भानुभक्तको चिनारी र बिर्के टोपीको महत्व

बिर्के टोपी अर्थात भानुभक्तको टोपी गण्डकी क्षेत्रमा लगाइने परम्परागत टोपी हो । आदिकवि भानुभक्त आचार्यले यसलाई लोकप्रिय बनाउनु भएको थियो । आजभोली नेपाली समाजमा बिर्के टोपीको प्रयोग कम छ । बिर्खे टोपीको तुलनामा ढाका टोपी र भादगाउँले टोपी धेरैले लगाउँछन। तर पनि आजभोली अघिपछि नलगाए पनि भानु जयन्तीका दिन धेरैले बिर्के टोपी लगाउन थालेका छन। भानु जयन्तीका दिन बिर्के टोपी लगाउनाले ठूलै स्रष्टा अर्थात साहित्यकार अथवा भानुभक्तझै मानिन्छ भन्ने सोच धेरैको होला । तर बिर्के टोपीको आफ्नै महत्व छ। बिर्के टोपी केबल अरुलाई देखाउनको लागि मात्र प्रयोग हुनु हँुदैन ।
कालो रंगको बिर्के टोपी आदिकवि भानुभक्त आचार्यको चिनारी नै थियो । बिर्के टोपी भानुभक्त बाबु धनञ्जय पण्डित र बाजे श्रीकृष्ण पण्डितले लगाउनु भयो भएन ? त्यो खोजको विषय बन्ला । तर भानुभक्तले बिर्के टोपी किन लगाए, लगाउनाको कारण के थियो ? सुरुमा भानुभक्तले बिर्के टोपी कहाँ पाए ? यस्ता कुरा भानुभक्तको जीवनीमा समेत बिर्के टोपीको कुरा पाउन सकिन्न । त्यो भानुभक्तकालीन बिर्के टोपी अहिले सबै ठाउँमा खोज्दा भेटिन्न । बिर्के टोपीलाई लोप हुन नदिन तनहुँको भानु नगरपालिकाले टोपी संरक्षण गर्ने उद्देश्यले नगरपालिकामा अहिले सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई बिर्के टोपी लगाएर कार्यालय आउन पर्ने नियम बनाएको छ। सार्वजनिक सभा समारोहमा पनि आजभोली भानु नगरपालिकामा बिर्के टोपी लगाउँछन । औपचारिक कार्यक्रममा बिर्के टोपीको महत्व समेत हुन थालेको छ । भानुभक्त प्रतिको सम्मानका लागि नगरपालिकाले थालेको अभियानले उनका सन्तान मात्र नभएर युवा पुस्ताहरुले पनि बिर्के टोपीको प्रयोग गर्न थालेका छन । नगरपालिकामा आउने पाहुनाहरुलाई पनि मायाको चिनोको रुपमा बिर्के टोपी दिने प्रचलन छ । बिर्के टोपी उत्पादन गर्नका लागि स्थानीयलाई सीपमूलक तालिम दिने गरिएको छ ।
सामान्यता बिर्के टोपी अन्य टोपी भन्दा फरक र छुट्टै आकर्षणको मानिन्छ। बिर्के टोपीको वरिपरि एउटा घेरा र घेरा माथी अर्को गोलाकार टुक्राले ढाकिएको हुन्छ। यसको बिचभागमा एउटा डल्लो समेत हुन्छ । कुनै भाँडाहरुको बिर्कोको आकार जस्तो देखिने हुनाले टोपीको नाम बिर्के टोपी भनिएको हुन सक्दछ । बिर्के टोपी आदिकवि भानुभक्त आचार्य र युवाकवि मोतिराम भट्टले लगाएको फोटो र शालकिमा देखिन्छ । भारतको हिमाञ्चल र गडवालतर्फ पनि बिर्के टोपीकै आकारको टोपी लगाएको पाइन्छ । बिशेषतः बिर्के टोपी बाक्लो उनी कपडाबाट तयार हुन्छ। तर हिमाञ्चल र गडवालमा प्रयोग हुने टोपीको बाहिरी मध्यभागमा डल्लो भने हुँदैन र यो भानुभक्तले लगाएको बिर्के टोपीभन्दा अल्ली फरक देखिन्छ । अहिले समाजमा टोपीलाई फरक फरक आकार, साइज र बन्ने बस्तुको आधारमा फरक प्रकारका नाम हुन्छन । कानेटोपी, माक्कले टोपी, बिर्के टोपी, भादगाउँले टोपी, पाल्पाली ढाका टोपी, तेह्रथुमे ढाकाटोपी, छत्रे टोपी जस्ता नामका टोपी प्रचलनमा छन ।
मानव समाजको बिकासको क्रममा मानिसले फेटा शिरमा फेटा बाधने प्रचलन थियो । फेटा टोपीको सट्टा फेरो पारेर शिरमा बेरिने कपडा हो । प्रायः फेटा पुरुषहरुले बाध्ने गर्दछन । कुनै समुदायका मूल मानिसले घरको मूल व्यक्ति भनेर चिनाउन पनि फेटा बेर्दछन। अहिले पनि कुनै समुदायमा विवाहमा दुलाहालाई फेटा बाँध्नुपर्ने प्रचलन छ । फेटालाई पगरी, पाग वा सारा जस्ता नामले पनि चिनिन्छ। गाउँघरमा टाउकोको रक्षा गर्न महिलाले अनौपचारिक रुपमा फेटा बेरेका हुन्छन। कर्णाली प्रदेशको हुम्ला, मुगु र सुदुर पश्चिका पहाडी जिल्लामा अहिले पनि जेष्ठ नागरिकहरुले फेटा बाधेको देखिन्छ। टोपीको उत्पत्ति र प्रयोगको इतिहास बारेमा धेरै जानकारी पाइँदैन । नेपालमा टोपी भुरे टाकुरे राजाहरुको पालामा पनि राजा महाराजाहरुको शिरमा टोपी भएको फोटो देखिन्न। पृथ्वीनारायण शाहले पनि फेटानै प्रयोग गरेको देखिन्छ । टोपीको जन्म कहिले कहाँ र कसरी भयो भन्ने यकिन पनि छैन । टोपीको नामाकरण, टोपी भनेर कसले ग¥यो ? कसरी टोपीले नाम पायो ? भन्ने बारेमा ठयाक्कै यही हो भन्ने प्रमाणहरु पनि भेटिदैन ।
पछिल्लो समय टोपीहरुमा भादगाउँले टोपी पनि धेरैले प्रयोग गर्दछन । भादगाउँ भक्तपुरको पुरानो नाउँ हो । भादगाउँमा बुनिने र तयार गरिने भएको हुनाले गाउँको नामबाट टोपीको नाम पनि भादगाउँले रहेको मानिन्छ । भादगाउँले टोपी दुई इन्चदेखि चार इन्चसम्म टोपीको उचाइ हुन्छ। कालो गोलाकारमाथि तीनकुने ढकनी लगाई टोपी तयार गरिन्छ । भादगाउँले टोपीलाई तयार गर्दा दह्रो बनोस भनेर सिलाई सकेपछि माडमा पकाएर गाढाकालो बनाउनका लागि विशेष रंगको पनि प्रयोग गर्ने चलन छ । भादगाउँले टोपी खास गरेर नेपाली सेना प्रहरी र सरकारी कर्मचारीहरुले राष्ट्रिय पोशाकमा भादगाउँले टोपी लगाउने प्रचलन छ ।
राजा महेन्द्रले कार्यालयमा अनिवार्य राष्ट्रिय पोशाकको प्रचलन सुरु गरेपछि भादगाउँले टोपीको प्रयोग धेरै हुने गरेको छ । अर्को तर्फ भादगाउँले टोपी नेपाल प्रहरी र नेपाली सेनामा अनिवार्य जस्तै भएको देखिन्छ । अहिले बजारमा पाल्पाली र तेह्रथुमे ढाका टोपीको प्रचलन पनि धेरै छ । नेपालमा धेरै प्रकारका टोपी प्रयोग हुन्छन । तर पनि भादगाउँले र ढाका टोपी धेरैले लगाउँछन। त्यस बाहेक विभिन्न जातजातिको आफ्नै जातीय पहिचान झल्काउने टोपीहरु पनि छन । बिशेष गरी टोपी दिवसमा जनजातिहरुले आफ्नै टोपी वा आ–आफ्नो मौलिक संस्कृतिका शिरपोश लगाएर मनाउने गर्दछन।
प्रचलनमा धेरै टोपी भएपनि ढाकाटोपीलाई नेपालको चिनारीका रुपमा लिने गरिन्छ । ढाका टोपीको आफ्नै मौलिक पहिचान र महत्व पनि छ । ढाका टोपीको इतिहास पल्टाउने हो भने जंगबहादुर राणाका पालामा उनकी बहिनी डम्बरकुमारी राणाले दाजुलाई खुसी पार्नका लागि ढाका टोपी बनाएर उपहार दिए पछि ढाका टोपीको सुरुवात भएको इतिहास छ । टोपीलाई आत्मसम्मान र समर्पणको प्रतिकका रुपमा पनि लिइन्छ। नेपाली टोपीले नेपालीको शिर मात्र ढाकेको छैन जसले समग्र नेपालको शिर उच्च बनाउँदै आएको छ ।
