दार्चुला, पर्यटन संस्कृति र कालापानी

कस्तुरीले बिनाको बास्ना खोजे जस्तै गरी पश्चिम नेपालका पर्यटकहरु हिमाल पहाड र प्राकृतिक सौन्दर्यको रसस्वाद लिन पूर्वी जिल्लाहरुमा पुग्दछन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरुमा घुमफिर गर्ने कति ठाउँहरु छन ति ठाउहरुलाई पर्यटकहरुले त्यती महत्व दिएको पाइदैन । लिपुलेक, कालापानी र लिम्पियाधुरा धेरै नेपालीहरुले नाम सुनेका छन् । तर धेरै नेपाली यी ठाउँ पुग्न सकेका छैनन् । कारण हो सडक यातायात छैन, भारतिय भूमी भएर जानु पर्दछ । नेपालको नयाँ नक्सा जारी भएपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबारे सबैले चासो राख्ने गर्दछन् । तर नयाँ नेपाली नक्सालाई भारतले भने स्वीकार गरिको छैन । कालापानी क्षेत्र भारतले पटक पटक आफ्नो क्षेत्रको रुपमा दाबी गर्दै आएको छ । भारतले कालापानी उत्तराखण्डको पिथौरागढ जिल्लाको एक गाउँको रुपमा लिने गरेको छ ।

दार्चुला पुग्ने धेरै पर्यटकहरुलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र कस्तो होला भन्ने कौतुहल हुन्छ – भारतले वर्षौदेखि कब्जा गरेको नेपाली भूमि पुग्न पाए पनि हुन्थो भन्ने सोच सबै पर्यटकहरुको हुन्छ । कालापानी क्षेत्र देख्न र टेक्न नपाए पनि धेरैले लिम्पियाधुरा, लिपुलेक र कालापानीको बारेमा आजभोली बुझ्दै आएका छन् । कालापानी क्षेत्र चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली श्रृखलामा पर्दछ । लिम्पियाधुरा ५ हजार ५ सय मिटर उचाईमा पर्दछ। लिपुलेक भन्ज्याङ अर्थात छाङला ५ हजार ९८ मिटरमा उचाईमा पर्दछ । छाङरु र तिङकरको पश्चिमी मोहडामा ओम हिमाल पर्दछ । जुन हिमालको हिउँको ढिक्कामा हिउँले नै ओम लेखिएको देखिन्छ । जुन दृष्यले कालापानी पुग्ने पर्यटकहरु अचम्म मान्दै ओम लेखिएको हिमालको फोटो खिच्दछन् ।

नेपाल र भारतबीच सीमा विवादको केन्द्रमा रहेको कालापानी क्षेत्रमा सन १९६२ देखि भारतको इन्डो तिब्बत बोर्डर पुलिस तैनाथ गरिएको छ । वि.सं. २०१९ मा चीनसँगको युद्धमा भएको पराजयपछि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले राजा महेन्द्रसँग कालापानी क्षेत्रमा केहीसमय को लागि भारतिय फौज राख्न अनुमति मागेका थिए । कालापानी भारतले अर्ध सैनिक बल राखेको ठाउ भने समथर क्षेत्रमा पर्दछ । भारतीय सैनिकले ब्यारेक भन्दा दक्षिणमा काली मन्दिर बनाएको छ। काली नदीको मन्दिरबाट निस्कीएको खोल्सोको पानीलाई भारतले काली नदी भन्ने गरेको छ । वि.सं २०२६ सालमा अन्य क्षेत्रबाट चेकपोस्ट भारतले हटाए पनि कालापानीमा भने भारतीय अर्ध सैनिक बल अहिले सम्म रहदै आएको छ । भारतले महाकाली नदीको पश्चिमतिर पर्ने कालापानी, लिपुलेकलगायत भू-भाग समेटेर आफ्नो र्सार्वभौमसत्तामा पर्ने गरी राजनीतिक नक्सा जारी गरेको छ । सन्धि, लिखत, निर्वाचन, जनगणना, तिरो, पुराना नक्सा आदिको प्रमाणको आधारमा यो क्षेत्र निःसन्देह नेपालकै हो ।

नेपाल र भारत दुवैले आफ्नो भूभाग भनेर दाबी गरिरहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा दार्चुला घुमफिर गर्न जादा पुग्न सके राम्रो हुन्छ । पछिल्लो समय भारतले पिथौरागढबाट नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोडने सडक मार्ग निर्माण गर्न थालेको छ । कालापानीको उत्तरमा लिपुलेकतिर जाँदा नाभीडाङ आउँछ । त्यहाँ पनि भारतीय सेनाको क्याम्प छ । गुन्जी र नाबी दुबै स्थानमा भारती सेना बस्दछन्। काली नदीको किरानै किनार उत्तर पश्चिम कुटी गाउँ पर्दछ । नेपाल भारतको सिमाना काली नदी पर्दछ । काली नदीको उदम क्षेत्र लिम्पियाधुरा हो । नेपालले हालै आफ्नो भूगोलको नयाँ नक्सा जारी गरेको छ । नक्सामा समेटेको यो क्षेत्रको भौगलिक अवस्था कस्तो छ – त्यहाँ कुन समुदाय बस्छन – यी सबै कुरा पर्यटकहरुलाई चासोका विषय हुन्छ । नेपालको पश्चिम उत्तर सीमा क्षेत्रमा रहेको यो भूगोल दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्दछ ।

पूर्वी नेपालको जिल्लाहरुमा घुमफिर गर्नु र सुदूरपश्चिमको दार्चुलामा घुमफिर गर्नुमा छुट्टै अनुभूति हुन्छ । कारण हो दार्चुलाको पश्चिम उत्तरको भूगोल भारत र चिनसंग जोडिएको छ । दार्चुला नेपाल, भारत र चीन जोडने त्रिदेशीय सीमा नाका भएको जिल्ला हो । पद यात्रामा रमाउने पर्यटकहरुका लागि यो क्षेत्रमा पुग्न सके नेपाल भारतको सिमाको बारेमा धेरै कुरा थाहा हुन्छ । दार्चुला जिल्ला, देउडा संस्कृति आफ्नै भाषा र गढवालसंग मिल्ले धेरै संस्कृति भएको जिल्ला हो । दार्चुलाको घुमफिरले त्यहाँको भाषा, कला र संस्कृतिको अध्ययन हुन्छ । आफ्नो देश भित्र घुमफिर गर्ने पर्यटकहरुमा कमै मात्र दार्चुला पुग्ने गर्दछन । किन भने दार्चुला जिल्लामा पर्ने पर्यटकीय स्थलको बारेमा प्रचार प्रसार हुन सकेको छैन । तर दार्चुला पुगेपछि थाहा हुन्छ की त्यहाँको प्राकृतिक सम्पदा, संस्कृति र भाषाको बारेमा । दार्चुलाको डेउडा संस्कृति र गौरा चाडले धेरै पर्यटकहरु रमाउछन्।

दार्चुला जान चाहे महेन्द्रनगरबाट महाकालीको बनवासा पुल तरेर भारतीय भूमीबाट होस अथवा अतरियादेखि डडेलधुरा बैतडी हुँदै पहिलो चोटी दार्चुला पुग्ने पर्यटक दार्चुला बजारको भूगोल हेर्दैमा अनेकौ कुरा मनमा खेलाउन पुग्दछन्। बिचमा महाकाली नदी पारीपट्टी भारतको धारचुला र वारीपट्टी दार्चुलाको सदरमुकाम खलंगा । भारतीय भूमीमा बिकासका सबै पूर्वाधार देखिन्छ भने दार्चुला पट्टीको भूगोलमा अझै पनि विशेष गरी पर्यटनको लागि पूर्वाधार बनेको देखिदैन । अहिलेसम्म महाकाली नदीमा नेपाल-भारत वारपार हुने मोटरेवल पुल बनेको छैन । भारतमा अंग्रेजहरुको पालामा निर्माण भएको दार्चुलाको पुलघाटको झोलुंगे पुलनै भारतीय भूमीमा जाने मार्ग रहेको छ । जुन पुलमा अझैपनि बेलुका पुलको बिचमा रहेको ढोका भारतीय सुरक्षाकर्मीले बन्द गर्दछन र बिहान खोलिदिन्छन । भारतको उत्तराखण्डको पिथौरागढ, अल्मोदा, नैनीतालसहित काला पहाडमा मजदुरी गर्न जाने मानिसहरु यो पुल तर्न पर्दछ । जुन कुरा पर्यटकहरुका लागि अध्ययनको बिषय बन्दछ ।

दार्चुला सदरमुकाम खलंगा बजार पुगेपछि पर्यटकहरुले घुमफिर गर्ने ठाउँको प्याकेज गराउदा राम्रो हुन्छ । दार्चुलाको भूगोल सुगम भन्दा दुर्गम गाउँ र बस्तिहरु धेरै छन् । तर प्रत्यक गाउँहरुको आ-आफ्नै महत्वर र पर्यटकीयस्थलहरु पर्दछन् । दार्चुलामा घुमफिर गर्दा अपी हिमाल व्यास हिमाल, नाम्पा व्यास महलको भग्नावशेष, सुरमासरोवर ताल, लिपु लेक, धर्मी गुफा, शिखर डाडा, मालीकार्जुन, हुनैनाथ मन्दिर, जयपुर मन्दिर रिठाचौपाता, बन्तोली मन्दिर बोहरीगाँउ, महलको भग्नावशेष, गोकुलेश्वर शिव मन्दिर, लटिनाथ मन्दिर लगायत प्राकृतिक र ऐतिहासिक सम्पदाहरुमा पुग्न सके राम्रो हुन्छ । तर यी सबै ठाउँमा पुग्नको लागि कम्तिमा एक महिना आफ्नो घुमफिरको समय बनाउनु पर्दछ । घुमफिरको लागि महिनौ समय सबै पर्यटकहरुमा नहुन सक्दछ । तर पनि आफ्नो समय अनुसार केही मुख्य पर्यटकीय स्थलमा पुग्न सकिन्छ।

