भानु नगरपालिकाले भदौ २९ गतेदेखि आफ्नै कार्यालयबाट भूमि तथा जग्गा प्रशासन सेवा सञ्चालन गर्ने

भाने : तनहुँको भानु नगरपालिकाबाटै भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन हुने भएको छ । स्थानीय तहबाटै नागरिकलाई सहज, छिटो र प्रभावकारी रूपमा भूमि तथा जग्गासम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले आफ्नै सेवा प्रवाह कार्यालयबाट सेवा सञ्चालन गर्न लागेको हो ।
भानु नगरपालिका नगर कार्यपालिकाको कार्यालय, फुस्रेटारले एक सूचना जारी गर्दै नेपाल सरकारको २०८३ वैशाख १० गतेको निर्णयबमोजिम भदौ २९ गते सोमबारदेखि भन्सारस्थित सेवा प्रवाह कार्यालयबाट भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा औपचारिक रूपमा सञ्चालन हुनेछ ।
नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार नागरिकका दैनिक प्रशासनिक कामकाज तथा जग्गासम्बन्धी कार्यलाई थप सहज, व्यवस्थित र पहुँचयोग्य बनाउन नगरपालिकाबाटै सेवा सञ्चालन गर्न लागिएको हो ।
भूमि तथा जग्गासम्बन्धी सामान्य कामका लागि सदरमुकाम वा अन्य सेवा केन्द्र धाउनुपर्ने बाध्यता कम हुने भएकाले नयाँ व्यवस्थाबाट नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने नगरपालिकाको अपेक्षा छ । सेवा स्थानीयस्तरमै उपलब्ध भएपछि समय र खर्चको बचत हुनुका साथै सेवाग्राहीलाई प्रशासनिक कामका लागि सहज वातावरण बन्ने नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।
स्थानीयस्तरमै भूमि तथा जग्गा प्रशासनसम्बन्धी सेवा सुरु हुनु भानु नगरपालिकाका नागरिकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको उनले बताए ।
यसबाट जग्गासम्बन्धी प्रशासनिक सेवामा नागरिकको पहुँच बढ्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।










