तत्काल शिक्षकको माग सम्बोधन हुनुपर्छ : कांग्रेस महामन्त्री थापा

दमौली : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत शिक्षकहरुको तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भातृसंगठन नेपाल तरुण दल तनहुँले सोमबार दमौली आयोजना गरेको प्रशिक्षण तथा तरुण यात्रा पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
शिक्षकका धेरै मागहरु सरकारको कार्यपालिकाको बैठकले नै सम्बोधन गर्ने खालको भएको बताउँदै उनले भने, ‘मुख्य मागहरु मन्त्रीपरिषको बैठकबाट पुरा गर्ने र बाँकी मागहरु छिट्टै कानुन बनाएर पुरा गर्न सकिने छन् । शिक्षकहरु सडकमा आएर लामो समयसम्म आन्दोलन गरिराख्नु पर्ने अवस्थाको अन्त्यको लागि गम्भिर भएर सरकारले तत्कालै माग पुरा गर्न तर्फ ध्यान दिनुपर्छ ।’
नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा तरुण दल तनहुँले प्रकाशित गरेको पुस्तकको विमोजन गर्दै महामन्त्री थापाले काँग्रेसको महाधिवेशन २०८३ भित्रै हुनुपर्ने बताए । आगामी २०८४ को निर्वाचन पछि अधिवेशन गर्न कानुनले नमिल्ने भएकाले वैशाखमा हुने स्थानीय तहको निर्वाचन अघि नै अधिवेशन हुने बताए ।
समयमा अधिवेशन भएन भने काँग्रेसको चुनाव चिन्ह नै अन्य पार्टीले दल दर्ता गरेरै लैजाने जोखिम हुने उल्लेख गर्दै निर्वाचन अघि नै अधिवेधन गर्नुपर्नेमा जोड दिए । ‘महाधिवेशन समय मै गर्न सबै नेताले आ–आफ्नो निर्वाचन क्षेत्रमा गएर क्रियाशील सदस्य रिन्यु गराइदिए पुग्छ’, महामन्त्री थापाले भने, ‘क्रियाशील रिन्युको काम यहि चैत मसान्त भित्र पठाउनुपर्नेछ ।’
२०८४ सालको वैशाखमा स्थानीय तहको चुनाव हुने भएकाले जति सक्दो चाडो अधिवेशन गर्नुपर्ने महामन्त्री थापाले बताए । यतिबेला पार्टी भित्र वृहतर एकता आवश्यकता रहेको चर्चा गर्दै उनले संघीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।
महामन्त्री थापाले युवाहरुलाई राजनीतिक प्रशिक्षणको कमि भएकाले अवसरवादीहरुले मौका पाएको बताए । राजनीतिक योगदान र गरेको कामको राम्रोसँग बुझाउन नसक्दा झुट्टो कुरा गर्नेले चुनावमा मत पाएको उनको तर्क थियो ।
उनले भने, ‘युवाहरुलाई प्रमुख रोजगारीको क्षेत्र भनेको आईटी भएको उल्लेख गर्दै थापाले सूचना प्रविधिमा दक्ष हुँदा स्वदेशमै राम्रो कमाई गर्न सकिने र यसबाट आफनो देशको मात्रै नभई विदेशको समेत काम गर्न सकिने भएकाले युवाहरु आईटी सम्बन्धी ज्ञान लिए बेरोजगारीको अन्त्य हुन्छ ।’