व्यास नगरपालिकाको ४२औं नगर सभाबाट आर्थिक विधेक संशोधन, ६ करोड बढी बजेट घट्यो

दमौली : तनहुँको व्यास नगरपालिकाले ४२औं नगर सभाबाट आर्थिक विधेक २०८१ संशोधान गरी बजेट पास गरेको छ । नगर उप–प्रमुख इन्दिरा दरैले प्रस्ताव गरेको आर्थिक विधेयक २०८१ संशोधन गरी छुट भएका करका दरहरुलाई समावेश गरी सर्वसम्मत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी गराए ।
नगर सभाले आ.व. २०८१/०८२ का लागि प्रस्तुत बजेट रु २ अर्ब १७ करोड २९ लाख ४३ हजारबाट संशोधित रकम रु २ अर्ब १० करोड ३५ लाख ४३ हजार बजेट पास गरिएको छ । बजेट संशोधनसंगै चालु आवका लागि नगरपालिकाको बजेट ६ करोड ९४ लाख रुपैयाँ बजेट घटेको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगरसभामा विभिन्न समितिका संयोजक र सदस्यहरूले आफ्नो अर्धवार्षिक प्रतिवेदन पेश गरी उक्त प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।
नगरसभाले नगरपालिकामा महिला, दलित र जनजाति समन्वय समिति गठन गर्नका लागि कार्यपालिकालाई निर्देशन दिने, नगर प्रमुखको अध्यक्षतामा सार्वजनिक जग्गा संरक्षण समितिको गठन गर्ने र समितिमा सम्बन्धित वडा प्रतिनिधिहरूको सहभागिता रहने निर्णय गरिएको छ ।
यस्तै, नेपाल सरकारको मापदण्ड अनुसार ४० माइक्रोनभन्दा तलको प्लास्टिक झोला, कप र गिलास प्रतिबन्ध गर्ने, व्यास नगरपालिका अन्तर्गत क्रियाशील पत्रकारहरूको जीवन बीमा गर्ने कार्यमा सहयोग पु¥याउने निर्णय नगरसभाले गरेको छ ।
नगर प्रमुख न्यौपानेले नगरपालिकाका विभिन्न विकास कार्यहरूलाई अघि बढाउन र नगरका नागरिकहरूको जीवनस्तर उकास्नका लागि नगरसभाले लिएको निर्णयहरू महत्वपूर्ण रहेको बताएका छन् ।
आगामी वर्षहरूमा पनि नगरपालिकाका विकास योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिने र नगरको समग्र विकासमा निरन्तर ध्यान दिने प्रतिवद्धता जनाएका छन् ।










