अमेरिकी समृद्धि र शिक्षा प्रणाली …….
ध्रुव राज पौडेल

हरेक विकशित देशको इतिहाससँग त्यहाँको शिक्षा पद्धति र सभ्यता गाँसिएको हुन्छ । शिक्षाको दीर्घकालीन लक्ष्य वा दुरदृष्टि कत्तिको समयसापेक्ष छ, संभव छ, देशको आवश्यकता र मागसँग तादात्म्य छ भन्ने कुराले निकै ठूलो प्रभाव पार्दोरहेछ । जब हाम्रो गन्तव्य नै प्रष्ट छैन, त्यहाँ पुग्ने योजना र साधन पर्याप्त छैन र त्यसलाई हाँक्ने सारथी नै कामयावी छैनन् भने गन्तव्य केवल कोरा कल्पना मात्र हुनपुग्छ । यहि गन्तव्यलाई साकार पार्ने कुशल चालक निर्माण गर्ने मुल दायित्व शिक्षा प्रणालीको हो । संयुक्त राज्य अमेरिका किन र कसरी समृद्ध भयो ? भन्ने यावत प्रशनको उत्तर यहि शिक्षा प्रणालीले दिँदोरहेछ ।
शिक्षाको स्रोत, विषय विज्ञता वा जनशक्तिका लागि कुनै भौगोलिक सिमा, जात, वर्ण, धर्म वा सम्प्रदायसँग सरोकार हुँदैन । यसलाई हामीले कसरी perceive गर्छौं, कसरी निर्माण गर्छ, कसरी परिचालन गर्छौं, उनीहरूलाई कसरी स्थायित्व दिन्छौं र देशका पक्षमा प्रतिबद्ध बनाउछौं भन्ने कुराले निकै महत्त्व राख्दोरहेछ । यस मानेमा पनि अमेरिकी मोडल अनुकरणीय लाग्यो ।
म केही दिन अघि अमेरिकाको एउटा प्रख्यात विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रत्यक्ष सहभागी हुने, अवलोकन गर्ने, दिक्षित विद्यार्थीसँग अन्तरक्रिया गर्ने र उक्त विश्वविद्यालयको विद्यार्थी भर्ना, पठनपाठन, अध्ययन अनुसन्धान, विद्यार्थी परिचालन र दिक्षित गर्ने प्रक्रियाका बारेमा नजिकबाट बुझ्ने अवसर प्राप्त भयो । कुन देशमा बहुमुल्य मोति, मणि माणिक्य छ त्यो महत्त्वपूर्ण रहेनछ, त्यसलाई कसले कसरी प्रयोग गर्न सक्यो भन्ने कुराले देशको क्षमता प्रदर्शन गर्नेरहेछ ।
नेपाल र अमेरिकाको विद्यालय संरचना हुबहु मिल्दोजुल्दो रहेको छ । अमेरिकाले आफ्नो प्राइमरी (कक्षा १-५) र मिडिल स्कुल (कक्षा ६-८) सम्मको पढाइलाई अत्यन्त सहज बनाएको रहेछ जसमा बालबालिकालाई कुनैपनि प्रकारको तनाब नहुने, विषयवस्तुमा घोत्लिनु खासै नपर्ने तर सामाजिकीकरण र प्रयोगात्मक र व्यवहारिक पक्षको विकास गराउनमा विशेष जोड दिने रहेछ । कक्षा ८ सम्म विषयवस्तुको हिसाबमा गहन र कठीन कुरा राखिदोरहेनछ ।यसमा अधिकांस व्यवहारिक ज्ञान तथा दैनिकीसँग जोडेर सिकाइने रहेछ । जब माध्यमिक तह (कक्षा ९-१२) शुरू हुन्छ बल्ल Subject content शुरू हुने रहेछ । कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था छ । जब कक्षा १२ पास हुन्छ थोरैले मात्रै उच्च शिक्षामा प्रवेश गर्दछन् । यहाँको माध्यमिक तहसम्मको पढाइ कर्तव्यमुखी भन्दा बढी अधिकारमुखी हुँदोरहेछ ।
बालअधिकारको पुर्ण प्रत्याभुति, बालिग भएपछि स्वतन्त्र र स्वनिर्णयको पुर्ण अधिकार र अभिभावकको चासो र सल्लाह गौंण हुने प्रकृतिको हुनेरहेछ । यहाँको सामाजिक मान्यता अनुसार बालबालिका १८ वर्ष पूरा भएपछि उनीहरू स्वतन्त्र हुन्छन्, बाबुआमाको पारिवारिक दायित्व एकहदसम्म पूरा भएको मानिन्छ । यहाँ काम नगरिकन बाँच्न सकिँदैन, केही न केही कमाउनु पर्छ, यसका लागि काम गर्नेपर्छ । बालबच्चाका लागि बाबुआमाले कमाइदिने वा संचित गरेर राखिदिने चलन हुँदैन । हरेक बच्चा आफ्नो खुट्टामा आँफै उभिनु पर्दछ भन्ने मान्यता छ । उच्च शिक्षा पढ्न चाहनेहरू मध्ये मेधावी विद्यार्थीले छात्रवृत्ति पाउने वा अभिभावकले लगानी गरिदिने वा कुनै च्यारिटी सोसाइटीबाट सहयोग मिल्नसक्छ भने बाँकीले काम गर्दै पढ्दै गर्नेको संख्या ठूलो हुने रहेछ । हरेक बच्चा आफ्नो Catchment area मा रहेको सरकारी विद्यालयमा नै पढ्नुपर्दछ, बाहिर जान मिल्दैन । जुन ठाउँमा राम्रो स्तरको स्कुल छ, त्यो ठाउँ वरिपरि बाक्लो बस्ती र घरजग्गा देखि सबैथोक महंगो हुनेरहेछ ।
यहाँ संघले राष्ट्रिय शिक्षा नीति र पाठ्यक्रमको सामान्य framework मात्र तयार गर्छ भने बाँकी सामाजिक आवश्यकता अनुसारको पाठ्यक्रमको विस्तृतीकरण, स्वीकृति, कार्यान्वयन तथा पुनरावलोकन गर्ने जिम्मेवारी राज्य (State)लाई दिइएको रहेछ । अमेरिकामा स्थानीय तह (County) लाई भन्दा प्रान्तीय अधिकार बढी हुने रहेछ ।
अमेरिकामा उच्च शिक्षाका लागि मात्र विदेशी विद्यार्थीलाई खुला रहेको छ । उच्च शिक्षा Bachelor, Masters, Ph.D आदि तहमा कलेज वा विश्वविद्यालयमा पढ्ने ५०% भन्दा बढी विश्वका विभिन्न देशबाट आएका विद्यार्थी हुनेरहेछन् । खुला प्रतिस्पर्धाको माध्यमबाट उनीहरूको प्रोफाइल हेरेर विश्वभरिबाट Cream-Cream Students छनोट गरी पुर्ण छात्रवृत्तिमा सम्पुर्ण व्यवस्थापनमा पढाइदिन्छ । यहाँका विश्वविद्यालय आफ्नो निर्णय गर्न पुर्ण स्वतन्त्र छन् । त्यसैगरी विश्वविद्यालयका Dean, Faculty head, professor हरूको यति धेरै अधिकार हुन्छ कि जुन अथाह छ, के कति विद्यार्थी, कहाँबाट, कुन विषयको, कुन तहको, कुन विधाको विद्यार्थी ल्याउने, कति सुविधा दिने, कति अवधिको भिसा दिने जस्ता पुर्ण अधिकार उसमा निहित हुन्छ ।
ती प्रोफेसरका मातहतमा अध्ययन गरेर दिक्षित भइसकेपछि सोही बमोजिमको काम, घर, गाडी, विजिनेश वा कुनै व्यवसाय विस्तार सबैका लागि राज्यले soft loan उपलब्ध गराउने रहेछ । ४-५ वर्षको यहाँको बसाइ र यो luxurious lifestyle मा अभ्यस्त भएका विद्यार्थी स्वदेश फर्कने त १% पनि नहुने रहेछन् । फ्याकल्टी वा विश्वविद्यालय Topper पनि अधिकांस विदेशी विद्यार्थी नै हुनेरहेछन् । तुलनात्मक रूपमा विदेशी विद्यार्थीमा बढी मिहिनेत गर्ने बानी पनि हुने रहेछ ।
अब भनौं कि विश्वभरिबाट मेधावी विद्यार्थी छनोट गरी आँफैले उच्चस्तरीय एवं गुणस्तर शिक्षा दिएर तिनै दक्ष जनशक्तिलाई देशका हरेक क्षेत्रमा परिचालन गरेको छ । यहाँको हरेक अध्ययन Research based हुनेरहेछ । यसप्रकारको जनशक्तिको परिचालनबाट प्राप्त प्रतिफल पक्कैपनि राम्रो हुने नै भयो । यसप्रकार अमेरिकाको विकास संभव भएको हो भन्दा अतिशयोक्ति नहोला । विकासको लागि भिजन छ, दक्ष जनशक्ति छ, नयाँ पप्रविधि र उपकरण छ, आधुनिक सुचना प्रविधिको उच्चतम् प्रयोग भैरहेको छ, भूगोल विकासका लागि अनुकुल छ, समथर जमिन, अनुकुल हावापानी, चारैतिर समुन्द्र जडित पारवहन सुविधा छ । यो नै अमेरिकाको विकासको सबल पक्ष हो जुन गुणस्तर र समयसापेक्ष शिक्षाबाट मात्र संभव भएको हो ।
अत: यदि हामीले पनि हाम्रो देश नेपाल समृद्ध बनाउनु छ भने अमेरिकी शिक्षा प्रणालीबाट सिक्नु जरुरी छ । यसका लागि पहिला शिक्षाको दुरदृष्टि, दीर्घकालीन लक्ष्य, समयसापेक्ष राष्ट्रिय शिक्षा नीति तयार गर्नुपर्छ, शिक्षामा लगानी बढाउनुपर्छ, शिक्षण सेवाप्रति सबैको आकर्षण बढाउनुपर्छ, देशका सर्वोत्कृष्ट जनशक्ति शिक्षण पेशामा आवद्ध र स्थायित्व हुने वातावरण निर्माण गरिनुपर्छ, शिक्षालाई राज्यको प्राथमिकतामा राखी अघि बढ्नुपर्छ । यसो गरिएको खण्डमा हाम्रो समृद्ध नेपालको परिकल्पना पनि साकार पार्न सकिन्छ । धन्यवाद । (लेखक भानु नगरपालिका तनहुँका नगर शिक्षा अधिकारी हुन् ।)