संस्कृत भाषामा शिरअस्त्र अथवा शिरको सुरक्षाका लागि लगाउने सामग्रीले टोपीलाई बुझाउँछ । नेपाली शब्दकोशमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षा गर्नका निमित्त चाउलो वा घेरा हाली सिएको वस्त्र, शिरपोस भनेर वर्णन गरिएको छ । नेपालमा भादगाउँले टोपी, ढाका टोपी, बिर्के टोपी र छतरे टोपी आदि विभिन्न प्रकारका टोपी प्रयोगमा छन । टोपीको प्रकार धेरै भएपनि विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । किनकि यी टोपी आम विश्व समुदायमाझ नेपालीको चिनारी बनेको छ। नेपाली मुलका भारतीयहरुले पनि नेपाली टोपीलाई आफ्नो मौलिक पहिचान ठान्छन । दशैँको टीकाको दिनमा त टोपी कहिल्यै नलगाउनेहरुले पनि जमरा लगाउन अनिवार्य जस्तै बनेको छ। नवदुर्गाको दशमीको दिन साइतमा लगाइएको टीका तथा जमरा ठूलाबडाले दिएको आशीर्वाद लाग्ने र जसलाई शिरमा थाती राख्न पनि ढाका टोपीको महत्व आजभोली बढदो छ । नेपालीको पहिचान बोकेको ढाका टोपीको आजभोलि युवापुस्ताहरुमा निकै सोख बढदै गएको देख्न सकिन्छ । शिरमा ढाकाको टोपी लगाउँदा जुनसुकै पहिरनमा पनि निकै आकर्षक देखिन्छ ।
नेपाली समाजमा प्रचलित परम्परा, रीतिथिति र मूल्यमान्यता बिस्तारै परिवर्तन हुँदै गएको छ । शरिरमा लगाउने लुगाफाटोको संस्कृति पनि समयसँगै बदलिँदै गएको छ । सामाजिक परिवर्तन रातारात हुने कुरा होइन । सामाजिक परिवर्तनको असरलाई एक दशक वा सोभन्दा बढी समयको अन्तरमा परिवर्तन हुँदै गएको देखिन्छ । संस्कृतिको व्यावहारिक पक्षमा देशकाल, परिस्थितिअनुसार परिवर्तन हुँदै जान्छ। शिरमा टोपी लगाउने प्रचलनको सुरुवात कहिलेदेखि भयो? भन्न सकिदैन । पहिरन लगाउने क्रमको विकाससँगै टोपीको पनि प्रयोग हुन थाल्यो होला भन्ने अनुमान मात्र गर्न सकिन्छ । मानव समाजको बिकासको क्रममा भिन्ना भिन्दै टोपीका प्रयोगहरु हुँदै आएको पाइन्छ । इतिहासमा नेपाली पहिरन–संस्कृतिमा टोपी लगाउने चलन मल्लकालदेखि चल्दै आएपनि २००७ सालपछि मात्र टोपी लगाउने प्रचलन व्यापक रुपमा सामाजिक मान्यता पाएको कुरा शताब्दी पुरुष सत्यमोहन जोशीको भनाइ छ ।
इतिहासमा नेपाली टोपीको साइनो बगलादेशको राजधानी ढाकासित, काश्मिर, टर्की पाल्पाका सेन राजासंग पनि जोडिन्छ । नेपालमा अहिले लोकप्रिय बनेको शिरपोस अर्थात टोपीको प्राचीनता मध्यपूर्वी सांस्कृतिक सभ्यतासंग पनि जोडिन सक्ने विद्वानहरुको तर्क छ । इतिहासकारको भनाइ अनुसार टोपीको उदगम भूमि टर्की मानिन्छ । टर्कीमा उत्पत्ति भएको टोपीलाई नेपालीले पनि आफ्नै किसिमले भादगाउँले र ढाका टोपी बनाएका हुन । जुन टोपी हिन्दुस्तानी, मुसलमानी र इन्डोनेसियालीभन्दा फरक छ । आकार प्रकार र साज सज्जा फरक होला तर टोपीको पहिरन संसारभरि नै प्रचलित छ । पश्चिमी जगत्मा लगाइने क्यापका पनि अनेक प्रकार छ । विभिन्न पेसागत संगठनमा आबद्ध मानिसहरुले लगाउने शिरपोस अर्थात टोपी विशेष खालको हुन्छ । सैनिक, प्रहरीलगायतले लगाउने शिरपोसको प्रतिष्ठा बेग्लै हुन्छ ।
