कोभिड-१९ अनुभव : संक्रमितलाई एक्ल्याउने होइन साथ दिउ

  • नारायण खड्का (दमौली)

कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम उच्च बन्दै गएको छ । स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्डहरु पालना गर्दागर्दै पनि मानिसमा संक्रमण देखिन थालेको छ । कतिपय व्यक्तिहरु आवश्यक सावधानी नअपनाई लापरवाही गर्दा आफु अनि अन्यलाई संक्रमण फैलाउने माध्यम पनि बनेका छन् । यस्तै अवस्थाबाट म पनि गुज्रिए होला । पेशागत जिम्मेवारी पुरा गर्ने क्रममा धेरै ठाउँमा पुगियो, भिडभाड, शहरबजार, गाउँबस्ति, किसानको खेतबारी, अस्पताल, आइसोलेसन, क्वारेन्टिन, विद्यालय लगभग सबै ठाउँमा पुगियो। संक्रमणकालिन समयमा पनि आफ्नो कामलाई निरन्तरता दिंदै आए । यसरी हिड्डुल गर्दा सकेसम्म स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुका साथै स्वास्थ्य सामाग्रिको प्रयोग तथा मापदण्ड पालनमा लापरवाही गरिन । अन्ततः मलाई पनि कोरोना संक्रमण देखियो । गत कात्तिक महिनाको अन्तिम साताबाट स्वास्थ्यमा केही समस्याहरु देखिन थाले। हल्का शरीर दुख्न थाल्यो । सामान्य रुघाखोकी पनि लाग्यो । तर, चिसोमौसम शुरु भएकाले मौसमी भाइरल होला भनि तातोपानी, कागती पानी लगायतका घरेलु औषधीको प्रयोग गरी आफ्नो नियमित काममा खट्टरिहे ।

नेपालीको दोश्रो ठूलो पर्व तिहार सुरु भइसकेको थियो । भाइटिकाको अघिल्लो दिनबाट असामान्य रुपमा शरीरको दुखाई बढ्दै गयो । चिसोका कारण होकी भनि तातो पिरो खानेकाम पनि भयो । तर, सुधार भएन । सावधानी पूर्वक बहिनीहरुको हातबाट भाइटिका ग्रहण गरे । त्यो दिनभर शरीर दुखेपनि कुनै वस्त नगरी बलमिचाई गरी साथीहरुसंग घुलमिल भएर बसे । रातीदेखि शरीरको दुखाई अझै बढ्दै गयो।

रुघाखोकी त्यति सारो थिएन् । ज्वरो पनि आएको महशुस भएन । शरीरको तापक्रम पनि सामान्यनै भएको अनुभव गरे । तर, शरीरको सबै भाग असामान्य रुपमा दुख्ने क्रम जारी नै थियो। मंसिर २ गते जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र दुलेगौंडाका निर्देशक डा. रामकुमार श्रेष्ठसंग परामर्श लिए । उहाँको परामर्शसंगै रगतको नमुना परीक्षण गर्ने कुरा भयो । डा. श्रेष्ठको दमौली स्थित रत्नहरी मेमोरियाल अस्पतालको ल्याबमा गएर रगतको नमुना परीक्षण गर्दा टाइफाइडको लक्ष्यण देखियो । डा. श्रेष्ठकै परामर्श र सिफारिसमा ४ दिन टाइफाइडको औषधी सेवन गरे ।

सोही क्रममा जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी र व्यास नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीसंग स्वास्थ्यमा आएको समस्याका विषयमा कुराकानी भयो । उहाँहरुकै सल्लाह र सुझाव अनुसार साँझ बिहानको समयमा पानीको वाफ लिन थाले । जनस्वास्थ्य अधिकृत सोतीको आग्रहमा कोभिड-१९ परीक्षणका लागि स्वाब नमुना दिए । स्वाब दिएको तीन दिन पछि (मंसिर ५ गते) पीसीआर रिपोर्ट पोजेटिभ आयो । टाइफाइडको औषधी नियमित सेवन गर्नुका साथै स्वास्थ्यकर्मीहरुको परामर्शमा तातोपानीको वाफ, तातोपानीकै सेवन तथा घरेलु औषधी, बेसार, गुर्जो लगायतका जडिबुटीका साथै तातोपिरो खानपिन सुरु भयो । रिपोर्ट पोजेटिभ आएसंगै संस्थागत आइसोलेशन भन्दा होमअइसोलेसन नै उपयुक्त हुन्छ भन्ने सुझावका साथ बहिनीहरुको घरमा बसे । बहिनीहरुको रेखदेखमा केही दिनमै मेरो स्वास्थ्यमा सुधार देखिन थाल्यो ।

