आँबुखैरेनीको कृषि हाटबजार : बारीदेखि बजारसम्म स्थानीय उत्पादनको यात्रा

आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्तामा पुगेको छ । वि.सं. २०७९ फागुनदेखि सुरु भएको हाटबजारले स्थानीय किसानका उत्पादनलाई बारीबाट सिधै बजारसम्म पुर्याउने प्रभावकारी माध्यमका रूपमा आफूलाई स्थापित गरेको छ ।

हरेक शुक्रबार लाग्ने हाटबजारमा बिहानैदेखि किसान, स्थानीय बासिन्दा र साना व्यवसायीको चहलपहल सुरु हुन्छ। गाउँघरमै उत्पादन भएका तरकारी, फलफूल, अन्नबाली, दाल, अचार, घिउ, मह, घरेलु परिकार तथा हस्तकलाका सामग्री बिक्रीका लागि राखिने गरिएको छ । स्थानीय महिलाले तयार पारेका परम्परागत खाद्य परिकार पनि हाटबजारको विशेष आकर्षण बन्ने गरेका छन् ।

हाटबजार सञ्चालनमा आएको साढे तीन वर्षको अवधिमा यसले स्थानीय उत्पादनको बजारीकरणसँगै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुगेको गाउँपालिकाले जनाएको छ। किसानले उत्पादन बिक्रीका लागि टाढाको बजार धाउनुपर्ने बाध्यता घटेको छ भने उपभोक्ताले पनि स्थानीय स्तरमै ताजा र गुणस्तरीय सामग्री पाउने गरेका छन् ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार हाटबजार स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ। बिचौलियाबिना किसानले आफ्ना उत्पादन सिधै उपभोक्तासम्म पुर्याउन पाउँदा उचित मूल्य प्राप्त हुने र उपभोक्ताले पनि तुलनात्मक रूपमा सस्तो तथा ताजा वस्तु पाउने अवस्था बनेको उनले बताए ।

‘स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रभावकारी माध्यम बनेको छ’, केसीले भने, ‘किसानले आफैँले उत्पादन गरेको वस्तु उपभोक्तासम्म पु¥याउन पाएका छन् । यसले उत्पादन बढाउन र व्यावसायिक खेतीतर्फ आकर्षित गर्नसमेत सहयोग पुगेको छ ।’

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकी किसान सुकमाया चेपाङ नियमित रूपमा हाटबजारमा आफ्ना उत्पादन बिक्रीका लागि आउने गरेकी छन् । उनी गाउँमा उत्पादन भएको सागसब्जी, कोदो, मकै, घिउलगायत सामग्री हाटबजारमा ल्याएर बिक्री गर्छिन् ।

पहिले उत्पादन बिक्रीका लागि टाढाको बजारसम्म जानुपर्दा यातायात खर्च र समय दुवै बढी लाग्ने गरेकोमा अहिले गाउँपालिकामै सहज रूपमा बजार पाउँदा आम्दानी बढ्न थालेको उनले बताइन्। ‘उत्पादन घरमै हुन्थ्यो, तर बजार पु¥याउन समस्या थियो’, उनले भनिन्, ‘अहिले हाटबजारले सहज बनाएको छ । सामान बेच्न पनि पाइयो र गाउँघरकै मानिससँग भेटघाट पनि हुने गरेको छ ।’

हाटबजार व्यापारिक गतिविधिमा मात्र सीमित नभई स्थानीय समुदायको सामाजिक भेटघाट र अन्तरक्रियाको थलोका रूपमा समेत विकास हुँदै गएको छ। किसानले आफ्ना अनुभव साटासाट गर्ने, स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने र नयाँ व्यवसायिक सम्भावनाबारे जानकारी आदानप्रदान गर्ने अवसरसमेत हाटबजारले दिएको स्थानीय बताउँछन् ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले साढे तीन वर्षको अवधिमै हाटबजार स्थानीय अर्थतन्त्र चलायमान बनाउने आधारका रूपमा स्थापित भएको बताए । स्थानीय उत्पादनले बजार नपाउँदा किसान निरास हुने अवस्था रहेको उल्लेख गर्दै उनले अहिले गाउँमै उत्पादित वस्तु गाउँमै बिक्री हुने वातावरण बन्दै गएको बताए ।

‘किसानले उत्पादन गरेर पनि बजार नपाउने अवस्था अन्त्य गर्न हाटबजार सुरु गरिएको हो’, अध्यक्ष चुमानले भने, ‘अहिले स्थानीय उत्पादन बिक्री हुने वातावरण बनेको छ । यसले ग्रामीण क्षेत्रमा नगद प्रवाह बढाउनुका साथै घरमै उत्पादन गरेर आम्दानी गर्ने संस्कारलाई पनि बलियो बनाएको छ ।’

उनका अनुसार हाटबजारलाई केवल किनबेच गर्ने ठाउँका रूपमा नभई स्थानीय उत्पादन प्रवद्र्धन, स्वरोजगार सिर्जना र सामुदायिक जमघटको साझा थलोका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ ।

हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही तथा सिब्लीगान जस्ता स्थानीय दैनिक उपभोग्य वस्तु बिक्रीका लागि राखिने गरिएको छ। स्थानीयस्तरमा पाइने र परम्परागत रूपमा उपभोग हुँदै आएका यस्ता उत्पादनलाई बजारसँग जोड्न सके ग्रामीण अर्थतन्त्रमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

बारीमा उत्पादन भएको वस्तुले बजार नपाएर खेर जाने अवस्थालाई अन्त्य गर्दै आँबुखैरेनीको साप्ताहिक हाटबजार अहिले किसान, उपभोक्ता र साना व्यवसायीबीचको प्रत्यक्ष पुल बन्दै गएको छ । १८४औँ हप्तासम्म आइपुग्दा यो हाटबजारले स्थानीय उत्पादनको बजारीकरणसँगै गाउँमै उत्पादन, गाउँमै आम्दानी र स्थानीय अर्थतन्त्र सुदृढीकरणको उदाहरण प्रस्तुत गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker