जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ

जुम्ला : यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका–४ का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिनुभयो ।

जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाइँ हुने गरेको छ । पछिल्लो समय मार्सीधानको चामलले बजार पाउन थालेपछि किसान मार्सीधानप्रति आकर्षित हुन थालेको स्थानीय पाण्डेको भनाइ छ । जुम्लामा उत्पादन हुने मार्सीको माग देशभर बढिरहेकाले यसको खेती वर्सेनि बढेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनुभयो ।

सिञ्जा, चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली तथा रातो मार्सी धानको रोपाइँ धमाधम भइरहेको छ । जिल्लामा दुई हजार ८५० हेक्टरमा धानखेती हुन्छ । सोमध्ये एक हजार २०० हेक्टरमा मार्सीधानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ ।

चन्दननाथको शेरा खेतमा रोपियो मार्सी

यहाँको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धानको रोपाइँ सम्पन्न गरिएको छ । परम्परागतरुपमा रोपिँदै आएको मार्सीधान उक्त शेरा खेतमा रोपिएको हो । चन्दनाथ बाबाले भारतको काश्मीरबाट ल्याएर खेती सुरु गरिएको मार्सीधानलाई मन्दिरको शेरा खेतमा रोपाइँ गरेको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो ।

हरेक वर्षको जेठ १४ गते शेरा खेतमा रोपाइँ हुने गरेको छ । गुठी व्यवस्थापन समितिका अध्यक्ष थापाले भन्नुभयो, “चन्दननाथ बाबाको शेरा जिउलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षता चढाउनका लागि मार्सीधान रोप्ने गरिन्छ ।” जिउलोमा रोप्दै गर्दा मागल गाउने, पञ्चेबाजा बजाउने गरेको अध्यक्ष थापाको भनाइ छ ।

जिल्लाको धार्मिक इतिहाससँग जोडिएको शेरा जिउलोमा मार्सीधान रोपाइँ गर्दा अहिले विस्तारै मागल गाउने, पञ्चेबाजा बजाउने क्रियाकलाप हराउन थालेको यहाँका स्थानीयले गुनासो गर्न थालेका छन् । मन्दिरको शेरा खेतमा रोपाइँका लागि स्थानीय, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीलगायत नागरिक अगुवाको उपस्थिति थियो ।

छुमचौरमा मार्सीधान सम्पन्न

पातारासी–३ मा रहेको छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय र पातारासीको मार्सीधान संरक्षण तथा प्रवर्द्धन केन्द्रले संयुक्त रुपमा रोपाइँ सम्पन्न गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीको भनाइ छ ।

स्वदेशी तथा विदेशीको रोजाइमा परेको मार्सीधानको संरक्षण, सम्वद्र्धन र प्रवर्द्धनका लागि सो जिउलोमा रोपाइँ गरिएको हो । विगतका वर्षदेखि धान रोपाइँ भइरहको पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतको भनाइ छ । विश्वको अग्लो ठाउँमा फल्ने धान यहाँ उत्पादन हुने भन्दै यसको संरक्षण र प्रवर्द्धनमा पालिका लागिपरेको गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सीधान लोप हुने अवस्थामा पुगेपछि कृषक, स्थानीय सरकारलगायत सरोकार भएका निकाय यसको संरक्षण र प्रवर्द्धनमा लाग्न आवश्यक रहेको उपाध्यक्ष रोकायाको भनाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker