स्थानीय तहको निर्वाचन : तनहुँका प्रमुख दलहरू निर्वाचन लक्षित कार्यक्रम लिएर गाउँ पसे
भञ्ज्याङ समाचारदाता/दमौली
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रमुख पार्टीहरूले निर्वाचनलक्षित कार्यक्रम अगाडि बढाएका छन् । दलहरू अहिले निर्वाचित लक्षित कार्यक्रमका साथ गाउँ गाउँ पस्न थालेका छन् । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसले गत आइतबारबाट ‘घर-घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थालेको छ ।
यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक चरणको प्रदेशस्तरीय प्रशिक्षण सकेर जिल्ला कमिटीका नेताहरु वडा तहसम्म चुनावी कार्यक्रम लिएर अगाडि बढेका छन् । यता माओवादी केन्द्र प्रदेश प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने नेकपा एकीकृत समाजवादी पनि आन्तरिक तयारीमा जुटेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी चुनावीसभा नै थालिसकेको छ भने विवेकशील साझा पनि चुनावी रणनीति बनाइ रहेको छ ।
नेकपा एमाले
नेकपा एमालेले स्थानीय निर्वाचनमा सन्दर्भमा एक चरणको प्रशिक्षण सकेको छ । एमालेले फागुन १ देखि १५ गतेसम्म सातै प्रदेशमा कार्यकर्तालाई प्रशिक्षण दिइसकेको छ । पार्टी स्कुल विभाग, स्थानीय तह विकास विभाग र निर्वाचन विभागको समन्वयमा देशव्यापी प्रशिक्षण अभियान सकेको नेकपा एमालेले जनाएको छ ।
करिब तीन हजार अगुवा नेताहरू उक्त प्रशिक्षणमा सहभागि भएका र सातवटै प्रदेशमा भएको प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मुख्य सहभागिता रहेको पार्टीले जनाएको छ ।
निर्वाचनका लागि पार्टीले जिल्ला-जिल्लामा ५-६ जना इन्चार्ज तोकेर कार्यक्रम अगाडि बढाएको छ । शीर्ष नेताहरूको देश दौडाहा पनि एक खालको चुनावी अभियान नै रहेको एमालेले जनाएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरू नै विभिन्न ठाउँमा अभियानकै रूपमा हिडेका छन् ।
स्थानीय तह निर्वाचन सन्दर्भमा बाँकी विषयमा छलफल गर्न चैत दोस्रो सातातिर केन्द्रीय कमिटी बैठक बोलाउन एमालेको तयारी छ । उक्त बैठकले उम्मेदवार छनोट, घोषणापत्र तयार लगायतका मापदण्ड बनाइने बताइएको छ ।
एमाले तनहुँका सचिव राजेश्वर ढकालका अनुसार जिल्लामा टोल कमिटी गठन, बनेका कमिटीका बैठक, संयुक्त बैठक, पालिकास्तरीय बैठक, टोलका अगुवाहरु सहितको अभिमुखिकरण लगायतका कार्यक्रमलाई तिव्रता दिइएको छ ।
यस्तै, पार्टी प्रवेशलाई पनि प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए । गत फागुन १ गते पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा पार्टी कार्यलयमा बैठक बसि चुनाव केन्द्रित कार्यक्रम अगाडि बढाउने निर्णय गरिएको थियो ।
पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङ, केन्द्रीय सदस्यहरु टुकराज सिग्देल, भगवती न्यौपाने, सविता रसाइली, एकबहादुर रानाको सहभागितामा निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न क्षेत्रमा अहिले निर्वाचन लक्षित अभिमुखिकरण लगायतका कार्यक्रमलाई तीब्रता दिइएको छ ।
नेपाली कांग्रेस
नेपाली काँग्रेसले ‘घर-घर जाऔं, काँग्रेस जिताऔं’ नारासहित एक महिने अभियान सुरु गरेको छ । केन्द्रीय प्रतिनिधि खटाएर आइतबारबाट काँग्रेसले उक्त अभियान सुरु गरेको हो । यो अभियान चैत २९ सम्म जारी रहने र केन्द्रीय प्रतिनिधिहरू भने १० दिन जति जिल्लामा बस्ने कार्यक्रम बनाइएको छ ।
कांग्रेस जिल्ला सचिव सहदेव अधिकारीका अनुसार स-साना भेला, गोष्ठी, पार्टी प्रवेश लगायतका कार्यक्रम गर्दै आइएकोमा अहिले देशभर एकैसाथ अभियान सञ्चालन भएपछि भने टोलटोलमा गएर चुनाव केन्द्रित कार्यक्रमलाई तीब्रता दिइएको छ।
अभियान सञ्चालन हुनु अघि केन्द्रीय सदयस्य मधुमाया आचार्यको सहभागितामा जिल्लाभरका ३ सय पार्टी कार्यकर्ता भेला गरी सहजिकरण गरिएको थियो ।
‘मंगलबारमात्र जिल्लाका ४५ देखि ५० स्थानमा कांग्रेसको कार्यक्रम भएको छ’, उनले भने, ‘जिल्ला कार्य समितिका सदस्य, क्षेत्रीय समितिका सदस्य, प्रदेश समितिका सदस्य, महाधिवेशन प्रतिनिधिहरुलाई जिल्लाका ८५ वटै वडामा खट्टाइएको छ। उहाँहरुले गाउँ गाउँमा टोल समिति गठन, विकास निर्माणका समिक्षा गर्ने, कांग्रेसले आगामी दिनमा गर्नुपर्ने कामहरुको तालिका निर्माण, स्थानीय तहको निर्वाचनमा कांग्रेस कसरी अगाडि बढ्दा तनहुँमा हिजो भन्दा प्रभावकारी ढंगाले अगाडि बढ्न सक्छ जस्ता विषयबस्तु लेखाजोखा, समिक्षा र स्थानीय अवस्था बुझ्ने लगायतका कार्यहरु भैरहेका छन् ।’
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन अन्तर्गत प्रदेशस्तरीय राजनैतिक-वैचारिक प्रशिक्षण गरिसकेको छ । प्रदेशमा चुनावी अभियानमा प्रदेशस्तरीय प्रशिक्षण भइरहेको छ । सुरुमा स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको माओवादीले अहिले प्रशिक्षण अभियान थालेको हो ।
केन्द्रीय कमिटीको बैठकबाट विस्तृत योजना र कार्यक्रम बनाएर माओवादी प्रदेशस्तरीय प्रशिक्षण गरिरहेको छ । माओवादीले एक वडामा न्यूनतम तीन टोल कमिटी गठन गर्न तथा सबै संगठित सदस्यहरूलाई पार्टी समितिमा ल्याउन निर्देशन दिएको थियो ।
निर्वाचनको तयारीका लागि पालिकाहरूमा निर्वाचन मूल परिचालन समिति बनाउनु पर्ने, गत निर्वाचनमा आएको मत परिणामको समीक्षा गर्नुपर्ने अध्यक्ष प्रचण्डले सर्कुलर पठाएका थिए । उनीहरूले पठाएको रिपोर्टअनुसार प्रदेशमा छलफल भइरहेको पार्टीले जनाएको छ ।
जिल्ला समन्वय समिति संयोजक राजेन्द्रकेशरी न्यौपानेका अनुसार जिल्लाले नगर र गाउँ कमिटीको बैठकहरु सकिसकेको छ । अहिले वडा कार्यालय स्थापना, टोल भेला, अभिमुखिकरण कार्य भइरहेको उनले बताए । ‘यो अवधिमा सम्भावित उम्मेद्वारहरुको नामावली तयार गरी मत सर्भेक्षण पनि गरिरहेका छौं’, उनले भने, ‘कमिटीका सदस्यहरुलाई हरेक क्षेत्रको राजनीतिक, आर्थिक, सामाजिक अवस्था बुझ्ने र विश्लेषण गर्ने गृहकार्य पनि दिएका छौं ।’
नेकपा एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीको चैत १५ गतेसम्म संगठन निर्माणको सबै काम सक्ने तयारी छ । चैत १५ भित्र सबै तहको बैठक बसेर चुनावको तयारी गर्ने एकीकृत समाजवादीले जनाएको छ । यस्तै उम्मेदवार छनोटका लागि तल्लो तहको कार्यकर्तालाई पूर्ण जिम्मेवारी दिएर र्सर्वेक्षण गर्न लगाइएको छ ।
अध्यक्ष माधव नेपालले चुनावी अभियान अन्तर्गत देश दौडाहा अभियान गरिराखेका छन् । चुनावी गठबन्धनका लागि राजनीतिक दलसँग वार्ताको प्रक्रिया पनि चलिरहेको छ । गठबन्धनले सबैलाई स्वीप आउट गर्ने योजनाका साथ लागेको पार्टी स्रोतले जनाएको छ ।
यस्तै, पार्टीबाट सर्वदलीय बैठकहरु संचालन गर्ने, गाउँगाउँमा गएर पार्टी प्रवेश, आफ्ना उम्मेद्वार, पार्टीको अवस्था के छ भनेर बुझ्ने, लगायतका कार्यक्रम भइरहेको जिल्ला सचिव श्रीराम कार्कीले बताए । उनले भने, ‘केन्द्रबाट गठबन्धनमा जाने भनेपनि कुन पार्टीसंग जाने र त्यो कत्तिको टिकाउ हुन्छ भन्ने एकिन छैन । गठबन्धनमा जानुपरे त्यहीअनुसार जानुपर्ने हुन्छ तर अहिले एकल चुनाव लड्न परे पनि सबै ठाउँमा आफ्नै उम्मेद्वार ल्याउन सक्ने हिसावमा हामी अगाडि बढेका छौं ।’
जनता समाजवादी पार्टी
जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । गत आइतबार जसपाको केन्द्रीय कार्यसमितिले निर्वाचन निर्देशिका पारित गरेको छ । पार्टीका अनुसार चैत पहिलो साताबाट स्थानीय निर्वाचनमा खटिने योजना बनाएको छ । केन्द्रीय कमिटी बैठकले स्थानीय तह निर्वाचन निर्देशिका पारित गरी चुनावी अभियान अगाडि बढाउने तयारी गरेको जसपाले नेताहरू अब चुनावी अभियानका रूपमा गाउँ-गाउँ जाने बताएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संगठन निर्माण र चुनावी अभियान सँगसँगै अगाडि बढाएको छ । पार्टी दुइ महिनादेखि संगठन निर्माण र चुनावी अभियानमा लागेको पार्टीले जनाएको छ । पार्टीले जिल्ला र पालिकामा नेतृत्व चयन अन्तिम चरणमा पुर्याएको र वडासम्म सदस्यता वितरण, प्रशिक्षण, शपथग्रहण र अभिमुखीकरणका काम निरन्तरता दिंदै आएको बताएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थानीय तहको चुनाव लक्षित कार्यक्रममा व्यस्त छ । राप्रपाले २५ फागुनबाट चुनाव केन्द्रित कार्यक्रम थालेको हो । निर्वाचन लक्षित सभामा आवश्यकता अनुसार निवर्तमान पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान, हेमजङ्ग गुरुङ, महामन्त्रीहरू डा धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाहीले सम्बोधन गर्ने गरेका छन् ।
विवेकशील साझा
विवेकशील साझाले चैतभित्र महाधिवेशन सम्पन्न गरेर स्थानीय तहको चुनावमा लाग्ने तयारी थालेको छ । विवेकशील साझाले चैतभित्र प्रदेश र केन्द्रीय महाधिवेशन गरेर चुनावमा लाग्ने तयारी गरेको बताइएको छ । यसका साथै स्थानीय तह निर्वाचनमा साना दलले चुनाव चिन्ह पाउनुपर्ने भन्दै पार्टीको नेतृत्वमा संघर्ष भइरहेको छ ।
वैशाखपछि तीव्र गतिमा चुनावी अभियान सुरु गर्ने विवेकशील साझाको तयारी छ । ४१ जिल्लामा संगठन रहेको विवेकशील साझाले आसन्न स्थानीय तह निर्वाचनमा धेरैभन्दा धेरै उम्मेदवार उठाउने नीति लिएको छ । स्वतन्त्र र अन्य पार्टीका राम्रो उम्मेदवारलाई समर्थन गर्ने विषयमा पनि विवेकशील साझामा छलफल भइरहेको स्रोतले बताएको छ ।
यस्तै, निर्वाचनको मिती नजिकिएसंगै मुख्य दलले गाउँमुखी कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । चुनावको समयमा परिणाम आफ्नो पक्षमा पार्न अनेक कसरतहरु गरिरहेका छन् । निर्वाचनमुखी कार्यक्रमसंगै नगर/गाउँ प्रमुख/ अध्यक्षमा को उठ्ने भन्ने चर्चा पनि चल्न थालेको छ । प्रमुख/उपप्रमुख, अध्यक्ष/ उपाध्यक्षका आकांक्षीहरु पनि आ-आफ्नो हिसावबाट कार्यकर्ता भेटघाट, मतदाताको लेखाजोखा गर्न सुरु गरिसकेका छन् ।
नेपाली कांग्रेस जसरीनै अन्य पार्टीले चुनावी नारा नल्याएपनि राजनीतिक दलका नेताहरु पार्टीको निर्देशिका अनुसार र आ-आफ्नो हिसावबाट चुनावी प्रचारप्रचारमा लागिसकेका छन् । आगामी चुनावमा मत आफ्नै पक्षमा ल्याउनका लागि नेताहरुको कसरत चलिरहेको छ । कार्यकर्तासंग भेटघाट, पालिका अनुसार मतदाताको संख्या र आफ्नो पक्षमा भएका मतको लेखाजोखा, अभिमुखिकरण, प्रशिक्षण, पार्टी प्रवेश गराउने लगायतका कार्यक्रमहरु जिल्लामा भइरहेका छन् ।
तनहुँमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा २० वटा राजनीतिक दल सहभागि भएको पाइएपनि अहिले ११ वटा राजनीतिक दल क्रियाशिल देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जिल्ला निर्वाचन कार्यालय तनहुँले पनि निर्वाचित लक्षित कार्यक्रमलाई तीब्रता दिएको छ ।
कार्यालयले मतदाता नामावलीलाई अन्तिम रुप दिनका लागि आवश्यक कार्य गरिरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख हरी ढकालले बताए । उनले भने, ‘कार्यालयले मतदाताको नामावली दाबी, विरोध तथा संशोधन कार्यक्रम अन्तर्गत ५२४ जनाको मृत्यु भएको विवरण संकलन, १ जनाको दोहोरीएको र १५ जनाको विवरण सच्याइएको छ ।’