सुरुवाती ३/४ दिन अस्वभाविक रुपमा दुखेको शरीर विस्तारै निको हुँदै गयो । टाइफाइडको औषधी वा अन्य घरेलु औषधीको प्रयोगले होला ५/६ दिनको अन्तरालमा मेरो स्वस्थ्यमा सुधार हुँदै आयो । यो अवधिमा शरीरको दुखाई कम भएपनि दुइ रात भने निदाउन सकिन । घरको एउटा कोठामा थुनिएर बस्नुपर्ने बाध्यता । दिनभर स्वास्थ्य सामान्य रहेपनि रातीको समयमा शरीरको तापक्रम बढेको जस्तो अनुभव हुने र निद्रा नपर्ने जस्तो समस्याले दुइ रात सतायो ।

कोभिड कसैका लागि रुघाखोकी जस्तो पनि नहुन सक्छ । लक्षण पनि देखिँदैन तर ऊ मार्फत अरूलाई सर्छ । जो दीर्घरोगी अथाव उमेर पाकेका वृद्धवृद्धा छन्, उनीहरूलाई गाह्रो बनाउँछ । म मा दीर्घरोग सम्बन्धी केही समस्या त थिएन । तर, दुइ रात शरीर तातेको अनुभव गर्दा र नाक टालिएर स्वास फेर्न समस्या भएपछि भने म निकै आत्तिए । यो समस्या देखिएपछि डा. रामकुमार श्रेष्ठसंग परामर्श गरे । उहाँको सुझाव अनुसार तातोपानी र सन्चो प्रयोगलाई थप बढाएपछि यो समस्या पनि कम हुँदै गयो। दिन भरी केही भएजस्तो लाग्दैन थियो । जब रात पर्दै जान्थ्यो स्वास्थ्यमा केही समस्या देखिन्छ की भन्ने त्रासले अत्यास लाग्दो अवस्था सृजना हुन्थ्यो । कोभिड संक्रमण भनेपछि हाम्रो समाजले गर्ने व्यवहार र हेर्ने नजर त अझै सुध्रिएको छैन । घर परिवारका सदस्यहरुलाई पनि टाँढा बनाउनु पर्दो रहेछ।

एक रात सुख्खा खोकी लागेपनि अन्य समयमा यो समस्या देखिएन् । शरीर दुख्ने, सुख्खा खोकी, तीन दिन नाकमुख पुरै सुख्खा बन्यो भने दुइ दिन नाक टालिने जस्ता समस्या बाहेक अन्य समस्या ममा देखिएनन् । अन्य संक्रमित साथीहरुले खानाको स्वाद र गन्ध नपाएको बताएपनि मलाई त्यो समस्या देखिएन । ज्वरो आएको पनि महशुस भएन् ।

मेरो स्वास्थ्यमा समस्या आएको १३ दिनपछि लगभग म पूर्ण स्वास्थ्य भएको र कोरोना जितेको अनुभव भयो । कोरोना संक्रमणको अवस्था पुनः परीक्षणका लागि मंसिर १५ गते दिएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आयो । स्वास्थ्यमा सुधार आएको र अन्य केही समस्या नभएकाले व्यास नगरपालिकाको स्वास्थ्य शाखाले अब स्वास्थ्यमा पूर्ण सावधानी अपनाएर आफ्नो नियमित दैनिकीमा फर्किदा हुन्छ भनेपछि १८ दिनको होम आइसोलेसनको बसाइ अन्त्य गर्दै पुरानै दैनिकीमा फर्किएको छु । यस अवधिमा मेरा स्वास्थ्य प्रति चिन्ताव्यक्त गर्दै प्रत्यक्ष, अप्रत्यक्ष तथा विभिन्न सञ्चारका माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने तथा मेरो स्वास्थ्यको नीग्रानी गर्नुहुने मेरो घरपरिवार (विशेष गरी दुइ बहिनीहरु सरस्वती र राममाया), डा. रामकुमार श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी, व्यास नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोती, स्वाब संकलन तथा पीसीआर परीक्षणमा खट्टनिुहुने सम्पूर्ण ल्याब टेक्निसियन, मेरो कार्यालयका सहकर्मीहरु तथा अन्य स्वास्थ्यकर्मीहरुका साथै सम्पूर्ण शुभचिन्तक, शुभेच्छुकहरु प्रति हार्दिक नमन । आगामि दिनमा पनि तपाईहरुको यस्तै साथ, सहयोग, शुभेच्छाको आशा र अपेक्षा राख्द छु।

