रड प्रहार गरी श्रीमतीको हत्या

नवलपुर । नवलपुरको देवचुली नगरपालिका ३ आम्बासमा एक जना ९० बर्षीय जेष्ठ नागरिकले आफ्नी ७६ बर्षीया श्रीमतीलाई रडले प्रहार गरी हत्या गरेका छन् ।
स्थानीय बासिन्दाका अनुसार ९० बर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ बर्षीया जमुना थापालाई टाउकोमा रडले प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटना भएको पुष्टि गर्दै थापाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए । तथापि उनले घटनाको अनुसन्धान भईरहेकोले अहिले नै यसै भन्न नसकिने बताए ।
हत्या गरिएको आरोपित दिलबहादुर थापा प्रहरी नियन्त्रणमा रहेका छन । प्रहरी उपरीक्षक ढकालले भने, `म आफै घटना स्थलतर्फ जाँदै छु । आरोपित हाम्रो नियन्त्रणमा छ । उनले घटना स्वीकार गरेका छन् । अनुसन्धान भईरहेको छ ।´
जमुना थापाको घटना स्थलमै मृत्यु भएको छ । मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।