पहिरोले पाइप लाइनमा क्षति पुर्याउँदा खानेपानी वितरण प्रभावित

दमौली । पहिरोले पाइप लाइनमा क्षति पु¥याउँदा तनहुँको व्यास नगरपालिका–१ का विभिन्न क्षेत्रमा खानेपानी वितरण प्रभावित भएको छ । व्यास–१ मा खानेपानी वितरण गर्दै आइएको भादगाउँ करादी खिरखाँदी खानेपानीको पाइप लाइनमा पहिराले क्षति पुर्याउँदा पानी वितरण कार्य प्रभावित भएको हो ।
निरन्तरको वर्षाका कारण व्यास नगरपालिका–१३ निउरोघारी नजिक पहिरो गई खानेपानी मुहानको पाइप लाइनमा क्षति पु¥याएको छ। खानेपानी मुहानको ‘मेनलाइन’ को जिआइ पाइपलाइन पहिराले क्षति पुगेपछि पानी आपूर्ति बन्द भएको उपभोक्ता समितिका सचिव राजेश्वर हड्खलेले बताए ।
‘पाइप लाइन मर्मत गर्न समय लाग्ने भएकाले पानी वितरणमा समस्या आउने भएको छ’, उनले भने, ‘यसअघि पनि असारको अन्तिम साताको पहिराले खानेपानी पाइपमा क्षति पुगेको थियो ।’
उक्त खानेपानी संस्थाले त्यस वडाका दुई हजार ६८० उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । उपभोक्ता समितिले १३ किलोमिटर दूरीमा पर्ने खिरखाँदी मुहानबाट पानी ल्याएर वितरण गर्दै आएको छ । समितिले चार वटा मुहानबाट प्रति सेकेण्ड कूल २० लिटर पानी संकलन गरी उपभोक्तालाई वितरण गर्दै आएको छ ।
समितिले नगर विकास कोषको सहयोगमा आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । संस्थाले नगर विकास कोषसँग तीन करोड ८१ लाख रुपैयाँ ऋण लगानीका लागि सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाई क्षेत्र सहलगानी आयोजनाअन्तर्गत भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न नगर विकास कोषसँग सम्झौता गरिएको समितिका अध्यक्ष चिजबहादुर दरैले बताए।
व्यास नगरपालिका–१ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम १० करोड ६७ लाख रुपैयाँ, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम तीन करोड ८१ लाख रुपैयाँ र पाँच प्रतिशत रकम ७६ लाख २१ हजार रुपैयाँ उपभोक्ता संस्थाबाट बेहोरिने अध्यक्ष दरैले बताए ।










