनले अनुभूति गर्दछ ।
आजभोली धेरै स्रष्टा पर्यटकहरु साहित्यकार अर्थात स्रष्टाहरुको जन्मस्थलमा पुग्ने गर्दछन । स्रष्टा पर्यटनमा यो राम्रो अभ्यास पनि हो। भानुभक्त आचार्यको जन्म तनहुँको भानु–३ चुँदी रम्घाको शिखर कटेरीमा बि.सं. १८७१ आषाढ २९ गते धनञ्जय आचार्य र धर्मावती देवीका एक मात्र सन्तानका रुपमा भएको थियो । भानुभक्त आचार्य पण्डित श्रीकृष्ण आचार्यका नाति थिए । श्रीकृष्ण आचार्यका छ भाइ छोरामध्ये धनञ्जय जेठा थिए। यी पनि विद्वान थिए । धनञ्जय पाल्पा तहसिलका हाकिम खरदार थिए । धनञ्जयको धेरै वर्षसम्म सन्तान नभएकाले सन्तान प्राप्तिका लागि उनले १० वर्ष सूर्यको उपासनापछि ४० वर्षको उमेरमा धनञ्जयलाई पुत्र प्राप्त भएको थियो। भानुभक्त आचार्य नेपाली साहित्यका प्रथम महाकवि हुन । जसले संस्कृतमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरेर आम नेपाली जनतालाई साहित्यमा पहुँच दिलाएका थिए ।
स्रष्टा पर्यटकहरु जिज्ञासु हुन्छन । चुँदी रम्घा पुगेपछि साहित्यकार पर्यटकहरुले आदिकवि भानुभक्त आचार्यको जन्मभूमीको प्रत्यक्ष आफ्नो आखाँले देख्दा उत्साहित हुन्छन । अरुले लेखेका कृतिमा पढेका भानुको जन्मस्थल र आफैले देख्दाको फरक तुलना गर्दछन । कतिपय स्रष्टाहरुले खोज अनुसन्धान गर्दा नयाँ लुकेको इतिहास फेला पार्दछन। आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका उज्यालो सूर्य हुनुहुन्छ । भानुभक्तले नेपाली भाषामा रामायण लेखेर भाषा विकासमा योगदान गर्नुभयो र आम नेपालीहरुको मनमा साहित्यको ज्योति पनि बाल्नु भयो । स्रष्टा पर्यनको लागि ऐतिहासिक चुँदी रम्घा गाउँ भानुभक्तको स्मृति, साहित्यिक योगदान, र नेपाली भाषा–साहित्यको विकासको सन्दर्भमा पुग्नै पर्ने हुन्छ । तनहुँको चुँदी रम्घामा अझै पनि पुराना ढुंगे घर, हरियाली डाँडाकाँडा र स्थानीय संस्कृतिको सुगन्ध पाइन्छ । चुँदी रम्घामा भानुभक्तको स्मृतिमा बनाइएको भानु पार्क, भानु संग्रहालय र भानुभक्तको शालिक पर्यटक तथा साहित्य प्रेमीहरुका लागि मुख्य आकर्षण बनेका छन ।
भानुभक्तको जन्मभूमी नेपाली साहित्यमा मात्र होइन, नेपालको सांस्कृतिक पर्यटनमा पनि महत्वपूर्ण केन्द्र बनेको छ। साहित्यिक पर्यटनमा भानुभक्तका कृति, जीवनशैली, र स्मृति स्थलहरुको अवलोकन गर्न आजभोली विद्यार्थी, शोधकर्ता तथा साहित्य अनुरागीहरु चुँदी रम्घा पुग्दछन । भानुभक्तले रामायण जस्तो धार्मिक ग्रन्थ अनुवाद गरेका कारण उनको जन्मभूमिलाई धार्मिक भावनासँग पनि जोडेर अवलोकन गरिन्छ । प्राकृतिक सौन्दर्य रम्घा क्षेत्र कलकल बगिरहने चुदीखोला र हरियाली फाट, पहाडी भू–दृश्य, र शान्त वातावरणले पर्यटकहरु मोहित हुन्छन । पर्यटक कुनै पनि देश वा क्षेत्रको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने पात्र हुन । प्राकृतिक सौन्दर्य हेर्न, पर्वतीय क्षेत्रमा ट्रेकिङ गर्न, धार्मिक स्थलको दर्शन गर्न, वा मनोरञ्जनको खोजीमा यात्रा गर्ने पर्यटक र साहित्यिक पर्यटक बीचमा धेरै फरक हुन्छ । प्राकृतिसंग रमाउने पर्यटकहरुको मुख्य उद्देश्य दृश्यावलोकन र मनोरञ्जन हुन्छ । तर, साहित्यिक पर्यटक भनेको ती पर्यटक हुन जहा पुग्दछन त्यहाँको साहित्यिक महत्व, लेखकको जीवन, साहित्यक कृति, वा साहित्यसँग सम्बन्धित स्थल खोज अनुसन्धान गर्न खोज्दछन । साहित्यिक पर्यटकहरुको उद्देश्य रमाइलो, मनोरञ्जन मात्र नभएर साहित्यिक महत्व र अनुभव गर्न खोज्दछन ।
