लयमा फर्किन थाले बन्दीपुरका होटल व्यवसाय

कृष्ण न्यौपाने/दमौली

कोभिड-१९ पछि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पहिलोपटक विदेशी पर्यटकको आगमन सुरुआत भएको छ । कोरोना त्रासका कारण विगत करिब दुइ वर्षदेखि विदेशी पर्यटक आगमन शून्य रहेको बन्दीपुरमा बुधबार ६० विदेशी पर्यटक आइपुगेका हुन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले विदेशी पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको जानकारीदिनुभयो । “कोरोना त्रासपछि आन्तरिक पर्यटक आइरहेकामा विदेशी पर्यटक शून्य थिए, अब विदेशी पर्यटकको पनि आगमन हुनेमा आशावादी छौँ”, उहाँले भन्नुभयो । उहाँ अनुसार फ्रान्सका ती पर्यटक आज पनि बन्दीपुरमा छन् ।

दसैँको सुरुआतसँगै बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल पनि बाक्लिएको छ । कोरोना त्रास न्यूनीकरण हुँदै जनजीवन सामान्य भएपछि बन्दीपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको उहाँले जानकारी दिनुभयो । “दसैँका बेला बन्दीपुरमा राम्रै संख्यामा पर्यटक भित्रिए, तिहारमा पनि पर्यटकको आगमन बढ्नेमा विश्वस्त छौँ”, होटल व्यवसायी प्रधानले भन्नुभयो, “विस्तारै पर्यटकीय गतिविधि बढेपछि व्यवसायीलाई पनि आशा जगाएको छ ।” चिसो मौसम सुरु भएसँगै बन्दीपुरबाट हिमालका मनोरम दृश्य देखिन थालेको छ । हिमाल खुलेको बेला यहाँबाट हिमालका मनमोहक दृश्य देखिन्छ। सबैले कोभिडविरुद्ध खोप लगाएकाले पनि अहिले घुमफिरमा निस्कनेको संख्या बढिरहेको छ । “बन्दीपुरका ७० प्रतिशत भन्दा बढी व्यवसायीले खोप लगाइसके, र्सवसाधारणले पनि खोप लगाइरहेका छन्”, उहाँले भन्नुभयो, “खोपले पनि हामीलाई ढुक्क बनाएको छ ।”
होटल व्यवसायी वसन्त पौडेलले कोरोनाका कारण सुस्ताएको यहाँको पर्यटन विस्तारै तङ्ग्रिने अवस्थामा रहेको बताउनुभयो । पर्यटकको चहलपहल सुरु भएसँगै व्यवसायीमा पनि आशा जागेको उहाँको भनाइ छ । बन्दीपुरका होटल व्यवसायीले छुट प्याकेजसमेत ल्याउने तयारी गरेका छन् । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना-ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रीनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । अठारौँं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछयाइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker