बाढीपीडितका लागि व्यासका जनप्रतिनिधि र कर्मचारीबाट २१ लाख आर्थिक सहयोग

तनहुँ : भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तनहुँको व्यास नगरपालिकाले रु. २१ लाख ३९ हजार ५ सय ६५ सहयोग गरेको छ । नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाको विपद् पुनःस्थापना कोषबाट रु. ५ लाख ५१ हजार तथा जनप्रतिनिधि र कर्मचारीको पारिश्रमिकबाट रु. १५ लाख ८८ हजार ५ सय ६५ संकलन गरी उद्धार कोषमा जम्मा गरिएको हो ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र कार्यरत सम्पूर्ण शिक्षकलाई समेत विद्यालयमार्फत सहयोग रकम संकलन गरी उद्धार कोषमा जम्मा गर्न अनुरोध गरेको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट व्यास नगरपालिका–५ की आकृति कुमाल र व्यास नगरपालिका–७ का प्रताप राना बेपत्ता छन् । उनीहरूको खोजतलास तथा उद्धारका लागि नेपाल सरकार र प्रदेश सरकारसँग आवश्यक पहल गरिदिन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाको २४६औँ कार्यपालिका बैठकले बेपत्ता नागरिकका परिवारले भोग्नुपरेको पीडा र पारिवारिक कठिनाइलाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस वर्षको तीज पर्वलाई भड्किलो रूपमा नमनाउन नगरवासीलाई आग्रह गरेको छ । विपद्का कारण शोकमा रहेका परिवार तथा प्रभावित समुदायप्रति संवेदनशील बन्नसमेत नगरपालिकाले अनुरोध गरेको छ ।
यसैगरी, बैठकले नगरभित्रका सडक, नाला, पैदलमार्ग, सार्वजनिक चौतारा लगायत सार्वजनिक स्थानको सरसफाइ तथा मर्मत–सम्भारलाई प्रभावकारी बनाउन सम्बन्धित वडालाई निर्देशन दिएको छ । उक्त कार्यमा टोल विकास संस्था तथा स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नसमेत भनिएको छ ।
नगरपालिकाले बजारमा देखिएको अभाव तथा मूल्यवृद्धिप्रति पनि चासो व्यक्त गरेको छ । कतिपय खुद्रा विक्रेताले अत्यधिक मूल्यमा सामान बिक्री गरेको गुनासो आएको भन्दै कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन र कारबाही प्रभावकारी बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले व्यास नगरपालिकाभित्र रहेका विभिन्न जातजाति तथा समुदायका परम्परागत घाट, चिहान, समाधिस्थल लगायत अन्त्येष्टि स्थलको पहिचान तथा अभिलेखीकरण गर्न सम्बन्धित वडा कार्यालयलाई निर्देशन दिएको छ ।
त्यस्तै, घर कायम नभएका घरको सम्पत्ति कर निर्धारणमा देखिएको समस्यालाई सम्बोधन गर्दै घर कायम गर्ने व्यवस्था खुलेपछि सोहीअनुसार निर्णय हुने गरी तत्काल घरले चर्चेको जग्गाको निर्धारित मूल्य तथा प्राविधिकबाट गरिएको नापजाँच र तला संख्याका आधारमा सम्पत्ति कर लिने व्यवस्था गर्न वडा कार्यालयलाई निर्देशन दिइएको छ ।
बैठकले राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यावारिधि उपाधि हासिल गरेका अनुसन्धानकर्ता, उत्कृष्ट नतिजा हासिल गराउने शिक्षक तथा विद्यार्थी र शिक्षाको क्षेत्रमा योगदान पुर्याउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षकलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णयसमेत गरेको छ ।