विशेष चाडपर्व वा उत्सवहरुमा विभिन्न जातिले आ–आफ्नै जातीय सांस्कृतिक पहिरन लगाउँछन । नेपालका प्रायः सबै जातजाति वा समुदायका शिरपोसले उनीहरुको परम्परागत विश्वास, सभ्यता एवं संस्कृतिलाई प्रतिबिम्बित गराइ रहेको हुन्छ । अन्य पोसाकहरुसँगै भिन्नाभिन्नै शिरपोसले भिन्नाभिन्नै सांस्कृतिक जीवनको प्रतिनिधित्व पनि गर्दछ । टोपीसँगै आवश्यकतानुसार लगाइने अन्य पहिरनको पनि मानिसको शारीरिक तादात्म्य रहन्छ । नेपालीहरुका लागि टोपीले विशिष्ट स्थान लिएको छ । परम्परालाई हेर्ने हो भने टोपी नलगाएको मानिस भनेको कुनै मातृ या पितृ शोकमा परेको मानिस भनेर बुझने प्रचलन थियो। मातापिताको वियोगमा कपाल खौरिएर तेह्र दिनसम्म काजक्रिया गर्ने र वर्ष दिनसम्म शोक बार्ने चलन अहिले पनि छ । अर्को तर्फ काजक्रिया गरेको समयमा सेतो कपडाले मात्र टाउँको ढाक्ने चलन छ । यसरी आफ्ना श्रद्धेय र प्रियहरुको सम्मान र दुःख व्यक्त गर्ने प्रतीक पनि टोपी हो । टोपीले नेपालको प्राकृतिक बनोटलाई पनि बिम्बित गर्दछ । टोपीले हिमालका चुचुराहरु त्यस्तै गरी पहाडका टाकुराहरुको आकार समेत दर्शाउँछ । शिरमा लगाउने टोपीले हिमाल र पहाडलाई बुझाउँछ भने निधारले तराईको समथर भूभागलाई दर्शाउँछ ।
राष्ट्रिय भेष, भाषा र सँस्कृति भनेका देशको जीवित इतिहास र पहिचान हुन । यिनीहरुको संरक्षण गर्न प्रत्येक नेपालीको दायित्व पनि हो । नयाँ नेपाल र आधुनिकताको नाममा टोपीलाई महत्व नदिने परम्परा पनि देखिएको छ । आफ्नो पहिचान झल्काउने भेषका रुपमा टोपीलाई लिनु पर्दछ। नेपालको हकमा ढाका टोपी भनेको कुनै जात, जाती वा वर्गहरुको नभई सबै नेपालीहरुको साझा सस्कृति पनि हो । नेपालमा शिरपोस अर्थात टोपी हिमाल, पहाड, तराई–मधेस प्रायः सबैतिर लगाउने गरिन्छ । गर्मी हावापानीमा लगाइने पहिरन जाडोमा लगाइने भन्दा पातलो वा हलुका हुन्छ । मधेसी पहिरन संस्कृतिमा पहाडतिर लगाइने जस्तो टोपी कमै प्रयोग हुने गर्दछ । पहिरनले राष्ट्रियताको चिनारी गराउँछ । लैंगिक हिसाबले पुरुष वर्गको व्यक्तित्वसँग जोडिएको शिरपोस अर्थात टोपी नेपाली जातीय सांस्कृतिक सौन्दर्यको प्रतीक पनि बन्दै आएको छ ।
नेपाली राष्ट्रिय पोशाकको उच्च र अभिन्न रुपमा टोपी रहेको छ। टोपी नेपालीको पहिचान बनेको छ। नेपालमा पछिल्लो समय बिशेष गरी अध्यन गर्न, रोजगारी र व्यापार गर्नको लागि बिश्वका बिभिन्न मुलुकमा पुग्न थालेका छन। नेपालीहरु जुनदेशमा पुग्दछन टोपीले नेपालीको स्वाभिमान बोकेर गएको हुन्छ । शिरको टोपीले बिश्वलाई म नेपाली हु भन्ने पहिचा दिन्छ ।