अपी हिमाल दार्चुला जिल्लाको सबैभन्दा अग्लो भाग हो । यसको उचाई ७ हजार १३२ मिटर पर्दछ। अपी हिमाल भारत र तिब्बतसँग सिमाना जोडिएको छ। अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन। लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएबाट पर्यटक पदयात्रामा जानेक्रम बढन थालेको छ । अपी हिमाल, नाम्पा हिमाल र व्यास हिमालको मनोरम दृश्य एउटै ठाउँबाट देख्न सकिने भएपछि विदेशी पर्यटकको रोजाइमा अपी हिमाल क्षेत्र परेको हो । अहिले विदेशी पर्यटक अपी हिमाल आधार शिविरसम्म पुग्छन।

भौगोलिक रुपमा सहज तथा सजिलो बाटोका रुपमा पर्यटकहरु गोकुलेश्वर, लटिनाथ, घुसा हुँदै अपी हिमाल आधार शिविर पुग्ने गर्दछन् । अपी हिमाल जान सिँढी सहितको पदमार्ग निर्माण भएको छ । पदमार्गको ३ किलोमिटर क्षेत्रमा तत्कालिन बाइसे र चौबिसे राज्यका राजा जातर सिंहको कोट पर्दछ । त्यस ठाउँलाई सिद्धमकरी कोट भनिन्छ । अहिले पनि त्यहाँ राजा जातरको दरबारका भग्नावशेषहरु पर्यटकहरुले देख्न सक्दछन् । उत्तरमा चीन र पूर्वमा बझाङ जिल्लाले छोएको दार्चुलाको अति रमणीय ठाउँ हो, घुसा खण्डेश्वरी । अपी हिमालको काखमा बसेको सुन्दर घुसार र खण्डेश्वरी पर्यटकका लागि भर्जिन गन्तब्य मानिन्छ ।

दार्चुलाको मालिकार्जुन धाम रमणीय धार्मिक पर्यटकीय स्थल हो । मालिकार्जुन मन्दिर सदरमुकाम खलंगाबाट ५० किलोमिटरका दूरीमा पर्दछ । शिबपुराण लगायत बिभिन्न पौराणिक धार्मीक ग्रन्थहरुमा देवाधिदेव महादेवका १२ ओटा ज्योतिर्लिङ्ग मध्ये एउटा ज्योतिर्लिङ्गको रुपमा मालिकार्जुनलाई मानिएको छ । मालिकार्जुन मन्दिर भगवान शिवलाई देवाधिदेव महादेवका रुपमा लिइने भएकोले मालिकार्जुनको बाँसस्थानलाई देवताहरुको राजधानी पनि भनिन्छ। धार्मिक एवं पूरातात्विक महत्व भएको मालिकार्जुन मन्दिरमा हरेक दिन तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन्। नेपाल सरकारले २०६५ सालमा राष्ट्रकै सातौ धाम भनेर घोषणा गरेको धार्मीक पर्यटकिय स्थल मालिकार्जुन मन्दिरमा विशेषगरी भदौमा गौरा पर्व र कार्तिक, मंसीर महिनामा विशाल जात्रा लाग्ने गर्दछ । दार्चला पुगेपछि मालिकार्जुन धाममा पुग्नै पर्ने हुन्छ । दार्चुलाको गोकुलेश्वर बजार धार्मिक, साँस्कृतिक तथा पर्यटनका दृष्टिले पनि पुग्नै पर्ने हुन्छ । गोकुलेश्वर बजार बैतडी र दार्चुलाको सिमाना पनि हो । गोकुलेश्वरमा बिमानस्थल पनि छ ।

दार्चूलामा अन्य समुदाय भन्दा फरक सौका समुदायको बसोबास रहेको व्यास उपत्यका पुग्न सके राम्रो हुन्छ । अपी हिमालको काखमा रहेको ब्यास उपत्यका दार्चुलाको उत्तर पश्चिम त्रिदेशीय सीमा क्षेत्रमा पर्दछ । अपी हिमालको काखमा ब्यास ऋषिको तपोभूमी मानिन्छ । व्यास उपत्यका दार्चुलाबाट कैलाश मानोसरोवर जाने मुख्यद्वार पनि हो । पर्यटकहरुका लागि ब्यास उपत्यका भर्जिन गन्तब्य मानिन्छ । ब्यास उपत्यकामा प्राकृतिक सौन्दर्य मात्र होइन सौका समुदायको बारेमा अध्ययको विषय बन्दछ । ब्याँसी सौका जातीहरु प्रकृति पूजकको रुपमा मानिन्छन् । ब्यासी सौकाहरु पूजा गर्दा विभिन्न हिमाल र पहाडहरुको पूजा गर्ने गर्दछन । ब्याँसीहरुले पूजा गर्ने मन्दिरहरुमा कतै पनि मूर्ति नराख्ने र ढुङ्गा गाडेर राख्ने प्रचलन हुन्छ । ब्याँसीहरु मन्दिरमा राखेको ढुङगाको पूजा गर्ने गर्दछन । जसलाई सौकाहरु कलिङ भन्ने गर्दछन । मन्दिरमा सौकाजातीहरु शुभकार्यमा सेतो ध्वजा र भेडाको उन चढाउने गर्दछन भने अशुभ कार्यमा भूत प्रेत भगाउन कालो ध्वजा र उन चढाउने गर्दछन । परम्परागत झाँक्रीमा विश्वास गर्ने, मन्दिरमा बोका काट्दा पनि हिन्दुहरुले भन्दा फरक ढंगले भूँडी चिरेर कलेजो हेर्न र त्यसबाट शुभ अशुभ पत्ता लगाउने गर्दछन। यो संस्कृति पर्यटकहरुले रुचि पूर्वक अध्यन गर्दछन् ।

दार्चुला सदरमुकामलाई पूर्व-पश्चिम राजमार्ग कैलाली जिल्लाको अत्तरिया चोकबाट डडेलधुरा वैतडी हुँदै दार्चुला सदरमुकाम जोडिएको छ । सदरमुकाम खलंगादेखि उत्तरका ब्रहृमदेव, धारी, हिकिला, राप्ला, हुति, पीपलचौरी, सुनसेरा, धौलाकोट र धारी हुँदै बन्न लागेको सडकले दार्चुलाको सिमा तिंकरसम्म सडक भने बनेको छैन । तिंकरबाट चीनको सीमा पैदल झण्डै ४ घण्टाको दूरीमा भेटिन्छ । दुइ देशको सीमा लिपुलेक भञ्ज्याङले छुट्याउँछ । तिब्बती पठारमा ४ घण्टा हिडेपछि तिब्बतको ताक्लाकोट पुगिन्छ । तिब्बतको बिकट हिमाली क्षेत्रमा पर्ने ताक्लाकोट भएर नै कैलाश मानसरोवर जानुपर्ने हुन्छ । ताक्लाकोट परम्परागत व्यापारिक नाका पनि हो । कैलाश मानसरोवरको आधार क्षेत्रका रुपमा पनि ताक्लाकोटलाई लिने गरिन्छ। नेपालबाट मानसरोवर जान सबै भन्दा छोटो मार्ग पनि यहि पर्दछ। मानसरोवर तिब्बतमा रहेको ऐतिहासिक धार्मिक र प्राकृतीक महत्वको ताल हो । तर आजभोली यो मार्गबाट कैलाश मानसरोवर जान भने बन्द गरिएको छ ।

दार्चुलामा आजभोली भारतका पर्यटकहरु हिमालको दृष्यावलोकन गर्न भित्रिने गरेका छन् । दार्चुलाको अपी हिमाल, व्यास हिमाल र नाम्पा हिमालले पनि भारतीय पर्यटकहरुलाई आकर्षण गरेको हो। सुरमासरोवर ताल, लिपुलेक र धर्मी गुफा शिखरडाडा जस्ता प्राकृतिक सम्पदाले दार्चुलामा पछिल्लो समय आन्तरिक र वाहृय पर्यटकहरुलाई आकर्षण गर्न सकेको छ । त्यसै गरी मालीकार्जुन मन्दिर, हुनैनाथ जयपुर मन्दिर रिठाचौपाता बन्तोली मन्दिर बोहरीगाउँ महलको भग्नावशेष देवल, लटीनाथ मन्दिर गोकुलेश्वर शिव मन्दिर जस्ता ऐतिहासिक सम्पदाले पर्यटकहरुलाई आकर्षा गराएको छ । दार्चुला घुमफिर गर्दा बिशेष गरी पदयात्रामा जाने पर्यटकहरुले आफुलाई आवस्यक पर्ने सबै सर सामन साथमा लैजादा राम्रो हुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker