आँसु पिएर बाँच्ने काँधहरू – एक पुरुषको नसुनिएको अवाज

कल्पना न्यौपाने

म पुरुष हुँ । सानैदेखि मलाई भनियो, “छोरामान्छे भएर पनि रुने?” “मर्दको छोरो भएर आँसु झार्छस्?” “पुरुष भएर कमजोर हुनु हुँदैन।” त्यसपछि मैले विस्तारै रुन बिर्सिएँ। होइन, रुन मन नलागेको होइन।
दुःख नलागेको पनि होइन। चोट नलागेको पनि होइन। मलाई पनि दुख्छ। मलाई पनि डर लाग्छ। मलाई पनि कहिलेकाहीँ सबै छोडेर रोइदिन मन लाग्छ। तर म पुरुष हुँ।आँशु आँखासम्म आइपुग्छन्,तर गालासम्म पुग्न पाउँदैनन्। म तिनलाई त्यहीँ रोक्छु। घुटुक्क निल्छु। र मुस्कुराउँछु।
म छोरा हुँ जब जीवनले मलाई बाहिरबाट थिच्छ, असफलताले घेरिन्छ, कसैले अपमान गर्छ, वा मन आफूले नै थाम्न नसक्ने गरी भाँचिन्छ मलाई आमाको काख सम्झना आउँछ। मन लाग्छ आमाको काखमा टाउको राखेर भनूँ आमा, म थाकिसकेँ। आमा, आज मलाई पनि सम्हालिदेऊ। आमा, म पनि कमजोर भएको छु। तर आमाको अनुहार हेर्छु। त्यहाँ मेरो लागि भरोसा हुन्छ, आशा हुन्छ , बिस्वाश हुन्छ ! मेरो छोरो छ, उसले सबै सम्हाल्छ। अनि म आफ्ना आँसु फेरि निलिदिन्छु।आमाले सोध्नुहुन्छ- के भयो बाबु? म हाँस्दै भन्छु, केही भएको छैन आमा, म ठीक छु।आमा, त्यो दिन म ठीक भएको हुँदिनँ। म केवल तपाईंको भरोसा नटुटोस् भनेर आफूभित्रको पीडा लुकाइरहेको हुन्छु।
मेरा बुवा पनि पुरुष नै हुनुहुन्थ्यो । आफ्नो जवानी खेतका गरामा, विदेशका गल्लीमा, पसिनाले भिजेका कामका ठाउँमा वा परिवार पाल्ने संघर्षमा बिताउनुभयो। उहाँले आफ्ना धेरै रहरहरू मार्नुभयो होला। धेरै सपना अधुरा छोड्नुभयो होला।तर उहाँले आफ्ना बाँकी सपनाहरू मेरो आँखामा राख्नुभयो। त्यसैले बुवाको उमेर ढल्किँदै गरेको देख्दा मलाई डर लाग्छ।उहाँको शरीर कमजोर हुँदै जाँदा मनभित्र प्रश्न उठ्छ। बुवाले ममाथि राखेको भरोसा पूरा गर्न सकिनँ भने? म बुवासँग भन्न सक्दिनँ बुवा, म डराएको छु। बुवा, म पनि थाकेको छु। बुवा, मलाई पनि तपाईंको काँध चाहिन्छ। किनकि म पुरुष हुँ।मलाई सिकाइएको छ, बुवाको काँध बन्नुपर्छ, बुवाको काँध खोज्नु हुँदैन।
म श्रीमान् हुँ, घर फर्किन्छु। ढोकाभित्र श्रीमतीका आफ्नै सपना हुन्छन्, आफ्नै चाहना हुन्छन्, आफ्नै गुनासा हुन्छन्।
तपाईंले मेरो भावना बुझ्नुभएन। मलाई कतै घुमाउन लैजानुहुन्न।मलाई केही ल्याइदिनुहुन्न। तपाईंकी आमाले यस्तो भन्नुभयो। तपाईंकी बहिनीले यस्तो गरिन्। घरको खर्च कसरी चलाउने? म सबै सुन्छु, कहिलेकाहीँ मेरो मनले पनि भन्छ मलाई पनि त कसैले बुझिदेओस्। तर म बोल्दिनँ। किनकि मेरी श्रीमतीलाई लाग्छ, म उसको सबैभन्दा बलियो सहारा हुँ। म पनि सोच्दछु, यदि म नै ढलेँ भने यो घरलाई कसले सम्हाल्छ ?
त्यसैले आफ्नो थकान लुकाउँछु।आफ्नो रिस निल्छु।आफ्नो पीडा दबाउँछु। र फेरि भन्छु ठीक छ, सबै मिल्छ।
तर कहिलेकाहीँ त्यो “ठीक छ” भित्र म आफैँ ठीक हुँदिनँ। म बुबा हुँ, मेरो आफ्नै जीवनभन्दा अगाडि मेरा छोराछोरी आए। उनीहरूको हाँसो मेरो खुसी भयो। उनीहरूको भविष्य मेरो सपना भयो। बच्चाले भन्यो बाबा, मलाई यो चाहियो। म आफ्नो खल्ती हेर्छु। कहिलेकाहीँ पैसा हुँदैन। कहिलेकाहीँ ऋण हुन्छ। कहिलेकाहीँ घरको खर्चले घाँटी समातेको हुन्छ। तर बच्चाको अनुहार हेरेर म भन्छु, हुन्छ बाबु, किनिदिन्छु। त्यो “हुन्छ” भन्नुअघि मैले आफ्नो कति रहर काटेको हुन्छु, कति खर्च स्थगित गरेको हुन्छु, कति रात निदाउन नसकेको हुन्छु, त्यो मेरो बच्चाले कहाँ बुझोस्? म आफ्नो जुत्ता पुरानो लगाउँछु,तर बच्चाको जुत्ता नयाँ हुनुपर्छ। म आफ्नो रहर रोक्छु, तर बच्चाको रहर रोकिनु हुँदैन। म आधा पेट खान सक्छु, तर मेरा बच्चाहरू भोकै सुत्न नपरोस् भन्ने चाहन्छु। बुवा हुँ र बुवाको प्रेम धेरैपटक शब्दमा होइन त्यागमा देखिन्छ।
म पनि रुन्छु । हो, म पनि रुन्छु। फरक यति हो मेरो आँसु सधैं आँखाबाट झर्दैन। कहिलेकाहीँ रातको अँध्यारोमा झर्छ। कहिलेकाहीँ तकियाले सोस्छ। कहिलेकाहीँ बाथरुमको बन्द ढोकाभित्र हराउँछ। कहिलेकाहीँ मोटरसाइकल चलाउँदै गर्दा आँखाको कुनाबाट निस्कन्छ र हावाले सुकाइदिन्छ। कहिलेकाहीँ सबै सुतेपछि छततिर हेरेर म आफैँलाई सोध्छु, म कहिलेसम्म यसरी बलियो भएको अभिनय गरिरहूँ । बाहिर सबैलाई भन्छु म ठीक छु। तर मेरो मनलाई थाहा हुन्छ म ठीक छैन। म केवल हार मान्न पाएको छैन।मलाई पनि एउटा काँध चाहिन्छ म सबैको काँध बनेँ।
आमाको भरोसा बनेँ। बुवाको सपना बनेँ।श्रीमतीको सहारा बनेँ।छोराछोरीको भविष्य बनेँ। तर कहिलेकाहीँ सोच्दछु मेरो काँधमा टाउको राखेर मलाई कसले भन्छ अब केही बेर तिमी पनि आराम गर। म सबैको आँसु पुछ्छु । तर कहिलेकाहीँ मेरो आँसु पुछिदिने एउटा हात चाहिन्छ। म सबैलाई अँगालो दिन्छु। तर कहिलेकाहीँ मलाई पनि कसैले अँगालो हालेर भनोस ।तिमी एक्लो छैनौ। मलाई पनि कहिलेकाहीँ बच्चा बन्न मन लाग्छ।मलाई पनि आमाको काख चाहिन्छ । बुवाको हात टाउकोमा चाहिन्छ।श्रीमतीको बुझाइ चाहिन्छ । छोराछोरीको न्यानो अँगालो चाहिन्छ।
किनकि म पुरुष हुँ। तर म ढुङ्गा होइन। पुरुष हुनुको अर्थ कहिल्यै नरोउनु होइन। पुरुष हुनु भनेको डर नै नलाग्नु होइन। पुरुष हुनु भनेको सबै पीडा एक्लै सहनु पनि होइन। पुरुष हुनु भनेको जिम्मेवारी लिनु हो, तर आफ्ना भावना मारेर होइन। मलाई पनि दुख्छ। मलाई पनि हार लाग्छ।मलाई पनि डर लाग्छ।मलाई पनि कसैको साथ चाहिन्छ।
त्यसैले यदि तपाईंको घरमा कुनै पुरुष चुपचाप बसेको छ भने उसलाई सधैं “के भयो?” भनेर सोध्नैपर्छ भन्ने छैन। कहिलेकाहीँ नजिकै गएर बसिदिनुहोस्।उसको काँधमा हात राखिदिनुहोस्। र यति मात्र भन्नुहोस् सबै कुरा तिमीले मात्रै बोक्नुपर्दैन। थाकेका छौ भने थाकेको भन। मन दुखेको छ भने रोऊ। म तिमीसँग छु। सायद उसले केही नभन्ला। सायद मुस्कुराउला मात्र। तर त्यो मुस्कानभित्रको पुरुषले पहिलोपटक आफूलाई सुरक्षित महसुस गरेको हुनेछ।
आज Father’s Day हो। आज फूल लिएर, उपहार दिएर वा सामाजिक सञ्जालमा एउटा फोटो राखेर मात्र बुबालाई सम्झने दिन होइन। आज ती बुबाहरूलाई सम्झिने दिन हो, जसले आफ्ना छोराछोरीको भविष्य बनाउन आफ्नो वर्तमान गुमाए।
ती बुबाहरूलाई सम्झिने दिन हो, जो आफू बिरामी हुँदा पनि “मलाई केही भएको छैन” भन्छन्। ती बुबाहरूलाई सम्झिने दिन हो जसले आफ्ना रहरहरू थन्क्याएर छोराछोरीका रहरहरू पूरा गरे। ती बुबाहरूलाई सम्झिने दिन हो जसका हातमा मेहनतका डोब छन् खुट्टामा थकान छ तर आँखामा अझै छोराछोरीको भविष्यको सपना छ। बुवा, तपाईं कहिल्यै ढुङ्गा हुनुहुन्थेन। तपाईं केवल आफ्नो आँसु लुकाएर हाम्रो संसार बनाइरहनुभयो।तपाईंले हामीलाई काँध दिनुभयो,तर हामीले सायद कहिल्यै सोधेनौँ“ बुवा, तपाईंलाई पनि कहिलेकाहीँ कसैको काँध चाहिन्छ होला नि?”

आज एउटा कुरा भन्न मन छ। बुवा, तपाईं बलियो

हुनुहुन्छ,तर सधैं बलियो भइरहनैपर्छ भन्ने छैन। कहिलेकाहीँ थाक्नुस्। कहिलेकाहीँ रुनुहोस्। कहिलेकाहीँ आफ्ना छोराछोरीको काँधमा टाउको राख्नुस्। किनकि तपाईं हामीलाई जन्म दिने मात्र होइन,आफ्नो जीवनको ठूलो हिस्सा हाम्रो भविष्यको नाममा सुम्पिने एउटा पुरुष पनि हुनुहुन्छ।

Happy Father’s Day to every man who silently carried a family,
while nobody asked how heavy his shoulders had become.
सबै बुवाहरूलाई नमन। तपाईंका नदेखिएका आँसुहरूलाई पनि आज सम्मान छ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker