बाढी–पहिरो पीडितलाई तनहुँ समाज युकेको १० लाख सहयोग

तनहुँ : नेपालमा हालै आएको बाढी–पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि तनहुँ समाज युकेले १० लाख १९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजले संकलन गरेको उक्त रकमको चेक समाजकी उपाध्यक्ष निर्मला थापाले संघीय अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत हस्तान्तरण गर्नुभएको समाजका महासचिव महेन्द्र आलेले जानकारी दिए ।
चेक हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपद्का बेला आर्थिक सहयोग उपलब्ध गराउने तनहुँ समाज युकेका सम्पूर्ण सदस्यप्रति धन्यवाद व्यक्त गरे ।
मातृभूमि नेपाल विपद्मा परेका बेला सहयोग गर्ने सम्पूर्ण सदस्य तथा सहयोगी दाताप्रति समाजका अध्यक्ष सन्त गुरुङले आभार व्यक्त गरेका छन् ।
तनहुँ समाज युकेले बाढी–पहिरोमा परी अकालमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै विस्थापित तथा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै उनीहरूको दुःखमा साथ रहने प्रतिबद्धता जनाएको छ ।










