तनहुँको घिरिङमा अपाङ्गता भएका नागरिकको स्वास्थ्य बिमा निःशुल्क

घिरिङ : तनहुँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका नागरिक तथा तिनका परिवारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । आर्थिक अभावका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त व्यक्ति तथा तिनका अभिभावकको स्वास्थ्य बिमा शुल्क आफैँ बेहोर्ने भएको हो ।

विगतका वर्षदेखि सञ्चालन हुँदै आएको कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाले पहुँचविहीन, विपन्न तथा अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने प्रयास गरेको जनाएको छ । स्वास्थ्य बिमाको प्रिमियम तिर्न नसक्ने अवस्थाका नागरिकलाई उपचारमा सहजता प्रदान गर्न पालिकाले बिमा शुल्क व्यहोर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए ।

‘अपाङ्गता भएका व्यक्तिहरूलाई सहजरूपमा स्वास्थ्य उपचारको पहुँचमा पुर्याउनु पालिकाको दायित्व हो’, अध्यक्ष थापाले भने, ‘निःशुल्क स्वास्थ्य बिमाबाट लक्षित नागरिकलाई उपचार खर्चको ठूलो आर्थिक भार कम हुने विश्वास लिएका छौँ ।’

गाउँपालिकाका अनुसार पहेँलो रङको ‘ग’ वर्ग तथा सेतो रङको ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र भएका व्यक्तिहरू र उनीहरूका अभिभावकले कार्यक्रममा निःशुल्क स्वास्थ्य बिमा सुविधा पाउनेछन्। कार्यक्रममार्फत अपाङ्गता भएका नागरिकलाई स्वास्थ्य उपचारमा आर्थिक कारणले समस्या नहोस् भन्ने पालिकाको लक्ष्य छ ।

बिमा दर्ता प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन गाउँपालिकाले खटाएका स्वास्थ्य बिमा अभिकर्तामार्फत आवश्यक कागजात संकलनको काम सुरु गरिएको छ । लाभग्राहीले अपाङ्गता परिचयपत्रसँगै नेपाली नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि अभिकर्तालाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाले एउटै परिवारमा दोहोरो सुविधा नपर्ने गरी लाभग्राहीको विवरण रुजु गर्ने व्यवस्था पनि मिलाएको छ। परिवारमा पूर्ण अशक्त ‘क’ वर्ग अर्थात् रातो र अति अशक्त ‘ख’ वर्ग अर्थात् निलो अपाङ्गता परिचयपत्र भएका सदस्य रहेमा सोही आधारमा विवरण परीक्षण गरी मात्र बिमा दर्ता प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि बिमा अभिकर्तालाई आवश्यक विवरण तथा कागजात समयमै पेस गर्न गाउँपालिकाले आग्रह गरेको छ । अभिकर्ताहरूले आगामी असोज १५ गतेभित्र आवश्यक कागजातसहित बिमा शुल्क भुक्तानीका लागि लाभग्राहीको विवरण गाउँपालिकामा पेस गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

स्थानीय अपाङ्गता समन्वय समितिको हालै बसेको बैठकको निर्णयअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो । योग्य लाभग्राही नछुटून् र तोकिएको समयभित्रै बिमा प्रक्रिया पूरा होस् भन्ने उद्देश्यले अपाङ्गता भएका व्यक्ति, उनीहरूका अभिभावक तथा स्वास्थ्य बिमा अभिकर्तालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए ।

गाउँपालिकाले अपाङ्गता भएका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्वास्थ्य बिमालाई सामाजिक संरक्षणको कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ। आर्थिक रूपमा कमजोर परिवारमा अपाङ्गता भएका सदस्यको उपचारमा हुने अतिरिक्त खर्चले पारिवारिक आयमा थप भार पार्ने भएकाले निःशुल्क बिमा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker