बन्दीपुर अस्पतालको मासिक स्वास्थ्य शिविर : ८४ जनाले लिए सेवा

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले महिनामा एक दिन बन्दीपुर गाउँपलिकाभित्रका सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम अन्तर्गत मंगलबाल वडा नं. २ स्थित कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सम्पन्न गरेको छ ।
बन्दीपुर अस्पतालबाट खटिएका चिकित्सकसहितको टोलीले स्थानीय नागरिकको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको अस्पतालका प्रमुख अनिल गिरीले जानकारी गराए ।
उक्त स्वास्थ्य परीक्षणमा डा. रजनी कुमारी यादव र स्वास्थ्य सहायक दिवस पौडेल सहित स्वास्थ्य सेवा केन्द्रका प्रमुख अर्जुन गुरुङ लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीले स्थानीय ८४ जना सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिएका थिए ।
यसैबीच, नागरिकहरूको बन्दीपुर अस्पतालसम्म सहज पहुँच सुनिश्चित गर्न पालिकाले सुरु गरेको महिनामा एक दिन प्रत्येक स्वास्थ्य संस्थाबाट बन्दीपुर अस्पतालसम्म निःशुल्क यातायात (बस) सेवा कार्यक्रमअन्तर्गत यही शुक्रबार कुकुर्दी आधारभूत स्वास्थ्य सेवा केन्द्रदेखि बन्दीपुर अस्पतालसम्म दुईतर्फी निःशुल्क बस सेवा सञ्चालन गराइने भएको छ ।
त्यसैगरी, आज बुधबार बन्दीपुर गाउँपालिका–३ स्थित सुकौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि बन्दीपुर अस्पतालबाट चिकित्सकसहितको टोलीद्वारा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।