पर्यटकहरको रुचि अनुसार प्रकृति, संस्कृति, साहसिक गतिविधि साहित्य, लेखक, कृति र साहित्यसँग सम्बन्धित स्थानहरुको खोज हुन्छ । साहित्यिक पर्यटकले यात्रामा अनुभूति दृश्य र भौतिक अनुभवभावनात्मक र बौद्धिक अनुभव लिन खोज्दछन । यसकारण, साहित्यिक पर्यटन भनेको भौगोलिक भन्दा बढी भावनात्मक यात्रा हो, जसमा पाठकले आफूले पढेको साहित्य सजीव रुपमा अनुभूति गर्न खोज्दछन। साहित्यिक पर्यटक र अन्य पर्यटकबीच धेरै कुराले भिन्नता हुन्छ। किनकि साहित्यिक पर्यटकको मूल उद्देश्य भौतिक आनन्दभन्दा बढी बौद्धिक र भावनात्मक अनुभव प्राप्त गर्नु हुन्छ । तर अर्कोतर्फ, साहित्यिक पर्यटक कुनै ठाउँमा पुग्दा त्यहाँको साहित्यिक महत्वका कारण पुग्छन। साहित्यकारहरु कुनै लेखकको जन्मथलो, साहित्यिक कृतिमा उल्लेख भएको ठाउँ, वा साहित्यिक प्रेरणास्थल हेर्न पुग्दछन । साहित्यिक पर्यटनको विशेषता भनेको पाठक र लेखक, साहित्य र भूगोल बीचको सम्बन्धलाई सजीव बनाउनु हो । कुनै उपन्यासमा वर्णन गरिएको ठाउँमा पुग्दा पाठकको मानसपटलमा त्यो कथा पुनःजीवित हुन्छ । यस्तो अनुभूति सामान्य दृश्यावलोकनभन्दा बढी गहिरो र व्यक्तिगत हुन्छ । सामान्य पर्यटक आँखाले देख्छ, साहित्यिक पर्यटक भने मनले अनुभूति गर्छ । तर साहित्यिक पर्यटनले साहित्यलाई जीवन्त बनाउँछ। त्यस स्थानको ऐतिहासिक र सांस्कृतिक कुरालाई शब्दमा उतार्छ ।
साहित्यकारहरु चुँदीरम्घा पुग्नु भनेको नेपाली साहित्यका मूल जरा छुने प्रयास गर्नु हो । जुन माटोले भानुभक्त जन्मायो, त्यही माटोमा पाइला राख्नु भनेको प्रेरणा मात्र हैन, जिम्मेवारी पनि हो । साहित्य सिर्जना गर्ने जो–कोहीले शब्दको धर्म बुझन चुदीरम्घा पुग्नै पर्छ । किनकि चुदीरम्घा पुगेर मात्र थाहा हुन्छ, भानुभक्त केवल रामायणका अनुवादक थिएनन उनी एक दार्शनिक पनि थिए । जसले लेखनलाई जीवनको साधना बनाए। चुँदीरम्घा पुग्दा साहित्यकारहरुलाई हावा पनि कविता जस्तै लाग्छ । वटवृक्षमुनि बसेर जब भानुभक्तका रचनाहरु पढिन्छन त्यहाँको मौनता संगीतजस्तो सुनिन्छ । भानुभक्त स्मृति पार्क, भानु संग्रहालय, उनको मूर्ति र जीवनका दस्तावेजहरुले स्रष्टाहरुलाई इतिहासको गर्भमा लैजान्छ ।
चुँदीरम्घा यात्राले साहित्यको अर्थ बदलिदिन्छ । साहित्यकारका लागि चुदीरम्घाको यात्रा केवल घुम्ने मात्र हुँदैन, आत्मा छुनेको यात्रा हुन्छ । भाषाको उचाइ थाहा पाउन, शब्दले समाज रुपान्तरण गर्न सक्छ भन्ने बुझन, भानु जस्ता युगपुरुषका पाइला पछयाउन चुदीरम्घा पुग्न पर्दछ । चुदीरम्घा पुगेर लेखिएका कविताहरुमा अर्कै उचाइ देखिन्छ। त्यहाँको मौनतामा लेखिएको गद्य पनि कुनै घोषणाजस्तै शक्तिशाली हुन्छ । भानुभक्तका जन्मभूमिमा पुगेर लेख्ने साहित्यकारलाई शब्द सुलभ हुन्छन। श्रद्धा हृदयमा बग्छ । भाषाले धर्म ग्रहण गर्छ । शिखर कटेरी गएर लेख्ने हो भने भाषाले केवल व्याकरण हैन, संस्कार बोक्छ । चुदीरम्घा गएका साहित्यकारले आफ्नो लेखनीमा नयाँ उमंग पाउँछन । जुन उनीहरुका कृति पढने पाठकले पनि अनुभूत गर्छन ।
भानुभक्तको जन्मभूमी चुदीरम्घा। यो केवल श्रद्धा होइन । यो प्रेरणाको मूल स्रोत हो । चुँदी रम्घा साहित्य, इतिहास र प्रकृति प्रेमीहरुको लागि पुग्नै पर्ने ठाउ हो । पर्यटनका लागि चुँदी रम्घामा साहित्यिक दृष्टिले महत्वपूर्ण र ऐतिहासिक स्थलहरु रहेका छन। भानु स्मारकको कार्यालयबाट भानु जन्मिएको घर चुँदी रम्घाको शिखर कटेरी हाल धर्मशाला चुदी बेंसीबाट उत्तर–पूर्व अग्लो डाडोमा रहेको छ। शिखर कटेरीमा जान आजभोली मोटर मार्ग समेत पुगेको छ । चुँदीबाट शिखर कटेरी पुग्न पैदल ४० मिनेट जती उकालो बाटो यात्रा गर्नु पर्दछ । भानुभक्त जन्मिएको वि.सं. १८७६ मा पं. श्रीकृष्ण आचार्यले बनाएको घर भग्नावशेष छ। अहिले शिखर कटेरीको जन्मस्थलको घरलाई साहित्यिक तीर्थस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक नेपाली कथानक चलचित्र आदिकवि भानुभक्त छायाङ्कन गर्न २०५४ सालमा भानुको जन्मस्थल शिखर कटेरीमा दुई तले घर निर्माण भएको थियो। तर संरक्षणको अभावमा त्यो घर जंगलमा लागेको डढेलोले आगलागि भयो । आगलागिबाट बचेका सामग्री अहिले चुँदीबेंसीकै स्मारक स्थलमा राखिएको छ ।
भानु संग्रहालयमा राखिएका भानुभक्तका हस्तलिखित पाण्डुलिपिहरु, रामायणको नेपाली अनुवादका अंशहरु, उनका कविताहरु, श्लोकहरु, र पत्रहरु, भानुभक्तको जीवनी झल्काउने तस्बिर र विवरणहरु जन्मदेखि मृत्युसम्मका प्रमुख घटनाहरु, पारिवारिक पृष्ठभूमि, अध्ययन, यात्रा र लेखकीय जीवनका दृश्य, पुराना साहित्यिक सामग्री र पुस्तकहरु, उनका प्रकाशित कृति, नेपाली रामायणका पुराना संस्करणहरु नेपाली साहित्यमा प्रयोग हुने लेखन सामग्रीहरुको प्रदर्शन, भानुभक्त प्रयोग गर्ने समानहरु कपडा, लेखन कलम, आसन आदि । घरायसी वस्तुहरुको पुनर्निर्मित अवशेष, उनको जीवनशैली झल्काउने मुर्ती चुदीरम्घा पुगेपछि साहित्यिक पर्यटकहरुले रुचि पुर्वक अवलोकन गर्दछन । अर्को तर्फ सग्रहालयको दराजमा आदिकवि भानुले प्रयोग गरेका सामाग्री पूजा–पाठदेखि भात खाने थाल, बटुका पनि राखिएको छ । सुत्ने बस्ने चापको खाट, आदिकविको मदुस अर्थात सन्दुक रहेको छ । संग्रहालयमा राखिएका सामाग्रीले आदिकवि भानुभक्त सौखिन हुनुहुन्थ्यो भन्ने भान हुन्छ । महगो हुक्का पनि त्यहा सजाएर राखिएको छ । कविले लेख्न प्रयोग गरेको मसीदानी, कलम पनि त्यहा राखिएको छ ।
आदिकवि भानुभक्तले लेख्नु भएका प्राय सबै कृतिको उहाले लेखेकै अक्षरमा पढन पाइन्छ। आदिकविले मुद्दा खेप्नु परेका कागत तमसुकहरु सबै जतनका साथ राखिएको छ। दुई पट्टि काठको फल्याकजस्तो चिल्लो काठको खबटाले च्यापिएको भानुभक्तीय पाण्डूलिपि खाटमा बसेर हेर्न सकिन्छ । संग्रहालयमा भानुसम्बन्धी प्रयोग गरेका सामग्रीहरु धुपौरो, मकल, खाना खान बस्ने पिरका पिरा, साना–ठूला, ताई, पाथी, ओदान, ढिब्री तेलराख्ने भााडो, ढुंङ्गाको आरी, ढुङ्गाको कचौरा, गाग्री, पेटारो चोयाको बिर्को भएको ढाकी विशेष रुपमा बेहुला बेहुलीको लुगा राख्ने, आदिकविले लगाएका खराउ, आचमनि, पञ्चपात्र, चन्दनखोरी, सिमाङ काठको ठेकी जस्तो झुण्डयाउने भएको हतर, प्याङ, ताउलो खडकुालो, घण्टा, दियो, कोपरा लगायतका सामान राखिएको छ ।
आदिकवि भानुभक्त आचार्यको निधन ५४ वर्षको उमेरमा भयो । वंशपरम्परा अनुसार हजूरबुवा श्रीकृष्ण र बुवा धनञ्जयको निधन काशीको मणिकर्णिका घाटमा भएको थियो । तर आदिकवि भानुभक्तले लामो समय ज्वरोले थलिंदा पनि किन काशी मणिकर्णिका घाट रोज्नु भएन ? यो धेरै महत्वपूर्ण विषय छ । आदिकविले आफ्नो निधन जन्मभूमीलाई नै रोज्नु भयो । भानुभक्त आचार्यको अन्तिम संस्कार उनकै जन्मथलो तनहुँमा पर्ने सतीघाट मस्र्याङदी नदी किनारमा भयो । सतीघाटमा परम्परागत रुपमा ब्राह्मण र कुलीन परिवारहरुका दाहसंस्कार गर्ने स्थल हो । भानुभक्तले म जहाँ जन्मिएको छु, त्यहीँ मृत्यु स्वाभाविक र पवित्र हो । त्यसैले मेरो शरीर पनि आफ्नै जन्मभूमिमा जलाउनु भन्ने अनुरोध गरेका थिए। भानुभक्तले मणिकर्णिका जान अस्वीकार गरे र आफ्नो जन्मभूमिमा नै मृत्युपछि पनि वास पाउन चाहे । यो निर्णयले उनी माटो, भाषा र संस्कृतिप्रति अटल प्रेम राख्ने राष्ट्रकवि थिए भन्ने पुष्टि गर्दछ ।
भानुभक्त आचार्यको जन्मभूमि चुँदीरम्घा नेपालको साहित्यिक र सांस्कृतिक सम्पदाको अमूल्य निधि हो । यहाँको समुचित प्रवद्र्धन, पूर्वाधार विकास र प्रचारप्रसारमार्फत चुँदी रम्घा क्षेत्रलाई साहित्य पर्यटनको महत्वपूर्ण गन्तव्यको रुपमा स्थापित गर्न पर्दछ । त्यो बेलामा संस्कृत भाषामा सीमित रहेको ज्ञानलाई नेपाली जनमानससम्म पु¥याउने कार्य साँच्चै ऐतिहासिक र क्रान्तिकारी थियो । आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यका स्तम्भ हुनुहुन्छ। अमर कवि भानुभक्तको कृति सदैव जीवित रहनेछ । साहित्यका स्रष्टाहरुले कथा, कविता, निबन्ध, उपन्यास, नाटक तथा कलाका क्षेत्रमा धेरै कलम चलाउदै आउनु भएको छ । आदीकवि भानुभक्तको बारेमा कलम चलाउने स्रष्टाहरुको सख्या हजारौ पुगिसकेका होलान। कतिपय स्रष्टाहरु आदी कविकै बारेमा कलम चलाउदा सम्मान र पुरस्कृत पनि हुनु भएको होला ! तर धेरै स्रष्टाहरु भानुभक्तको जन्मस्थल चुँदी रम्घाको शिखर कटेरीमा पुग्नु भएको छैन होला ? अनुकुल मिलाएर पुग्दा राम्रो हुनेछ ।
कसरी पुग्ने ?
पोखरा–काठमाण्डौ सडकमा पर्ने तनहुँको डुम्रे बजारबाट १३ किलोमिटर उत्तरतर्फ भानुभक्तको जन्मस्थल चुँदी रम्घा पर्दछ । डुम्रे बजारबाट उकालो लागेपछि भन्सार पुगिन्छ । भन्सारदेखि नारेश्वाराटार, फुर्सेटार, बारीफाँट हुँदै सेपाबगैचा पुगिन्छ । सेपा बगैचाबाट दाया लागेपछि भानु सग्रहालय पुगिन्छ ।










