आँवुखैरेनी अस्पतालमा विपन्न र विद्यार्थीलाई निःशुल्क उपचार सेवा

आँवुखैरेनी : आर्थिक अवस्था कमजोर भएका नागरिक तथा विद्यार्थीलाई उपचार खर्चको अभावमा स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन आँबुखैरेनी गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्दै आएको छ । गाउँपालिकाले सामान्य उपचारदेखि आवश्यकताअनुसार जटिल शल्यक्रियासम्मको सेवा निःशुल्क उपलब्ध गराउँदै आएको जनाएको छ ।
आर्थिक अभावकै कारण स्वास्थ्य उपचार गर्न नसक्ने अवस्थाका नागरिकलाई स्थानीय सरकारको तर्फबाट उपचारको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । स्वास्थ्य सेवा पाउनु नागरिकको आधारभूत अधिकार भएकाले आर्थिक हैसियतका आधारमा उपचारको अवसर फरक हुन नहुने उनको भनाई छ ।
अध्यक्ष चुमानले भने, ‘पैसाको अभावमा कसैको उपचार रोकिनु हुँदैन । आर्थिक अवस्था कमजोर भएकै कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्नेमा गाउँपालिका प्रतिबद्ध छ ।’
निःशुल्क उपचारको सुविधा विशेषगरी आर्थिक रूपमा विपन्न परिवार र स्वास्थ्य समस्या भएका विद्यार्थीका लागि महत्वपूर्ण बन्दै गएको गाउँपालिकाले जनाएको छ। अध्यक्ष चुमानले भने, ‘उपचारका लागि आवश्यक रकम जुटाउन नसक्ने परिवारलाई उपचार खर्चले थप आर्थिक बोझ पार्ने भएकाले स्थानीय तहबाटै सहयोग उपलब्ध गराउने नीति लिइएको छ ।’
यस कार्यक्रमले उपचारमा मात्र राहत नदिई विपन्न परिवारमा स्वास्थ्यप्रतिको भरोसा बढाउने कामसमेत गरेको अध्यक्ष चुमान बताउँछन् । उनका अनुसार गम्भीर स्वास्थ्य समस्या भएका विद्यार्थीले उपचार खर्चको चिन्ता लिन नपरेपछि आफ्नो पढाइ र भविष्य निर्माणमा ध्यान केन्द्रित गर्न सहज हुने अपेक्षा गरिएको छ । उनले भने, ‘निःशुल्क उपचार भनेको औषधि वा शल्यक्रियाको खर्च मात्र बेहोर्नु होइन, आर्थिक समस्याका कारण निराश बनेका परिवारमा आशा जगाउने प्रयास पनि हो ।’
आँबुखैरेनी अस्पताल गाउँपालिकाकै आन्तरिक स्रोतबाट सञ्चालन हुँदै आएको छ । अस्पतालमार्फत गाउँपालिकाले स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ । आवश्यकताका आधारमा विपन्न नागरिक तथा विद्यार्थीलाई थप उपचार तथा जटिल शल्यक्रियाका लागि समेत सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
स्थानीय तहले आफ्नै स्रोत परिचालन गरेर स्वास्थ्य उपचारमा लगानी बढाउँदा विपन्न नागरिकलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने गाउँपालिकाको अपेक्षा छ । विशेषगरी महँगो उपचार आवश्यक पर्ने अवस्थामा आर्थिक रूपमा कमजोर परिवारले ठूलो रकम जुटाउनुपर्ने अवस्थालाई ध्यानमा राखेर निःशुल्क उपचारलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सेवालाई केवल उपचारमा सीमित नराखी नागरिकको जीवनस्तर र सामाजिक सुरक्षासँग जोडेर अघि बढाउने नीति लिएको जनाएको छ । गाउँपालिकाका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकको उपचारमा सहयोग पु¥याउनु स्थानीय सरकारको सामाजिक उत्तरदायित्वसमेत हो ।
विपन्न नागरिक र विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको निःशुल्क उपचार कार्यक्रमले स्वास्थ्य सेवामा पहुँचको असमानता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । आर्थिक कारणले उपचार रोक्नुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यसहित कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।
अस्पतालमा तनहुँका भानु नगरपालिका, बन्दीपुर गाउँपालिकाका साथै छिमेकी गोरखा जिल्लाका विरामीहरुले पनि सहज रुपमा उपचार सेवा लिंदै आएका छन् ।