कोरोना संक्रमणबाट जतिसक्दो चाडो निको हुनका लागि आफ्नो घरपरिवार, आफन्त, साथीभाई, स्वास्थ्यकर्मीहरुको साथ सहयोग र हौसला अति आवश्यक रहेको मैले महशुस गरे । विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरसले अहिले मान्छेदेखि मान्छे डराउनु पर्ने अवस्था सृजना भएको छ । हामी पनि यस्तै व्यवहार देखाउँदै आएका छौं ।

अझै हाम्रो घर परिवार तथा समाजमा कोही व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएमा त्यो व्यक्ति तथा उसको घरपरिवारलाई छरछिमेक, समाज, टोलमा गरिने व्यवहारले थप पीडा दिने देखियो । रोगले भन्दा पनि संक्रमित व्यक्ति आफन्त तथा समाजले गर्ने व्यवहारबाट बढि पीडित र रोगी बन्ने मैले महशुस गरे । मेरो हकमा त त्यस्तो केही महसुस गरिन । तर, अन्य संक्रमितको कुरा सुन्दा र उहाँहरुका विषयमा समाचार लेख्दा, पढ्दा उहाँहरु प्रति आफन्त तथा समाजले गरेको व्यवहारले संक्रमितलाई थप पीडित बनाएको छ ।

कोही मान्छे स्वास्थ्यका कारण होस् वा अन्य कारण समस्यामा परेपछि त्यो समस्याबाट छुट्करा पाउन पक्कै पनि साथ सहयोग र सहानुभूतिको आवश्यकता पर्दछ । तर, कोरोना भाइरस संक्रमण भएको व्यक्तिलाई हामीले सकरात्मक व्यवहार गर्न सकेनौ भने त्यसबाट संक्रमित व्यक्तिलाई थप पीडा मात्र होइन् मानसिक रोगीसम्म बनाउने देखियो । सबैको साथ सहयोग र हौसला पायो भने संक्रमित व्यक्ति उच्च मनोबलका साथ रोगसंग लड्न सक्छ । सबैको साथ र माया पायो भने जस्तै जटिल अवस्था आइलागे पनि संघर्ष गर्न सक्छ ।

तर, हामीले कोरोना संक्रमितलाई गर्ने व्यवहार र हाम्रो समाजको दृष्टि परिवर्तन गर्न आवश्यक छ। यदि हामीले आवश्यक स्वास्थ्य सुरक्षा सामाग्रिको प्रयोगका साथै मापदण्ड पालना गरी संक्रमित व्यक्तिको उचित रेखदेख, खानपिन, औषधी उपचारमा ध्यान दिन सक्यौ भने कोही पनि व्यक्तिले यो भाइरस संक्रमणबाट अकालमा ज्यान गुमाउनु पर्दैन । समाजमा अपमानित हुनुपर्दैन। संक्रमित व्यक्ति पनि म यही समाजको मानिस हो यहाँ मेरो पनि सम्मान हुन्छ र मेरो उचित उपचार र सकारात्मक व्यवहारले सहजै कोरोनालाई पराजित गरी पुनः आफ्नो दैनिकीमा फर्कन सक्छु भनि उच्च मनोवलका साथ अगाडि बढ्छ । त्यसैले संक्रमित व्यक्तिलाई एक्लो पार्ने र नकारात्मक व्यवहार होइन् उसलाई साथ दिएर सकारात्मक व्यवहार गरी भाइरससंगै लड्न उच्च मनोवल वृद्धि गरौं ।

यो भाइरस संक्रमणको त्रास कहिलेसम्म झेल्नुपर्ने हो केही एकिन छैन । किन की यसको कुनै औषधी, उपचार तथा खोप सहज व्यवस्था भइसकेको छैन । त्यसैले स्वास्थ्य सुरक्षाका सामाग्रिको प्रयोग तथा मापदण्ड पालनामा लापरवाही नगरीकन हाम्रा गतिविधिलाई चलायमान बनाउनु पर्दछ । त्रसित होइन उच्च मनोबलका साथ अगाडि बढौं ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker