पोखरामा तरबुजाखेतीः एक याममा दुई करोडको बिक्री

गण्डकी : पोखरा महानगरपालिकाको सहयोगमा पोखरा–१३ र १४ का किसानलाई प्रेरित गर्न कुँडहरमा प्रारम्भ भएको तरबुजाखेतीमा एकीकृत शत्रुजीव व्यवस्थापन (आपिएम) कृषक पाठशाला प्रभावकारी बनेको छ ।

बीउदेखि उत्पादनको बजारीकरणसम्म सहयोग पुर्याउने गरी कृषि प्राविधिकको प्रत्यक्ष निगरानी एवं स्थलगत प्रशिक्षणका कारण पाठशालामार्फत तरबुजाखेती सम्बन्धमा धेरै कुरा सिक्ने अवसर मिलेको सूर्यचन्द्र कृषक समूहका सहसचिव मिलन अधिकारीले जानकारी दिनुभयो ।

किसानले समूहगत रूपमा १४ रोपनीमा सामूहिक तरबुजाखेती गरेका छन् भने व्यक्तिगत रूपमा पनि ठाउँठाउँमा तरबुजाखेती गरिएको छ । यस वर्ष लगाइएको तरबुजाखेतीले किसानलाई उत्साहित बनाएको तथा खेतीको सम्भावना बढाएको बताउँदै उहाँले आगामी वर्ष यहाँका धेरै किसानले तरबुजाखेती गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महानगरपालिकाकी कृषि प्राविधिक उमा पुनका अनुसार तरबुजाखेतीमा कुल १७ हप्ता समयावधिको पाठशालाका क्रममा प्रत्येक आइतबार यहाँका किसानसँग कृषि प्राविधिकसहित स्थलगत अध्ययन–अनुसन्धान भइरहेको छ ।

आइपिएम कृषक पाठशालामा फलेका तरबुजामध्ये करिब पाँच हजार पाँच सय किलोग्राम तरबुजा बजारमा बिक्रीका लागि लगिसकिएको र बाँकी पनि बजार लैजाने तयारीमा रहेको समूहका अध्यक्ष विश्वराज सापकोटाले जानकारी दिनुभयो ।

महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरामा विगतमा सामान्य परीक्षणका रूपमा मात्र गरिएको तरबुजाखेती यस वर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले किसानलाई बीउ र मलचिङमा सहयोग गरेको छ ।महानगरपालिका वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको बताउँदै उहाँले यस वर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर)को तरबुजा उत्पादन भएको जानकारी दिनुभयो ।

महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि ‘स्टिकर’ तयार गरेको उहाँले जानकारी दिनुुभयो । पोखरामा तरबुजाखेती एउटा विकल्पका रूपमा प्रमाणित भएको बताउँदै उहाँले यसले रोजगारी अभिवृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

आइपिएममा सरस्वती जातसँगै स्वीट हनी जातको तरबुजा पनि परीक्षण गरिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा र आसपासका क्षेत्रमा सरस्वती जातको तरबुजा उपयुक्त भएको जानकारी दिनुभयो । अन्य जातकोभन्दा यो स्वादिष्ट भएको उहाँको कथन छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker